कांग्रेस महाधिवेशनमा अन्योलता - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

कांग्रेस महाधिवेशनमा अन्योलता


काठमाडौं । साउन १२ गतेका लागि तोकिएको नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएपछि केन्द्रीय महाधिवेशन अनिश्चित बन्ने देखिएको छ । भदौ १६ देखि १९ गतेसम्म हुने भनिएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन पछि धकेलिने संकेतहरु देखिएका छन् ।

शनिबार कांग्रेस सभापति शेर बहादुर देउवा निवास वुढानिलकण्ठमा भएको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले साउन १२ गते हुने वडा तहका अधिवेशन लगायत सबै तहका अधिवेशन स्थगित गर्ने निर्णयले महाधिवेशनको मिति प्रभावित हुनसक्ने देखिएको हो ।

केन्द्रीय महाधिवेशनलाई प्रभावित हुन नदिनेगरी तल्लो तहको अधिवेशन स्थगन गरिएको बताइए पनि केन्द्रीय महाधिवेशन प्रभावित हुने भनेर चिन्ता शुरु भएको छ । तल्लो तहका अधिवेशन छोट्याएर केन्द्रीय महाधिवेशन गर्ने पक्षमा धेरैको मत रहेपनि समय अभाव हुने देखिएको छ ।

क्रियाशील सदस्यता वितरणमा विवाद चर्किएपछि निर्धारित मितिमा वडा अधिवेशन गर्न कठिन बनेको हो । अधिवेशनको अर्को कार्यतालिका चाँडै आउने बताइए पनि ठोस निर्णय हुन सकेको छैन् । त्यसैले तत्काल सदस्यता विवाद निरुपण हुन नसक्ने र महाधिवेशनका लागि तयारी नपुग्ने भएकाले महाधिवेशन पछि धकेलिने अनुमान गरिएको छ ।

सदस्यताको छानविन प्रतिवेदन छानविन समिति संयोजक रमेश लेखकले साउन १२ मा पेस गर्ने बताएका छन् । तर त्यसबेलासम्म केन्द्रीय कार्यालयमा जारी अनशन तोडिने र सबै जिल्लाको विवाद हल भइसक्नेमा अन्योल छ । त्यतिमात्र नभइ कोरोना भाइरसको तेस्रो लहर आउनसक्ने विशेषज्ञहरुको चेतावनीले महाधिवेशन प्रभावित हुनसक्ने अनुमान पनि गरिएको छ ।

हजारौंको संख्यामा भेला हुने महाधिवेशनलाई स्थगित गरि मिति केही पछि धकेलेर बैकल्पिक उपायमार्फत महाधिवेशन गर्नेबारेमा पनि बहस शुरु भएको छ । यता महाधिवेशन निर्वाचन समितिले पनि आफूहरुलाई तयारीका लागि समय अभाव हुने बताएको छ । समितिले महाधिवेशनको तयारीका लागि ५२ दिन आवश्यक हुने बताउँदै आइरहेको छ । त्यसैले महाधिवेशन सार्ने कानूनी र संवैधानिक उपायबारे कानुनविदहरुसंग छलफल पनि प्रारम्भ भएको बताइएको छ ।

शुक्रबार मात्र भक्तपुरमा आयोजित एक कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेशन निर्धारित समयमा नभए पार्टीको दर्ता खारेजी हुने खतरा रहेको बताइसकेका छन् । पौडेलले भदौ १६ देखि १९ गतेका लागि तय भएको १४ औँ महाधिवेशनको मिति सार्न नहुने अडान लिंदै आएका छन् ।

यसअघि वडा तहको अधिवेशन २८ साउनमा गर्ने विषयमा छलफल भएको थियो । यसैगरी केन्द्रीय महाधिवेशन समेत भदौ अन्तिमका लागि सार्ने विषयमा छलफल भइरहेको बुझिएको छ ।

काँग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले २० असार भित्रै सदस्यताको काम सकेर ३० असार भित्र सभापतिलाई सदस्यताको सूची बनाइसक्नु पर्ने थियो । तर अहिलेसम्म पनि सभापतिलाई समितिले सदस्यताको सूची बुझाउन पाएको छैन । सभापतिले सूची नबुझेसम्म त्यसले अन्तिम रूप पाउँदैन ।

हाल काँग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले ७५ जिल्लाका क्रियाशील सदस्यता सम्बन्धी काम सकिएको बताउँदै आएको छ । तर सर्लाही, धनुषा, बारा लगायतका जिल्लामा विवाद समाधान हुन सकेको छैन् ।

काँग्रेसले निर्धारण गरेको महाधिवेशन कार्य तालिका अनुसार १२ साउनबाट वडा अधिवेशन, यसै गरी गाउँ र नगरको अधिवेशन १६ साउन, प्रदेशसभा क्षेत्रीय अधिवेशन २० साउन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २३ साउनका लागि तय भएको थियो ।

यस्तै एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउन र प्रदेश अधिवेशन १ र २ भदौका लागि तय भएको थियो । यसै गरी पूर्वनिर्धारित कार्य तालिका अनुसार केन्द्रीय महाधिवेशन १६ देखि १९ भदौसम्म काठमाडौँमा गर्ने काँग्रेसको तयारी छ ।