रुकुम पश्चिममा पशुवस्तुको स्वास्थ्य जाँचको लागि प्रयोगशाला तयार - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

रुकुम पश्चिममा पशुवस्तुको स्वास्थ्य जाँचको लागि प्रयोगशाला तयार


रुकुम पश्चिम । रुकुम पश्चिममा पशुवस्तुको स्वास्थ्य जाँचको लागि प्रयोगशाला भवन तयार भएको छ । जिल्ला पशु अस्पताल तथा पशु सेवा अस्पताल रुकुम पश्चिममा करिब २१ लाखको लागतमा प्रयोगशाला तयार गरिएको हो ।

यस प्रयोगशाला भवनबाट अव बिरामी पशुवस्तुको सम्पुर्ण जाँच जिल्लामै हुनेछ । नव निर्मित प्रयोगशाला भवनबाट पशुवस्तुको एक्सरे गरिनुका साथै गोबर, पिसाव, रगत, दुधको जाँच हुने पशु अस्पताल तथा पशु सेवा अस्तालका निमित्त प्रमुख ज्ञानुकुमार शर्माले बताए ।

निमित्त प्रमुख शर्माका अनुसार यस अघि बिरामी भएका पशुवस्तुको रगत, गोबर, पिसाब, दुध जाँचको लागि सुर्खेत, काठमाडौ पठाउनुपर्ने बाध्यता रहेको थियो । अब उक्त समस्या समाधान भएको शर्माले जनाए ।

नव निर्मित प्रयोगशाला भवनको तीन ओटा कोठाबाट आगामी महिना देखि सेवा सञ्चालन हुने गरी तयारी अवस्थामा राखिएको छ । प्रयोगशालामा अत्यावश्यक रहेका एक्सरे मेसिन लगायत रगत, गोबर, पिसाब, दुध जाँच गर्ने मेसिन समेत आईपुगेको छ । कर्णाली प्रदेश सरकारको २० लाख ९८ हजार रकममा भवन निर्माण सम्पन्न भएको हो ।

पशुपालनको लागि उत्तम मानिएको यस जिल्लामा रहेका पशुवस्तु बिरामी परेमा उपचारको लागि हुदै आएको समस्या समाधान भएको पशु अस्पताल तथा पशु सेवा अस्पतालका पशु स्वास्थ्य प्राविधिक बिरेन्द्र्र केसीले बताए ।

यसका साथै कार्यालयले यसै आ.व.को १० रकम रकमबाट नर्सरी समेत तयार गरेको छ । पशुवस्तुको आहाराको कमीलाई पुर्ति गर्नको लागि कार्यालयले घासँका बिरुवा उत्पादन गर्ने गरी नर्सरी तयार गरेको हो । नर्सरीमा तयार भएका घाँसका बिरुवाहरु किसानहरुलाई निशुल्क वितरण भैरहेको स्वास्थ्य प्राविधिक केसीले जनाए ।

उनका अनुसार नर्सरीमा मेन्दोल, भटमासे, मोरंगा, बकाइनो, इपिलइपिल, बाँसपाते, सिडलेस किम्बु, सुपर नेमीयर, मुलाटो, ग्वाटेमाल लगायतका घाँसका जातका बिरुवा तयार गरिएको छ । दैनिक जसो जिल्लाका बिभिन्न स्थानबाट किसानहरु आएर नर्सरीबाट बिरुवा लिईरहेको कार्यालयले जनाएको छ ।

पशु अस्पताल तथा पशु सेवा अस्तालका निमित्त प्रमुख ज्ञानुकुमार शर्माका अनुसार कार्यालयले नर्सरी तयारीका लागि ५ लाख रकम खर्च गरेको छ भने घासको बिउ तथा बेर्नको लागि ५ लाख रकम खर्च गरेको छ ।