पार्टी संचालनमा नेता नेपालले मागे बराबरी हिस्सा - रुपान्तरण
 २०८१ बैशाख २२, शनिबार    

पार्टी संचालनमा नेता नेपालले मागे बराबरी हिस्सा


काठमाडौं । नेकपा एमालेका एकताका लागि गठित कार्यदलको वार्ता सहमति नजिक पुगेको दाबी गरिएको छ । वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै माधव नेपाल पक्षका नेता गोकर्ण विष्टले निष्कर्षका लागि अब धेरै समय नलाग्ने प्रतिक्रिया दिएका छन् । उनले भने, ‘हामी लगभग समाधानको विन्दुमा पुगेका छौं, २–४ घण्टा समय लिन सक्छ, तर निष्कर्षमा पुग्न लामो समय लाग्दैन ।’

नेता विष्टले बेलुकसम्मको वार्तामा समाधानमा पुग्ने प्रयास रहने बताए । यसैगरी, ओली पक्षका नेता सुवास नेम्वाङले पनि बाहिर चर्चा गरिएजस्तो नभएर सकारात्मक भएको बताएका छन् । वार्तालाई निष्कर्षमा पुर्याउनका लागि साँझ सात बजेसम्मका लागि बैठक स्थगित गरिएको नेम्वाङको भनाइ छ ।

आफूहरू छलफलमा निरन्तर अघि बढिरहेकाले साँझसम्म नतिजा आउने उनको विश्वास छ । उनले शीर्ष नेताहरूबीच आज पनि भेट हुनसक्ने संकेत पनि गरेका छन् । तर नेकपा एमाले एक भएर अघि बढ्नका लागि पार्टी र सरकारमा पावर शेयरिङका लागि प्याकेजमै सहमति हुनुपर्ने अडान वरिष्ठ नेता माधवकुमार नेपालले लिएपछि फेरि नेताहरु छलफलमा जुटेका छन् ।

बुधबार राति होटल म्यारियटमा अध्यक्ष केपी शर्मा ओलीसँग भएको वान टु वान वार्तामा वरिष्ठ नेता नेपालले पार्टी सञ्चालनमा बराबरी हिस्सेदारी मागेका थिए । नेपालले अध्यक्ष मागेको साथै पार्टी सञ्चालन र हरेक निर्णयमा राजनीतिक तथा कानूनी मान्यता हुनेगरी ओलीसँगै आफ्नो पनि हस्ताक्षर हुनुपर्ने बताएका छन् ।

नेपालले प्याकेजमा सहमति हुनुपर्ने भन्दै सर्वोच्च अदालतको फैसलाअघि जसरी पनि विपक्षी गठबन्धनबाट आफूहरुलाई अलग गराउनमात्र खोजेको हो भने त्यसमा नफस्ने बताएका छन् । उनले ओलीको आफूलाई कत्ति पनि विश्वास नरहेकोले प्याकेजमै लिखित सहमति हुनुपर्ने भनेका छन् । जेठ २ मा फर्काएर पार्टीलाई अघि बढाउने सन्दर्भमा सहमति नजिक पुगेपनि पावर शेयरिङको विषय ओली र नेपाल दुईजनाबीच समझदारी खोजिएको छ ।