कटाउनै पर्ने हो चार भन्ज्याङ ? - रुपान्तरण
 २०७८ आश्विन १०, आईतबार    

कटाउनै पर्ने हो चार भन्ज्याङ ?


-रुचि श्रेष्ठ

कानूनमा एउटा शब्दावलि हुन्छ, ‘एन्टिसिपेटरी बेल’ अर्थात, अग्रिम जमानत । कुनै अभियोग लागेको व्यक्तिले आफूलाई गिरफ्तारीबाट बचाउन अग्रिम जमानतको लागि अदालतमा निवेदन हाल्ने ब्यवस्था । त्यही अग्रिम जमानतका साथ विवेकशील साझा पार्टीका रबीन्द्र मिश्रजीले पत्र-पत्रिकामा आफ्नो अवधारणापत्र पेश गरेका छन् । ‘मैले यस्तो भन्दा केही मानिसहरुले मलाई यस्तो आरोप लगाउने छन् । उनीहरुले आरोप लगाउनु पूर्व यी कुराहरु थाहा पाउन’,आदि, इत्यादि ।

अग्रिम जमानत लिएर बोल्ने यस्तो मानसिकतालाई मनोबैज्ञानिक भाषामा ‘डिफेन्सिभ’ अर्थात, प्रतिरक्षात्मक हुनु भनिन्छ । मानिस जति त्रस्त हुन्छ, उति नै उ डिफेन्सिभ हुन्छ । राजनीतिमा व्यक्ति जति–जति सत्य र निष्ठाबाट टाढिदै जान्छ, उति नै उ भयको नजिक पुग्दै जान्छ । त्यसपछि उसले त्यही भयलाई हतियार बनाएर प्रयोग गर्छ । मिश्रजीले प्रयोग गरेको ‘अग्रिम जमानत’ त्यही भय बिरुद्धको बचाव हो । बिगतमा पूर्वप्रधानमन्त्री केपी ओलीले अग्रीम जमानतको यही सूत्र प्रयोग गरेर आफ्ना भयलाई दम्भको खोल ओढाएका थिए । रबीन्द्र मिश्रका अवधारणा पत्रका दुई बुंदाहरु संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव, जन–मानसको मस्तिष्कलाई भयातुर बनाउन प्रयोग गरेको हतियार हो ।

फेसबुकमा खाता बन्द गरेर ट्वीटरमा खाता खोलेको जस्तो हुदैन राजनीतिक परिवर्तन । बातैपिच्छे राष्ट्रियता,अखण्डता र सार्वभौमिकताको हवाला दिएर कपोलकल्पित त्रास फैलाउन खोज्नुको कुनै तुक छैन । यस्ता नाराबाजीले कोलाहल मात्र मच्चाउछ । मानिसलाई आन्दोलित गर्न सक्दैन । मानिसलाई आन्दोलित गर्न समस्याको चूरो समात्न सक्नुपर्छ । समस्याको चूरो, जसले प्रत्येक नेपालीलाई राजनीतिक मात्र नभएर आर्थिक, सामाजिक र भावनात्मक तहमा असर पारिरहेको हुन्छ । र, त्यही चूरोको धरातलमा उभिएर कुनै पनि मुद्दा स्थापित हुनु पर्दछ । तब हुन्छ आन्दोलनः राज्यको, समाजको रुपान्तरणगर्ने प्रक्रिया ।

हिन्दू राष्ट्र स्थापना र संघीयता खारेजीको नाराले कुन नेपालीको के मुद्दालाई सम्बोधन गरेको छ ? के यस्ता नाराले प्रत्येक नेपालीको भान्छाकोठाको समस्यालाई छोएको हुन्छ ? प्रत्येक दलितको दिनचर्या, प्रत्येक महिलाले निर्णय लिन पाउने अधिकार, हुर्कदै गरेको बालबालिकाले खान पाउनुपर्ने आहार, वा प्रत्येक युवाले देख्ने सपना । के बाट प्रेरित भएकाछन् यी नाराहरु ? कसको हितका लागि खारेज गर्ने संघीयता ?

