डा.बाबुरामको ‘गुमनाम आमाहरुको कथा’ - रुपान्तरण
 २०८१ बैशाख १२, बुधबार    

डा.बाबुरामको ‘गुमनाम आमाहरुको कथा’


काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय र अन्तर्राष्ट्रिय सेटिङ्मा अहिलेका उपलब्धी खोस्ने प्रयास भइरहेको जिकिर गरेका छन् ।

आफैँले लेखेको पुस्तक ‘गुमनाम आमाहरुको कथा’ लोकार्पण गर्न काठमाडौंमा आयोजना गरिएको समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय सेटिङमै मुलुक प्रतिक्रान्तितिर जान लागेको टिप्पणी गरेका हुन् ।

नेपाली कांग्रेसतर्फ संकेत गर्दै डा. भट्टराईले पार्टीगत र व्यक्तिगत स्वार्थमा लागेर प्रतिगमनकारी कदमविरुद्ध नगए इतिहासमै अक्षम हुने टिप्पणी गरे । उनले प्रधानमन्त्री ओलीको कदमविरुद्ध संयुक्त आन्दोलन अपरिहार्य भएको जिकिर गरे ।

पुस्तकको लोकार्पण गर्दै नेकपाका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धीमाथि अहिले प्रहार भएको भन्दै संविधान र लोकतन्त्र रक्षाका लागि साझा संकल्प गर्ने बेला आएको बताए । अध्यक्ष दाहालले इतिहासका कर्मले आफू र भट्टराईलाई अलग हुन नदिने दावी गरे ।

समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले मुलुकमा राष्ट्रिय आत्मविश्वासको संकट रहेको भन्दै संविधान निर्माणको क्रममा भएको दलिय सहमतिमाथि प्रधानमन्त्री ओलीले गम्भीर विश्वासघात गरेको टिप्पणी गरे ।

प्रधानमन्त्री ओलीप्रति संकेत गर्दै नेता पौडेलले एउटा अपराध ढाक्न अर्को ठूलो अपराध भइरहेको भन्दै आयतन बढ्दै जाँदा राष्ट्रिय अपराध नै हुने होकि भन्ने डर उत्पन्न भएको बताए ।

समारोहमा जनता समाजवादी पार्टीका नेता अशोक राईले अहिलेका उपलब्धी रक्षा गर्दै मुलुकका आवश्यकता परिपूर्ति गर्न अर्को जनयुद्धको आवश्यकता औल्याए ।

सार्वजनिक गरिएको ‘गुमनाम आमाहरूको कथा’ पुस्तकमा डा.भट्टराईका वि।स।२०३८ देखि २०७५ सालसम्मका अनुभूति र संस्मणात्मक लेखहरू समावेश छन् ।