महासेठको धम्कीपूर्ण भाषणः राष्ट्रपतिलाई महाअभियोग लगाएर त हेर ? - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

महासेठको धम्कीपूर्ण भाषणः राष्ट्रपतिलाई महाअभियोग लगाएर त हेर ?


काठमाडौँ। नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाउने हल्ला पनि चलेको उल्लेख गर्दै यस्तो सपना नदेख्न चेतावनी दिएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता महासेठले भने,‘राष्ट्रपतिमाथि महाभियोग लगाउने हल्ला यो त प्रोपोगाण्डामात्रै हो । यो सम्भव छैन । महाभियोग लगाउन त्यति सजिलो छैन । त्यति सजिलो भएको भए महाभियोग पहिल्यै आउँथ्यो ।’ 

उनले काँग्रेस, माओवादी केन्द्रलगायतका दलका नेताहरूलाई राष्ट्रपतिमाथि महाभियोग लगाएर मात्रै हेर्न चुनौती दिए । उनले भने,‘महाभियोग लगाएर मात्रै हेर्नुहोस्, त्यसपछिको स्थिति के हुन्छ ? हुन त उहाँहरूसँग सङ्ख्या पनि पुग्दैन । महाभियोग लगाएर मात्रै के गर्नु ? त्यो पारित हुन संख्या पनि पुग्नुपर्‍यो नि । पास हुँदैन ।’ तर, सभामुखमाथि महाभियोग लगाइए अवस्था के हुन्छ ? भन्दै उनले भने,‘धेरै साथीभाईहरु माथि पनि महाभियोग लाग्न सक्छ ? छोएर त हेर, लगाएर त हेर ? म चुनौती दिन चाहन्छु ।’ 

उनले माधव नेपाललाई अध्यक्ष केपी शर्मा ओलीसरहको जिम्मेवारी दिने सम्भावना शून्य रहेको दाबी गरे। उनले भने,‘कुनै पनि हालतमा माधव कमरेडलाई इक्वेल अध्यक्ष दिईँदैन् । यो सम्भावना शून्य छ । बरु आकाश खस्ला तर पार्टीमा बराबरको दुई अध्यक्ष हुन सक्दैन । हाम्रो पार्टीको विधानले पनि त्यो मिल्दैन ।’  

उनले अहिले माधव नेपाललाई अध्यक्ष दिने गरि पावर सेयरिङमा छलफल भइरहेको भनेर बाहिर चर्चा भए पनि त्यस्तो कुनै सम्भावना नभएको जिकिर गरे । उनले भने,‘बाहिर चर्चा भएजस्तो अहिले एमालेमा पावर सेयरिङबारे पनि कुनै छलफल भएको छैन । अर्को अध्यक्ष वा सह(अध्यक्ष दिनको लागि पनि हाम्रो पार्टीको विधान अधिवेशन हुनुपर्छ । माधव नेपाललाई केपी ओलीसरहको अध्यक्ष दिन सकिँदैन् । यो असम्भव कुरा हो ।’

उनले माधव नेपाललाई आम कार्यकर्ताले जस्तो मिडिया पेस गर्नुभन्दापनि लोप्रोफाईलमा बस्न सुझाव दिए । उनले भने,‘एमालेमा मैले सबैभन्दा बढी सम्मान र माया गर्नै नेतामा माधव कमरेड नै हो । अहिले पनि गर्छु । एकताको लागि गम्भीर बन्नुहोस् । एकताको विकल्प छैन ।’  

नेता महासेठले एमालेको एकताको विकल्प नभएको भन्दै ढिलो(चाँडो एकता भई छाड्ने पनि दाबी गरे । उनले नेकपा एमाले बनाउनको लागि माधव नेपालको ठुलो भूमिका रहेको भन्दै आफ्नो पार्टीलाई कमजोर बनाउने गतिविधिमा नलाग्न पनि आग्रह गरे । उनले भने,‘एमाले बनाउन तपाईँको ठुलो भूमिका छ । अब अर्काको घरमा पेन्ट गर्न नजानुहोस् । आफ्नै घरलाई बलियो बनाउनतर्फ लाग्नुहोस् ।’