नेपाली जनतालाई जनमत संग्रह के हो भन्ने कुराको गम्भीर ज्ञान छ । २०३६ सालमा राजा बीरेन्द्रले निर्दलीय पन्चायत ब्यवस्था र बहुदलीय ब्यवस्थाका बीचमा जनमत संग्रह गराउने निर्णय गरे । त्यो जनमत संग्रह अत्यन्त अस्वाभाविक थियो । बीसबर्ष सम्म देशभित्रको सक्रिय राजनीतिबाट एक्लो पारिएका बहुदलीय समाजका समर्थकहरु एकातिर थिए भने अर्कोतिर बीस बर्षदेखि मोजमज्जाको राजनीति गरिरहेका पन्चहरु थिए । राज्यको सम्पूर्ण श्रोत–शक्ति तीनै पन्चहरुको हातमा थियो । स्वाभाविक रुपमा बहुदलीय ब्यवस्था पराजित भएको र पन्चायतको बिजय भएको घोषणा गरियो । अहिलेको जनमत संग्रहको प्रस्तावमा पनि त्यही मानसिकता लुकेको छ । सत्तरी प्रतिशत भन्दा बढी हिन्दू भएको देशमा जनताको मत त जगजाहेर नै छ ।

मिश्रको अवधारणा पत्रको शिर्षक छ, ‘बिचार भन्दा माथि देश ।’ के हो यो ‘बिचारभन्दा माथि देश’ भनेको ? बिचार, जुन मानव मस्तिष्कको उपज हो, त्यो भन्दा माथि हुन्छ देश । अहिलेको परिप्रेक्षमा भावनाको राजनीति, ‘पोलिटिक्स् अफ इमोसन प्ले’ गरेका हुन् रबीन्द्रजीले ? बक्तव्य मात्र नभई बक्तव्यको शैली र त्यस भित्रको मानसिकतालाई ओल्टाई–पल्टाई, कोट्याई हेर्दा सबैतिरबाट राजतन्त्रको ‘सुकुटीको गन्ध’ मिसिएको प्रतिकि«याबादी राष्ट्रबाद बाहेक केही पाईंदैन यस बक्तव्यमा ।

कुनै जमानामा यिनै मिश्रजीले कुनै  गैर सरकारी संघको नाममा चलाएको नारा थियो, ‘खान पुगोस्, दिन पुगोस ।’ नेपाली जनताको कमलो हृदयले त्यस नाराको आवरणमा सहानुभुति र करुणामात्र देख्न भ्याए । त्यस भित्रको तर्क केलाउन खोजेनन् । कमसेकम परोपकारिताका लागि नगद दान दिएर आफ्नो नाम र फोटो सामाजिक संजालमा छपाउने महानुभावहरुले यथार्थ केलाउन खोजेनन् । ‘खान पुगोस्, दिन पुगोस्’ झ्वाट्ट सुन्दा करुणामयी नारा लाग्न सक्छ । केही हदसम्म दाताको अहम्लाई यसले केही उचाइ पनि दिनसक्ला । तर, यस्तो नारा लगाउँदा ‘दान पाउने’ नागरिकको आत्मसम्मान आहत भइरहेको हुन सक्छ । यो कुरा सुन्नेलाई कस्तो लाग्छ ? सुन्नेलाई लाग्छ, उहिले–उहिले रानी साहेब र बाबु साहेबहरु निर्धन जनतालाई यसरी नै बक्सिस् दिएर उनीहरुको आशिक पाउँदा मक्ख्ख पर्थे । ती साहेबहरु मरेर गए पनि उनीहरुका संस्कार कायम राख्नेहरु अझै बाँकी रहेछन् ।

