अन्ततः जसपा दुई चिरा, कानुनी छिनोफानोको तयारी - रुपान्तरण
 २०८१ बैशाख २२, शनिबार    

अन्ततः जसपा दुई चिरा, कानुनी छिनोफानोको तयारी


काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)का दुबै समूह अब एक नहुने निचोडमा पुगेका छन् । मंगलबार दुवै समूह निर्वाचन आयोगमा पुगेर कानुन अनुसार नै विवादको छिनोफानो गर्न भनेका छन् । संभवत जसपा कानूनतः दुई चिरा हुने निश्चित बनेको छ ।

जसपाका दुबै समूहसँग विवादबारे आयोगले राजनीतिक दल सम्वन्धि ऐनको दफा ४४ को ५ अनुसार मंगलबार सहमतिको प्रयास गरेको थियो । तर २०७७ वैशाख ११ गते एक भएका महन्थ ठाकुर र राजेन्द्र महतोको सत्ता मोह तथा उपेन्द्र यादव र डा.बाबुराम भट्टराईको सत्ता विरोधी मोर्चाबन्दीका कारण एकढिक्का नहुने स्थितिमा पुगेका हुन्

मंगलबार आयोग पुगेका जसपाका दुबै पक्षका नेताहरुले सहमतिमा अघि बढ्ने कुनै सम्भावना नरहेको भन्दै कानुन अनुसार अघि बढेर निर्णय लिन आयोगलाई आग्रह गरेका छन् । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अब आयोगले जसपा विवादबारे छिनोफानो गर्न कानुनी प्रक्रिया अघि बढाउने जानकारी दिए ।

‘आयोगले सहमतिको प्रयास गरेको हो, तर सकेन, आयोगले अब जसपाको विवाद टुंगो लगाउन कानुन अनुसार प्रक्रिया अघि बढाउँछ,’ आयोगका प्रवक्ता श्रेष्ठले भने । यसरी आयोगले प्रक्रिया अघि बढाउदा विवाद समाधानका लागि प्रमुख आयुक्तको नेतृत्वमा इजलास गठन गर्ने तयारी आयोगले गरेको छ ।

इजलासमा कतिजना आयुक्त बस्ने भन्ने विषयमा आयोगले टुंगो लगाउने र छिटै इजलास गठन हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए । सहमतिका पक्षमा दुबै पक्ष सहमत नभएपछि आयोगले अब राजनीतिक दलसम्बन्धी ऐनको दफा ४५ को उपदफा २ बमोजिम प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त रहने इजलास गठन गर्ने छ ।

यसरी गठन हुने इजलासले विवाद निरुपणका लागि दुबै पक्षसँग सुनुवाइ गर्ने छ । सुनुवाइका लागि जसपाका दुबै समुहले आआफ्ना कानुनी सहयोगीहरुसमेत राख्न चाहेमा राख्न सक्नेछन् । यसरी सुनुवाइमार्फत हुने छिनोफानो पुनरावेदन अदालतले गरेको निर्णय बराबर हुने आयोगले जनाएको छ ।

जसपाका दुवै पक्षले आआफ्नै समूह आधिकारिक रहेको दाबी गर्दै आइरहेका छन् । यादव पक्षले आयोगमा आधिकारिकता दाबी गर्दै निवेदन दिएको थियो । त्यसपछि आयोगले ठाकुर पक्षलाई यादव पक्षको दाबीबारे १५ दिनभित्र जवाफ माग गरेको थियो । आयोगको सो पत्रपछि ठाकुर पक्षले जवाफ पठाएको थियो भने त्यसपछि आयोगले विवाद मिलाउने प्रयास स्वरुप सहमतिका लागि दुबै समुहलाई आयोग बोलाएको थियो ।

अन्ततः दुई पक्षले आफूलाई एकता अघिको राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टीकै स्थितिमा पुगेका छन् । जसपाभित्रको यादव समूहले पार्टी एकताको लागि पाँचवटा शर्त राख्दा ठाकुर समूह भने अहिलेको अवस्थामा छुट्टिनु नै जायज हुने पक्षमा छ ।