जन्मदिनको केक काट्दा काट्दै ओलीलाई ऐतिहासिक झट्का - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

जन्मदिनको केक काट्दा काट्दै ओलीलाई ऐतिहासिक झट्का


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ७० औं जन्मदिन मनाउनु र प्रतिनिधि सभा पुनःस्थापनाको निर्णय एकै समयमा हुनु संयोग बन्न पुगेको छ ।

प्रधानमन्त्री ओलीपत्नी राधिका शाक्यद्वारा लिखित पुस्तक ‘मेरा अनुभूतिहरु’बालुवाटारमा विमोचन गर्ने साथै जन्मदिनको केक काट्ने समय र प्रतिनिधिसभा विघटन गर्ने उनको निर्णय बदर साँझकै समयमा भएको हो ।

कार्यक्रमस्थलको मञ्चमा रहेका अवस्थामा ओलीको कानमा सर्वोच्चले प्रतिनिधि सभा पुनःस्थापना गर्ने निर्णय गरेको सन्देश पुगेको थियो ।

बालुवाटारमा जन्मदिन मनाइरहेका बेला प्रधान न्यायाधीश चोलेन्द्र सम्शेर राणाले सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राखेको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा फैसला सुनाएका थिए ।

अदालतको फैसलापछि पहिलो कार्यक्रममा सहभागी हुने क्रममा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा पुनःस्थापनाबारे भने प्रतिक्रिया दिएनन् । आफ्नो बहुप्रतिक्षित मुद्दाको विपक्षमा फैसला आएपछि उनी प्रतिक्रियावीहिन जस्तै भएका थिए ।

पत्नी शाक्यको पुस्तक विमोचन तथा जन्मदिनको शुभकामना आदान प्रदान गर्ने कार्यक्रम पहिल्यै तय भएकाले अदालतको फैसलाका बाबजुत कार्यक्रमलाई निरन्तरता दिइएको थियो ।
यद्यपी, अदालतको फैसलापछि ओलीले आगामी कदमबारे छलफलका लागि आफु निकटस्थहरुलाई बालुवाटार बोलाएको स्रोतले जनाएको छ ।
गत पुस ५ गते ओलीले संसद विघटन गर्ने निर्णय गर्न राष्ट्रपति समक्ष सिफारिस गर्दै ताजा जनादेशमा जाने निर्णय गरेका थिए । उक्त निर्णयसँग पक्ष र विपक्षमा देशैभर आन्दोलन भइरहेको थियो ।

 

"