मिश्रले फेरी अर्को अभियान चलाए, ‘भ्रष्टाचारीलाई कीरा परोस् ।’ अति सरल र सभ्य भाषामा भन्नुपर्दा, एउटा बदमास बिद्यार्थीलाई उसको बदमासीको कारण नै बुझ्न नखोजी यातना दिएर सुधार्न खोजे जस्तो हो यो । बदमासी जति ठूलो भयो, यातना उति चर्को दियो । राजनीतिक भाषामा भन्नुपर्दा, तानाशाही ब्यवस्थाले शक्तिको बलमा अभियोगीको सुनुवाइको परवाह नै नगरी सिधै फाँसीको सजाय सुनाए जस्तै हो यो । लोकतन्त्रमा न्याय प्रणाली प्रयोगको पनि लोकतान्त्रिक प्रक्रिया हुन्छ । अपराध प्रमाणित नहुन्जेल अभियोग लागेको ब्यक्तिलाई अपराधी भन्न पाइदैन । आरोपितलाई आफ्नो बचावको लागि दलील पेश गर्ने पूर्ण अधिकार हुन्छ । यही अधिकारले गर्दा लोकतन्त्रको बिकल्प लोकतन्त्र मात्रै हुन सक्छ । यहाँ मात्र होइन, संसार भरी लोकतन्त्रको भाषा, अर्थ र उद्देश्य एउटै हुन्छ ।

रबीन्द्र मिश्रजीको हालसालै प्रकाशित पुस्तकको कभर पृष्टमा लेखिएकोछः कल्याणकारी लोकतन्त्रको प्रस्तावना । के हो यो ‘कल्याणकारी लोकतन्त्र’ भनेको फेरी ? तानाशाह अकल्याणकारी हुन्छ । अधिनायकवाद अकल्याणकारी हुन्छ । त्यस्ता ब्यवस्थाहरुमा जनतालाई छक्याउन, झुक्याउन ‘कल्याणकारी’,‘सुधारिएको’ जस्ता चटके शब्दावलीहरु कथ्नुपर्छ शासक र तिनका समर्थकले । आफैमा सम्पूर्ण र स्वतन्त्र रहेको शब्द ‘लोकतन्त्र’ लाई किन उपसर्ग र प्रत्यय लगाइ रहनु पर्यो रु यहाँ पनि त्यही राजतन्त्रको सुकुटीको गन्ध आउँछ ।

हिम्मत गरेर आऊ खुला मन्चमा र कम्तीमा एउटा कारण देऊ– किन गर्ने हिन्दू राष्ट्रको पक्ष–बिपक्षमा जनमत संग्रह ? कुनै पनि हिन्दू धर्माबलम्बीले हिन्दू भएकै कारणले मनाउन नपाएको चाडपर्व र हिन्दू भएकै कारणले पूरा गर्न नपाएको कुनै कर्मकाण्ड छ यो देशमा ? हिन्दू भएकै कारणले कसैको मानव अधिकार हनन भएको छ ? यदि हिन्दूधर्ममा त्यति कै आस्था छ भने यो हिन्दूधर्म र संस्कृतिबाट अभिशप्त ‘दलित’ शब्दलाई शब्दकोशबाट लोप गराउन सक्छौ ?

उ बेला, जतिबेला देशले अधिनायकवादको अन्धकारबाट मुक्तिको गहिरो सास फेरेको थियो, शासकहरु र तिनका आसेपासेहरुलाई चार–पाटे मुडेर, कालो मोसो दलेर, चार भन्ज्यांग नकटाएको परिणाम हो यो । ती आसेपासे बेला–बेलामा अझै जनताको नाडी छाम्न फर्की–फर्की आउँदैछन् । होइन भने के अर्थ छ अहिलेको नयाँ सन्दर्भ र नयाँ युगमा पनि, औंसी–पूर्णे लागे जस्तो, राजतन्त्र र हिन्दूराष्ट्रको नाम बरबराइ रहन ? नेपाली जनता सोझा र सरल हुन सक्छन् । तर, मूर्ख होइनन् । जनतालाई अहिलेको परिस्थितिले बिरक्त बनाएको छ । तर, जनता पराजय स्वीकार गर्नेवाला छैनन् । त्यसैले ज–जसले अतीतमा ‘महाराजा’ बन्ने अवसर गुमाएका छन, ती सबैले राजतन्त्रको भजन–गान आफ्नै साउण्ड प्रूफ दरबारभित्र गाउन् । होइन भने, अबको आन्दोलनले सामन्तबृत्तमा सक्रिय रहेका आसेपासेलाई चार भन्ज्यांग कटाइ दिनेछ ।@shrestharuchi    

"