सार्वजनिक सवारी साधन चल्ने, आन्तरिक उडान हुने - रुपान्तरण
 २०८१ चैत्र ६, बुधबार    

सार्वजनिक सवारी साधन चल्ने, आन्तरिक उडान हुने


काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार(भोलि)देखि जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी साधन चलाउन दिइने भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको बैठकले स्वास्थ्य मापदण्ड पालन गरेर जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको हो ।

व्यवस्थित र स्वास्थ्य मापदण्ड पालन गरेर बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म २५ सिट क्षमताभन्दा बढीका यात्रुवाहक सार्वजनिक सवारी साधन चलाउन दिइने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

बैठकले काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने निर्णय पनि गरेको छ । लामो दूरीका सवारी साधन भने चलाउन पाइने छैन । सबै किसिमका पसल बिहान ११ बजेदेखि ६ बजेसम्म खोल्न दिइने छ ।

काठमाडौं उपत्यकाको पछिल्लो साता जारी गरिएको निषेधाज्ञा सोमबार राति १२ बजेदेखि सकिँदैछ । काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यही असार १७ गतेदेखि सञ्चालन हुने मुलुकको आन्तरिक उडानलाई सुरक्षित र व्यवस्थित तवरले तयारी गरिएको जनाएको छ ।

विमानस्थलमा नियमित उडान रोकिराखेको अवस्थामा सङ्क्रमणको हालको स्थितिको मूल्याङ्कन गर्दै, विमानस्थल टर्मिनलको क्षमताअनुसार भीडभाड नहुने गरी वायुसेवा कम्पनीले निषेधाज्ञा अघि सञ्चालन गरेको उडान सङ्ख्याका आधार १० मिनेटको अन्तरालमा उडान तालिका दिइएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार बुद्ध एयरलाई ३१, यती एयरलाइन्सलाई १५, श्री एयरलाइन्सलाई सात, सौर्य एयरलाइन्सलाई तीन तथा स्टकतर्फ उडान गर्ने वायुसेवाका लागि तीनरतीन उडान स्वीकृति दिइएको छ ।