नेक्स्ट फ्लाइटको प्रतीक्षा - रुपान्तरण
 २०७८ आश्विन १०, आईतबार    

नेक्स्ट फ्लाइटको प्रतीक्षा


–रुचि श्रेष्ठ

बाहिरी संसारबाट बिच्छिन्न भएर, एकोहोरिएर बसिरहँदा पुराना पुराना कुराहरु सम्झनामा आउन थाल्दो रै छ । कुनै अर्कै कालखण्ड थियो त्यो । म जोस्सिएर बसाइँ सर्दै न्यूयोर्क पुगेको थिएँ । र, दुइ हफ्तामैं उकुस मुकुस भएर झोला झ्याम्टा बोकेर फेरी गाउँ, विस्कनसिन, तिरै फर्केको सम्झना आयो एका बिहानै । त्यति बेला त खोइ के के भाथ्यो । अहिले सम्झिदा चाहिं हाँसो उठेर आयो ।

मैले न्यूयोर्क छाड्नुको एउटा मुख्य कारण थियो, सूर्योदय र सूर्यास्त देख्न नपाउनु । कहाँ, कताबाट घाम निस्कन्थ्यो, कहाँ गएर बिलयहुन्थ्यो, त्यो शहरमा बसुन्जेल मैले भेउ पाउन सकिन । न्यूर्योक छाडे पछि, क्लिभल्यान्डको लेक इरीबाट पहिलो घाम लुसुक्क निस्केको देख्न पाउँदा आँखै रसाएर आएथ्यो । यस्तो पनि हुदो रै छ जिन्दगीमा कहिले कहिले ।

दुई बर्ष पहिले यो घर हेर्न आउदा पनि म सूर्योदय र सूर्यास्तको भ्यू देखेर मख्ख पर्याथे । तर, यो बनेपाली साहूले देखी सहेन । पश्चिमतिर पाँच तल्ले टावर खडा गर्दैछ । अमेरिका पो ‘ल्याण्ड अफ अपर्चुनिटी’ थियो । बरालिदै, उफ्रिदै जता गए पनि हुन्थ्यो त्यहाँ । यो खाल्डोमा कहाँ जानु ! जता गए पनि आज नभए भोली टावर खडा भइहाल्छ । यो शहर त फेरी ‘खाल्डो अफ अपर्चुनिटी’ हो नि । यो खाल्डोमा मान्छे मोटरबाटो बाट आउजाउ गर्छन् । तर, खाल्डोबाट निस्कन हवाइजहाज नै चाहिन्छ । त्यो पनि अन्तर्राष्ट्रिय ।

यो शहर, काठमाण्डु शहर, को चरित्र पनि बिचित्रको छ । न बिकसित हुन सकेको, न अबिकसित रहन पाएको, बीचैमा कचल्टिएको । नागरिकता बाहेक अरु परिचय पत्रको कुनै औकात छैन यहाँ । कुन जमानामा, कुन जिल्लाको, कुन ठेगानाबाट मैले नागरिकता बनाएको थिएँ होला । अहिले पनि नागरिकतामा भएको ठेगानासँग स्थायी ठेगाना मेल खाएन भन्नेहरु भेटिन्छन् बेला बेलामा । हुलाकले घर घरमा चिठ्ठी पुर्याउने भन्या त एकादेशको कथा भइसक्यो ।