उनले पार्टीभित्र अहिलेको परिस्थिति सिर्जनामा हुनुमा २०७७ पुस ५ गतेतर्फ फर्कनुपर्ने सुनाए । उनले भने,‘जति बेला हामी पार्टीको स्थायी कमिटीको बैठक बसिरहेका थियौँ, यति वेला केही सांसदहरू संसद्को विशेष अधिवेशन बोलाउनको लागि राष्ट्रपतिकहाँ जानुभएको थियो, जुन कुरा बैठकमा थाहा भयो, त्यसबारे पनि व्यापक छलफल भएको थियो । साथीहरूले तत्कालीन प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव हाल्नेसरि संसद्को विशेष अधिवेशन बोलाउन माग गर्नुभयो, त्यही कारणले संसद् भङ्ग भएको हो । यो तितो यर्थाथ हो । अहिले बाग्मतीमा धेरै पानी बगिसेको छ ।’ देशी(विदेशी शक्तिहरूले पार्टी विभाजन गर्न चाहेको र पार्टीका बहुसङ्ख्यक नेता तथा कार्यकर्ताहरू फुटको विरोधमा उभिएकै परिस्थितिमा दोस्रो पटक संसद् विघटन भएको उनले शृङ्खला सुनाए । 

नेता महासेठले एमाले वरिष्ठ नेता माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसद् बचाउनको लागि आफूहरूले यो कदम उठाएको भनेर काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइएकोबारे टिप्पणी गर्नुमा पनि कुनै सत्यता नभएको दाबी गरे । उनले भने,‘यदि यो कुरामा सत्यता भएको भए एमालेको सांसदले आफ्नै पार्टीको सरकारलाई विश्वासको मत दिई हाल्थे नि । माधव नेपाल एमालेको सांसद हुनुहुन्छ। तर, उहाँको गतिविधि भने अरूले एमाले फुटाउन चाहेकोमा सहयोग पुर्‍याउने खालको देखियो । जुन अत्यन्तै विडम्बनापूर्ण छ । एमालेको सांसदले त एमालेको सरकारलाई विश्वासको मत दिनुपर्दथ्यो नि । तर, उहाँहरूले संसद् बचाउनको लागि अदालत गयौँ भन्नुभयो । यसमा कुनै सत्यता छैन । यो संसदीय राजनीतिक अभ्यासमा एउटा फोहोरी खेलबाहेक केही पनि होइन ।’ 

उनले एमाले एकताको विकल्प नभएको भन्दै यसको लागि सबै जिम्मेवारी हुनुपर्ने धारणा राखे । उनले माधव नेपाल पक्षको एक्सन नेपाली जनता र पार्टी पङ्क्तिले बाच गरेको पनि सुनाए । उनले पार्टी एकताको प्रयास भइरहेको बेला एकले अर्को समूहमाथि गालीगलौज गर्ने र शक्ति प्रदर्शन गर्ने काम गर्दा बनिरहेको वातावरण र विश्वासमा सङ्कट पैदा हुने भन्दै त्यसतर्फ सबै सचेत र गम्भीर बन्नुपर्ने पनि तर्क गरे । 


उनले युवा सङ्घ र युथफोर्स पार्टीकै जन वर्गीय सङ्गठन भए पनि अहिले प्रभु साहको नेतृत्वमा गठन गरिएको आइटी आर्मीको औचित्य नै नभएको र पार्टीले नचिन्ने टिप्पणी गरे । उनले भने,‘यसमा हाम्रो पार्टी एमालेको टाढा टाढाको पनि सम्बन्ध छैन ।’ उनले पार्टीमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालको विकल्प नभएको पनि जिकिर गरे । र, दोस्रो पुस्ताले हस्तक्षेप गर्ने कुरा पनि असम्भव भएको उनको टिप्पणी छ । 

उनले प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतको संवैधानिक इजलासले हालै दिएको फैसलाप्रति आफूहरूको रिजर्भेसन रहेको भए पनि आत्मसात् गरिएको सुनाए ।

नेता महासेठले आगामी चुनावसम्म ओली, माधव नेपाल र प्रचण्ड एकै ठाउँमा उभिने पनि खुलासा गरे । उनले भने,‘उहाँहरू मिल्नुको विकल्प छैन । कम्युनिस्टहरू मिल्नुपर्छ । हेर्नुहोस्, हिजो माओवादी केन्द्रलाई त हामीले जीवनदान दिएका हौँ । त्यो कुरा उहाँहरूलाई राम्रोसँग थाहा छ । त्यसैले हामी सबै कम्युनिस्ट एक ठाउँमा उभिनुको विकल्प छैन । हामी चाहन्छौँ कि सबै कम्युनिस्टहरू एक हौँ ।’ 

उनले वर्तमान प्रधानमन्त्री जनादेशबाट नभई परमादेशबाट आएकोले लक्षण राम्रो नदेखाएको टिप्पणी गरे । उनले भने,‘उहाँ जनादेशबाट नभई परमादेशबाट आउनुभएको हो । अहिले उहाँ जनतामा जान पनि अप्ठ्यारो मानिरहनुभएको छ । देउवाले जनतालाई फेस गर्न सकिरहनुभएको छैन ।’