टोकियो ओलम्पिकको भब्य उद्घाटन, गौरिका र एलेक्जेण्डरले बोके नेपाली झन्डा - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

टोकियो ओलम्पिकको भब्य उद्घाटन, गौरिका र एलेक्जेण्डरले बोके नेपाली झन्डा


काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो उत्सव ओलम्पिक खेलकुद टोकियो ओलम्पिकको भब्य उद्घाटन भएको छ । जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा एक विशेष समारोहका बीच ‘टोकियो ओलम्पिक २०२०’ को औपचारिक रुपमा उद्घाटन गरिएको हो ।

उदघाटनमा एथलेटहरूले आकर्षक प्रस्तुति दिएका छन् । जापानले प्रविधिको पनि भरपूर प्रयोग गरेको छ । गत वर्ष नै हुनुपर्ने ओलम्पिक कोरोना महामारीका कारण एक वर्ष पछि सारिएको थियो ।

ओलम्पिक स्टेडियमको उद्घाटन समारोहमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्जेण्डर शाहले बोकेका छन् । दोस्रो पटक सहभागीता जनाउँदै गरेकी गौरिकासँगै पौडीबाट एलेक्जेण्डर शाह, एथलेटिक्सबाट सरस्वती चौधरी, सुटिङबाट कल्पना परियार र जुडोबाट सोनिया भट्ट गरी पाँच नेपाली खेलाडीले भाग लिँदैछन् ।

गौरिकाले महिला एक सय मिटर फ्रि स्टाइल र एलेक्जेन्डरले पुरुष एक सय मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्ने छन् । सुटिङकी कल्पनाले महिला १० मिटर एयर राइफल, जुडोकी सोनियाले महिला ४८ केजी तौल समूह तथा एथ्लेटिक्सकी सरस्वतीले महिला एकसय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् ।

विश्वका २ सय ४ देशबाट ११ हजार २ सयभन्दा बढी खेलाडी टोकियो ओलम्पिकमा सहभागी हुँदैछन् । विश्व खेलकुदको कुम्भमेला मानिने गृष्मकालीन ओलम्पिकको ३२औं संस्करण निर्धारित मितिभन्दा एक वर्ष ढिलो गरी भइरहेको हो । कोरोना महामारीले गत वर्ष हुन नसकेको यो ओलम्पिकको नाम भने ‘टोकियो ओलम्पिक २०२०’ नैं राखिएको छ ।