सबैभन्दा धेरै यहाँ ब्यापार र ब्यवस्थापन पढाउने कलेजहरु छन् होला । तर, खोइ कताबाट आउछन् र कहाँ जान्छन् यी ब्यवस्थापनका ज्ञान र ज्ञानीहरु ? पाँच कक्षा पढेको गृहिणीको भान्छा बढी ब्यवस्थित हुन्छ होला । तर, शिक्षित, सक्षम र स्रोत सम्पन्न पदमा रहेकाहरुले एउटा शहरको आधारभूत ब्यवस्थासम्म मिलाउन सकेका छैनन् । न सडक ब्यवस्थापन छ, न यातायात ब्यवस्थापन छ । न फोहोर–मैला ब्यवस्थापन छ, न खानेपानी ब्यवस्थापन छ । यस्तो पनि हुन्छ देशको राजधानीमा ? कहिले काही त लाग्छ, के मा अडिएको छ यो शहर ? कसको स्वार्थमा चलिरहेको छ यहाँको अर्थतन्त्र ? शहरमा टुक्रिदै गएको जग्गासँगै खुम्चिदै गएको हो त यहाँका मान्छेहरुको स्वार्थको आयतन ?

फेरि, यो शहरका रैथानेहरुको त तुजुकै बेग्लै छ । अब त रैथाने पनि थरी थरीका भइसकेका छन् । पृथ्वी नारायण शाह भन्दा पहिला देखि बसेका लाई कसले छुने ? श्री ५ र श्री ३ बाट बक्सिस्पा एकाहरुले त झन् राज्य नै गरेका हुन् । बाजेले अर्जेकाहरुको पनि आ-आफ्नै इतिहास तयार भइसकेको छ । आफैले आएर सम्पत्ति जोडेकाहरु त आजका गौरवशाली भइ हाले । यी सबैका बीचमा भाडामा बस्ने बिचराहरुको के हैसियत ?

धन्न अचेल ‘मन मखु, मड्स्या ख’ भन्न छाडेका छन् । यहाँ कानून भन्या त उस्तै हो । अब त अन्तरआत्माले पनि त्यसो भन्ने अनुमति दिदैन होला रैथानेहरुलाई । घर, फर्निचर बनाउने तीनै ‘मन मखु‘ हुन् । घर–घर सम्म तरकारी, फलफूल पुर्याउने सबै तीनै हुन् । चाहे ज्यालादारीमा काम गर्न आउने मजदूर होस्, स्कुल–कलेजमा पढ्न आउने बिद्यार्थी होस्, सरकारी जागिरे होस् वा ब्यापारी होस् । जबसम्म कुनैपनि शहरमा बाहिरियाको कदर हुदैन, त्यो शहरले प्रगति गर्न सक्दैन ।

बाहिरिया प्रतिको यही भेदभावपूर्ण सामन्ती प्रवृत्तिले गर्दा होला बाहिरियाले गाँउका घर–खेत बेचेर, रीन लिएर, साम, दाम, दण्ड, भेद सारा प्रयोग गरेर भए पनि काठमाण्डुमा चार आना जग्गाको लालपुर्जा लिनै पर्ने भएकोछ । लालपुर्जाले मात्रै मान्छेलाई यहाँ सुरक्षित महसूस गराउन सकेकोछ । लालपुर्जा हुनेको वडा छ, नगरपालिका छ । भोटर लिस्टमा नाम छ । लालपुर्जा नहुनेहरु अहिले ज्यानको बाजी लगाएर फ्रन्टलाईनमा काम गरिरहदा पनि उनीहरुले आफूले पैसा तिरेको कोठामा बस्न घरबेटीलाई पिसिआर टेस्ट रिपोर्ट देखाउनु पर्ने भएकोछ ।

सामान्यतया शहरले मान्छे तान्छ, रोजगारी देखाएर । समृद्धिको सपना देखाएर । शहरले आफ्नो अस्तित्व रक्षाको लागि जनशक्ति तयार पार्छ । तर, यो शहरको त्यति हैसियत पनि छैन । कुनै जमाना पनि थियो होला जब यो शहर थुप्रैको लागि गन्तब्य हुने गथ्र्यो होला। हिजोआज त यहाँ सब अन्तर्राष्ट्रिय बिमानस्थलको ट्रान्जिटमा छन् । सबैलाई नेक्स्ट फ्लाइटको प्रतीक्षा छ ।@shrestharuchi