प्रतिक्षा परिवर्तनको - रुपान्तरण
 २०७८ श्रावण १३, बुधबार    

प्रतिक्षा परिवर्तनको


रुचि श्रेष्ठ

कहिले काही मनमा आउँछ, अबको तीस बर्षमा यो देशको स्वरुप कस्तो हुन्छ होला ? यो समाज कस्तो हुन्छ होला ? प्रश्नको जवाफ व्यक्ति पिच्छे फरक–फरक आउन सक्छ । किनकि, प्रश्न निष्पक्ष हुन सक्लान । तर, उत्तर कहिल्यै तटस्थ हुदैनन् । बिचारहरु हुन, त्यो पनि भविष्यका, कल्पनाको फलकमा कोरिएका । कहिले आशापूर्ण भएर सलबलाउछन् । कहिले निराशाको अन्धकारमा अलमलिन्छन् । एउटा व्यक्ति झरी परेको रातमा छानाबाट पानी तप–तप चुही रहँदा आफ्नो घर–खेत बगाउला भन्ने त्रासैत्रासमा भर्खर निदाएको मात्र हुन सक्छ । त्यही रात उसले राम्रो सपना देखेको रहेछ भने बिहान फूर्ति साथ जुरुक्क उठ्छ र चुहिएको छानो भरथेग गर्न तिर लाग्छ । यस्तो गतिशील र प्रभावकारी हुन्छन–कल्पना र बिचारहरु ।

एकछिनको लागि मानिलिऊ, हाम्रो भविष्य, अहिलेको पुस्ता र भावी पुस्ताको भविष्य, कतै कहींबाट पनि राजनीतिसँग जोडिएको छैन । अब, कुनै एउटा समस्या रोज्नुस् । जे रोजे पनि हुन्छ । आफूलाई मन परेको, मनले खाएको समस्या रोज्नुस् । समस्याको कुनै कमी छ र हामी कहाँ ? बिकासका समस्या, शिक्षा र स्वास्थ्यका समस्या । जातिय र लैगिंक असमानताका समस्या । बातावरणका समस्या । नून, तेल, मट्टितेल र पेट्रोलको समस्या । मान्छे त के, कुकुर–बिरालो पनि अछुत छैनन् समस्याहरुबाट । अब ती समस्याको चूरो केलाउनुस् बिस्तारै । चामलबाट ढुंगा बिनेर केलाए जस्तै ।

यस्तो कुनै समस्या भेट्टाउन सक्नु हुन्छ, जसको मूल कारणमा राजनीति न गाँज्जिएको होस् ? समस्याको जडमा अरु तत्व पनि छन् । तर, राजनीति सबैमा कमन फ्याक्टर बनेकोछ । यस्तो सर्वब्यापि राजनीति प्रति किन अछुतो ब्यवहार गर्न सिकाउछन् युवाहरुलाई घर–घरमा, विद्यालयमा र महा–बिद्यालयमा ? देशको राजनीति नबुझेसम्म युवा पुस्ताले आफ्नो समाज कसरी बुझ्ने रु कसरी बुझ्ने कि किन लाखौं-लाख मानिस ज्यान फालेर रोजगारीको खोजीमा बिदेसिदैछन् ? सम्बिधान र कानून नबुझी छोरा–छोरीेको मनमा यो प्रश्न कसरी उब्जिन्छ की जहाँ गए पनि मानिसहरु उनका बाबुको नाम मात्रै सोध्छन्, आमाको नाम किन सोध्दैनन् रु राजनीति नबुझी कसरी बुझ्ने र प्रश्नगर्ने युवाले कि किन उसको नागरिकता सोह« बर्षमा बन्छ ? सोह« बर्षको उमेरमा देशको नेतृत्व चयन गर्न सक्षमहुने युवावर्गले आफ्नो जीवनसाथी रोज्न भने किन बीस बर्ष उमेर पुगेको हुनुपर्छ ?

तर, कसलाई सोधुन् प्रश्न ? अभिभावक र गुरुहरु आफै कसैसंग प्रश्न सोध्न नपाउने । केवल आदेशको पालना गर्नुपर्ने सामन्ती संस्कारमा हुर्केका छन् । कसरी सिकाउन् छोरा–छोरीलाई, बिद्यार्थीलाई प्रश्नगर्न । कसरी सहन सकुन उनीहरुको प्रश्न ? कसो–कसो लोकतन्त्र ल्याए पनि लोकतान्त्रिक संस्कार बसाल्न सकेनन् । लामो समय पीडा र शोषण सहेका, दान र बक्सिस् पाउँदा आफूलाई धन्य सम्झेका वर्गले एकाएक स्वतन्त्र हुन पाउदा उनीहरुले त्यो मुक्तिमा अराजकता देख्न थाले । अभिभावकत्व गुमाएको, टुहुरोभएको महसूस गर्न थाले । त्यसैले नयाँ महाराजहरुको खोजी हुन थाल्यो । र, साँच्चै, नयाँ महाराजहरुको उदय पनि हुन थाल्यो ।

