उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् । प्रधानमन्त्री देउवाले देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैसँग राखेर आइतबार सांसद उमेश श्रेष्ठलाई राज्य मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । श्रेष्ठलाई संविधानको धारा ७६ को उपधारा ९ बमोजिम स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ।

देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै खोपलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताइरहँदा स्वास्थ्य मन्त्रालयले भने छुट्टै नेतृत्व नपाउँदा प्राविधिक तथा प्रशासनिक जटिलताहरू थपिएका थिए । नव नियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको शपथ आइतबार साँझ हुने भएको छ।

श्रेष्ठ निजी विद्यालय सञ्चालक हुन । उनको ललितपुरस्थित हात्तीवनमा लिटिल एन्जल्स स्कूल तथा कलेज सञ्चालनमा छ । यसअघि, सांसद श्रेष्ठ प्याब्सन र उच्च माध्यमिक विद्यालयहरूको संगठन (हिसान) का संस्थापक अध्यक्षसमेत रहिसकेका छन् । थुप्रै व्यवसायमा लगानी गरेका श्रेष्ठलाई नेपाली कांग्रेसले समानुपातिक तर्फको कोटामा सांसद बनाएको हो ।