कांग्रेसमा क्रियाशील सदस्य दोब्बरले बढे, युवाको वर्चश्व - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

कांग्रेसमा क्रियाशील सदस्य दोब्बरले बढे, युवाको वर्चश्व


काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले पार्टीलाई प्रतिवेदन बुझाएको छ । मंगलबार बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा समितिले प्रतिवेदन बुझाएको हो । कांग्रेसले १४औँ महाधिवेशनका लागि देशभरबाट ८ लाख ५२ हजार ७ सय ११ जना सदस्यलाई क्रियाशील सदस्यता प्रदान गरेको छ ।

जसमध्ये नयाँ ४ लाख ४३ हजार ६ सय ७८ जनाले क्रियाशील सदस्यता पाए भने पुराना ४ लाख ९ हजार ३३ जनाले नवीकरण गरेका छन् । १४औँ महाधिवेशनका लागि विवाद भएका जिल्लाहरुको विवाद समाधान गरी र विवाद समाधान गर्न नसकिएका जिल्लाहरुको समग्र अवस्थासहित समितिले पार्टीलाई विवरण बुझाएको छ ।

विवरण अनुसार कांग्रेसमा सबैभन्दा धेरै क्रियाशील सदस्य वागमती प्रदेशमा १ लाख ८६ हजार र सबैभन्दा कम कर्णालीमा ५४ हजार ५६६ पुगेका छन । क्रियाशील सदस्यता छानविन समितिले १४ औं महाधिवेशनको प्रयोजनका लागि सदस्यताको अन्तिम सूची तयार गरी सभापतिलाई बुझाएको हो । अब सदस्यताको बाँकी विषयमा भने केन्द्रीय समितिले निर्णय गर्नेछ ।

समितिले धनुषा क्षेत्र नम्बर ४, सर्लाही २ र बारा तथा सप्तरी जिल्लाको क्रियाशील सदस्यता विवाद भने टुंगो नलगाइ सभापतिसमक्ष बुझाएको हो । यस्तै नयाँ केही स्थानको सदस्यता पनि स्थगित गरिएको छ । बाँकी विवादलाई भने शीर्ष तहबाट मिलाउने कांग्रेस तयारी छ ।

यसैगरी १३औं महाधिवेशनको सदस्यताको विषयमा पनि पहिले विवादित रहेका सोलुखुम्बुको ५१५ जनाको सदस्यता तथा बाराको १६६ फाराम पनि हालको समितिले सहमति जुटाउन नसकेपछि शीर्ष तहलाई नै जिम्मा लगाएको समितिका संयोजक लेखकले बुझाएको प्रतिवेदनमा उल्लेख छ । तर समितिमै रहेका सदस्य कल्याण गुरुङले प्रतिवेदनप्रति असहमति जनाएका छन् ।

प्रतिवेदनमा उल्लेख भए अनुसार उमेर समूहअनुसार सबैभन्दा बढी ४१ देखि ६० वर्षका कूल ३ लाख २८ हजार २३४ जनाले सदस्यता लिएका छन् । सबैभन्दा कम ७५ वर्षभन्दा माथिका उमेर समूहले ११ हजार ७८२ जनाले सदस्यता लिएका छन् ।

प्रतिवेदनमा प्रस्तुत भएअनुसार १६ देखि २५ वर्षसम्मका ४० हजार ४२७ जना, २६ देखि ४० वर्षसम्मका दुई लाख ४९ हजार ७७४ जना र ६१ देखि ७५ वर्षसम्मका ८३ हजार १० जनाले सदस्यता लिएका छन् । महिलाको संख्या एक लाख ९९ हजार ९७ जना रहेका छन् । यो संख्या २२ दशमलव ६२ प्रतिशत हो ।