गठबन्धन दलबाट मन्त्रीहरुको नाम नआउँदा देउवालाई तनाव - रुपान्तरण
 २०८१ बैशाख २०, बिहीबार    

गठबन्धन दलबाट मन्त्रीहरुको नाम नआउँदा देउवालाई तनाव


काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरु मन्त्रालय भागबन्डाको अन्तिम तयारीमा छन् । तर पावर शेयरिङको विषयले नेताहरु अलमलिएका छन् । त्यतिमात्र होइन गढबन्धनमै रहेका दलहरुले मन्त्रीहरुको नामावली टुंगोमा पुर्याउन नसक्दा मन्त्रिपरिषद्ले अन्तिम रुप पाएको छैन् । जसका कारण प्रधानमन्त्री शेरबहादुर देउवा आलोचित बन्न थालेका छन् ।

गठबन्धन भित्रको प्रमुख दल नेपाली कांग्रेसलाई मन्त्रीहरुको नाम टुङ्याउन हम्मे परिरहेको छ । जनता समाजवादी पार्टी जसपा नेपालले नाम दिनलाई अझै केही दिन लगाउने देखिएको छ । प्रधानमन्त्री देउवाले दुई दिन भित्रमै मन्त्रिपरिषदलाई पूर्णता दिने बताए पनि जसपाले आफ्नो तर्फबाट मन्त्रीहरुको टुंगो आइतबारसम्म मात्र लाग्ने जनाएको छ । कार्यकारिणी समितिको विहीबारको बैठकमा मन्त्रीहरुको नामावली टुङ्याउने विषयमा छलफल जारी रहेको जसपाका एक नेताले बताए ।

उपेन्द्र यादव पक्षले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि मंगलबारबाट जारी बैठकमा संगठन विस्तार, कार्यकारिणी समितिको पूर्णता, मन्त्री पठाउने विषय, तथा समायोजन लगायतको विषयमा छलफल भइरहेको छ । समितिको बुधबारको बैठकले मन्त्री पठाउनेबारे निर्णय गर्ने जिम्मेवारी पार्टीका संघीय परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई जिम्मेवारी दिएको छ ।

एमालेको माधव नेपाल पक्षले सरकार सहभागी नहुने बताएपछि उसकै निर्णय कुरेर बसेको सत्तारुढ गठबन्धनले नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अवसर दिनेगरी मन्त्रिमण्डललाई पूर्णता दिनेगरी तयारी गरेका छन् । नेपाल पक्षले सरकारमा सहभागी नहुने बताएपछि नेपाली काँग्रेस, माओवादी र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबण्डा लगभग टुंगोमा पुर्याएको बताए पनि आजभोलीमै मन्त्रिपरिषद विस्तार हुने छाँट देखिएको छैन् ।

विहीबार विहान देखिनै मन्त्रिमण्डलका विषयमा छलफल गर्न जुटेका शीर्ष नेताहरुले काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्र र जसपालाई ७/७ मन्त्रालय दिनेगरी प्रारम्भिक खाका तयार गरेको बुझिएको छ । यद्यपी, मन्त्रालयकै विषयलाई लिएर कांग्रेस, माओवादी केन्द्र र जसपा आन्तरिक छलफलमै छन् । कांग्रेसले विहीबारलाई नै पदाधिकारी बैठक बोलाएको थियो भने जसपाले पनि कार्यकारिणी बैठक बोलाएको छ ।

मन्त्रिपरिषद्कै विषयमा बिहीबार विहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । त्यस्तै प्रचण्डले माधवकुमार नेपालसँग पनि छलफल गरेका थिए ।

यद्यपी,गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले अझैसम्म पनि मन्त्रिपरिषद विस्तार गर्न नसकेकाले आलोचना भइरहेको छ ।कांग्रेस र माओवादी केन्द्रका दुई–दुई जना मन्त्री र एक जना राज्यमन्त्रीको भरमा चलिरहेको सरकारमा गढबन्धन भित्रकै राष्ट्रिय जनमोर्चा र एमालेको माधव नेपाल पक्षको सरकारमा सहभागिता नहुने निश्चित भइसकेको छ ।