काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो - रुपान्तरण
 २०७८ श्रावण १३, बुधबार    

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो


काठमाडौं । कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी नाम मात्रको निषेधाज्ञालाई साउन १० गतेसम्म थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रशासनहरुको संयुक्त बैठकले दश दिन निषेधाज्ञा थप गर्दै प्रावधानलाई थप खुकुलो बनाउने निर्णयसमेत गरेको छ ।

शुक्रबारदेखि काठमाडौं उपत्यकामा बाहिरबाट अत्यावश्यक कामले मात्र प्रवेश गर्न पाइने भएको छ । काठमाडौं आउन जिल्ला प्रशासन कार्यालयको पास नचाहिने भएको छ । यसअघि प्रशासनको पास अनिवार्य गरिएको थियो ।

साथै, सबै खालका पसलहरु बेलुका ७ बजेसम्म खुल्न पाउने भएका छन् । अन्य आदेश र प्रावधानहरु साविककै कायम रहने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीलेबताए । लामो दुरीको सवारीको हकमा कुनै निर्णय नभएको पराजुलीले बताए । सो विषयमा मन्त्रीपरिषद् बैठकबाटै निर्णय हुने बताइएको छ ।