देउवा भन्छन् : प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिंदा राम्रो - रुपान्तरण
 २०८१ बैशाख १२, बुधबार    

देउवा भन्छन् : प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिंदा राम्रो


काठमाडौं । पदबाट राजीनामा नदिइ संसदमै फेस गर्ने बताइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजीनामा दिंदा राम्रो हुने बताएका छन् ।  महेन्द्रनारायण निधिको ९९ औ जन्म जयन्तीका अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै देउवाले प्रधानमन्त्री पदबाट ओलीले राजीनामा दिंदा राम्रो हुने बताए ।

‘अदालतले संसद पुनःस्थापना गरिसकेको छ, सबभन्दा खुसीको कुरा संसद बाँचेको छ, अब प्रधानमन्त्रीबाट ओलीजीले राजीनामा दिंदा राम्रो हुन्छ, हुन त यो उहाँको पार्टीको कुरा हो,’ देउवाले भने । देउवाले ओलीसामु अब संसद्मा बहुमत सिद्ध गर्ने वा सरकार छाड्ने दुई वटा विकल्प रहेको बताएका हुन् । प्रधानमन्त्रीबाट राजीनामा आए अविश्वास प्रस्ताव पेस गर्नै नपर्ने उनले बताए ।

उनले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि आफूले निर्वाचन वा पुनर्स्थापना दुवै स्विकार्ने बताएकोमा अन्यथा नलिनसमेत  सबैमा आग्रह गरे । देउवाले कांग्रेस विगतदेखि नै प्रजातन्त्रको रक्षामा उभिदैं आएको र उभिनेसमेत प्रस्ट पारे ।

‘सर्वोच्चले स्टे अर्डर देला भन्ने थियो, नदिएपछि पुनःस्थापना वा निर्वाचन जे भए पनि मान्छौं भनेको हुँ,’ देउवाको स्पष्टोक्ति थियो । तर पनि पार्टीले सुरुबाट नै संसद विघटनको निर्णयलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भनेको देउवाले आफ्नो सम्बोधनका क्रममा भनेका हुन् ।

"