नयाँ महाराजाहरुले आफ्ना आश्रितलाई बक्सिस् होइन, कमिसन दिन थाले । सोझा–साझा जनता बाठा हुन थाले पछि महाराजाहरुले बढी दिमाग लगाउनु पर्ने भयो । उनीहरुले यो कुरा राम्ररी बुझे कि लोकतन्त्रमा सिधै जनताको शोषण गर्नु अपराध ठहरिन्छ । यो ब्यबस्थामा त जनतालाई पीडा दिएर कमाउने होइन, उनीहरुको पीडा अन्यत्र देखाएर कमाउने हो । यो समयमा भ्रष्टाचार पनि बडो ब्यवस्थित ढंगले गर्नु पर्छ । अब यस्तो परिस्थितिमा युवाहरु कता जाउन ? ब्यवस्थाको भरोसा गरुन की महाराजको चाकरी गरुन ? रनभुल्लमा छन् । राजनीति बुझ्या छैनन । आक्रोशित भएर चर्को स्वरमा करायो, जनैमा साँचो झुण्ड्याएकाहरु साँचो देखाएर हप्काउँछन् ‘तिमीहरुले केही बुझ्या छैनौ ।‘

के राजनीतिक चेतना आउने बित्तिकै युवाहरु पार्टीको झन्डाबोक्न जान्छन् ? सबै युवा बिद्रोही र क्रान्तिकारी बन्छन ? लौ, गए रे पार्टीको झन्डा बोक्न । भए रे बिद्रोही, क्रान्तिकारी । के भयो त ? युवाले परिवर्तन खोज्छन । यो त स्वाभाविक कुरा हो । परिवर्तनलाई दबाउन खोजे बिद्रोह गर्छन । यो पनि स्वाभाविक हो । अस्वाभाविक त्यसबेला हुन्छ जब युवाले बिद्रोह गर्दैन । प्रश्नै सोध्दैन। त्यो अवस्थामा युवा आज्ञाकारी भएको ठान्नु ठूलो भ्रम हो । त्यो त उनीहरु कुण्ठित भएको हो । उनीहरुले सामथ्र्य र सम्भावनाको पखेटा फैलाउन नपाउदै त्यसलाई खुम्च्याइएको हो । काट्टिएको हो । कुण्ठित इच्छा र आवाजहरु बाहिरबाट सभ्य र शान्त देखिएलान् । तर, अभिब्यक्ति पाउन नसकेका कुण्ठाहरु अप्रत्याशित रुपले जहीं तहीं चिरा पारेर चुहिन थाल्छन् ।

बिचरा नयाँ पुस्ता । लोकतन्त्रमै जन्मिएकाहरुले पनि तीसको नेटो काटीसके । यहाँ त साठ्ठी काटिसकेका शिर्ष नेताहरुले नै आफूलाई ‘युवा नेता‘ भनाउन छाडेका छैनन् । उनीहरुले आफ्नो चमत्कार देखाउनै बाँकी छ रे । ती साठ्ठी कटेका हाम्रा नेताहरुलाई युवा मान्ने हो भने हाम्रा नयाँ पुस्ता त अहिलेसम्म जन्मेकै छैनन् । अर्का थरी, सत्ता बिलासको बानी परिसकेकाको छुट्टै तर्क छ । अहिले आएर उनीहरुलाई तत्व ज्ञान प्राप्त भएको जस्तो कुरा गर्छन । भन्छन्, उनीहरुले गर्न बाँकी कामहरु धेरै छन् । आफ्ना गल्तीहरु सुधार्नु पर्ने छ रे । गल्ती स्वीकारगर्न तीस बर्ष लगाए । सुधार गर्न कति बर्ष लगाउलान ? ओहो । त्यो त हामी माथी घोर अन्याय हुनेछ ।

माफ गर्नु होला महाशय । तपाईंका महत्वाकांक्षाहरु असीमीत होलान् । मेरा पनि छन् । तर, हामी सँग समय सीमित छ । हामी सबैको समय सीमित छ । यो यथार्थलाई कुनै पनि सूत्र र शास्त्रले गलत साबित गर्न सक्दैन । तपाईंहरुको बीर गाथाको एउटा थप अध्याय हामी अवश्य पढ्नेछौ । माफ गर्नुहोला, अहिले भने हामी हतारमा छौं । हामी अर्को तीस बर्ष पविर्तनको प्रतिक्षा गर्न सक्दैनौ । शायद तपाईं पनि सक्नुहुन्न होला ।@shrestharuchi