लास गन्नेहरुको भीडमा मसान घाटको साक्षी म - रुपान्तरण
 २०७९ जेठ ६, शुक्रबार    

लास गन्नेहरुको भीडमा मसान घाटको साक्षी म


-जानुका धमला

सार्वभौम देशमा नेपालका क्रान्तिकारी भाव भएका योद्धा नेता हुन भरत ढुगाना उनी २०६१।३।३१ सालमा शाही सेनाद्धारा मारिए । यो अवस्थालाई नियाल्ने हो भने उनी मरे । उनले बगाएको रगतले देशमा गणतन्त्र स्थापना भयो तर यस्तै गणतन्त्रको परिकल्पना गरेर न उनले रगत वगाएका हुन न अरु शहिदहरुले नै । जुन उद्देश्यका लागि रगत बग्यो त्यसको अवमूल्यन भयो ।

नुवाकोट जिल्लाको सामान्य किसान परिवारमा २०२२ जन्मिएका हुन भरत ढुंगाना । उनी २०३६ सालको आन्दोलन र त्यसपछि नुवाकोट जिल्लाको अनेरास्ववियूमा रहेर विद्यार्थी आन्दोलनको नेतृत्व गरे । २०४२ सालमा शिक्षक संगठनमा आबद्ध भएर पनि काम गरे । २०५४ सालको निर्वाचनमा उपाध्यक्षमा निर्वाचित भएर नुवाकोट जिल्ला विकास सभापतिको सभापति पदमा बिजय भए । नुवाकोटमा भरत ढुंगानाको शहादतलाई सम्मान गर्ने र बाटो उज्ल्याउने कुनै पार्टीको नैतिक पूँजी र अधिकार होला अहिले ? उनी के का विरुद्ध लडेका थिए ? उनको प्रारम्भ गरेको विकासको खाकाहरु कहाँ पुगे होलान ? उनले जिल्ला सभापति भएको वेलामा निर्णय गरेका विकासका लहरहरु कता च्यातिर छरिएका होलान ? राजनीतिक हकवालाहरुको राजनीतिक हैसियत सोच र सकृयता कस्तो छ होला अहिले ? यो खोज्नु पनि बिडम्बना जस्तै लाग्छ अहिलेको नुवाकोटको राजनीतिक अवस्था नजरअन्दाज गर्दाखेरी ।

देशमा जनयुद्धलाई समाप्त गरेर लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको पनि १४ बर्ष लागिसकेको छ । जनताका समस्याहरु झन बढेका छन्। उनी सभापति हुँदा तत्कालिन संसदीय व्यवस्थाको जिल्ला सभापति भएको बेलाको जति पनि बिकासको खाका छैन अहिले । यतिखेर त जिल्लामा क्रसर राजनीति र जातिय राजनीतिले गहिरो जरा हालेको छ । यहाँ वर्ग र वर्गमुक्तिका कुरा हुँदैनन् । जातका नाममा राजनीति चलाएमान छ । यदि उनी बाँचेका भए यो संसदीय ब्यवस्थालाई उपयोग नै गरेका भए पनि अहिलेका नुवाकोटका नेता भन्दा उनी पक्कै पनि अब्बल नै साबित हुन्थे किन की उनले अहिलेका दलालहरुले भन्दा राम्रो अवसर जिल्ला सभापति भएको बेलामा नै पाईसकेका थिए यदि लुट्ने नै कुनीयत राख्ने हो भने ।

नुवाकोटको जनताको नजरमा उनी विकासप्रेमी नेता हुन । खरो स्वाभावको दृढ इच्छा शक्ति भएका ब्यवहारमा अति सरल कार्यकर्तासँग असल राम्रो व्यवहार गर्ने नेता । राजनीतिमा वर्ग संघर्ष प्रधान हुनुपर्छ भन्ने उनका भावना थियो । जनयुद्ध कालमा नै देखिएको जातीय राजनीतिको छनक उहाँलाई मन परेको थिएन कार्यकताहरुसंग पनि यो विषयमा बहस छलफलमा जुटनु हुन्थ्यो । समग्र राजनीतिक परिवर्तन नभईकन न जनताको जीवनस्थरमा परिवर्तन आउँछ न आम कार्यताहरुमा नै । त्यही भएर त भनेको हँ नी उहाँमा अग्रगामी दुरदर्शिता थियो भनेर । कार्यकता र जनताप्रति आघात प्रेम थियो । वर्ग दुश्मनप्रति तिव्र घृणा पैदा हुन्थ्यो । त्यही भएर नै उनले आफ्नो भौतिक सुख सुविधालाई त्यागेर परिवर्तनको बाटो अंगालेको थिए । पाखण्डको विरोधी थिए उनी । जिल्लाको हरेक अन्तर विरोधको बेलाम पनि आफूलाई खरो रुपमा प्रस्तुत गरेर अन्तर विरोध मिलाउने कार्यदिशा निर्माण गर्थे र समस्या हल निस्कन्थ्यो ।

कुनै पनि ठाँउमा विचार मूल्यरहित हुँदैन् । त्यसको मूल्य तिर्न विचारवानहरु सदा तत्पर हुनुपर्छ भन्ने मान्यता थियो उनको । अहिले जिल्लाको स्थिति नियाल्ने गर्छु साँच्चै राम्रा र कुशल मान्छेहरु शहिद भएर असक्षमहरु निर्बलहरु मात्रै बाँकी भएको आभाष हुन्छ । प्रशंग १८ वर्ष पहिलेको हो । जब उनी जिल्ला सभापतिबाट राजीनामा दिएर माओवादी आन्दोलनमा सहभागी भए नुवाकोटको माओवादी आन्दोलन लागि अर्को इटा थप्ने काम भयो । त्यो बेलाको केही समय उनीसंगै काम गर्ने अवसर पनि प्राप्त भएको थियो । सरल स्वाभाव जनताको दुःख सुखमा रमाउने जनतालाई के समस्या परेको छ ? जनताहरु के चाहिरहेका जनताको चासोको विषयलाई कसरी सम्बोधन गर्ने र समस्याको हलतर्फ लाग्नेसम्मको ज्ञान थियो उनीमा ।

वर्तमानमा आफूले अंगालेको बाटोप्रति निकै खुशी देखिन्थे । समय मिलेको वेलामा अन्तरक्रियामा भन्थे परिवतर्न आफैं आउने कुरा होइन रहेछ यसलाई विभिन्न कोणसंग जोडेर हेर्नु पर्ने हुन्छ यो एक प्रकारको चमत्कार हो । जो कोहिले अनुभव गर्ने सक्दैनन् । साँच्चै हामीले लडेको जनयुद्ध चमत्कार नै थियो । अहिले सम्झंदा लाग्छ परिवर्तन जो कोहीले गर्न सक्ने विषय हो जस्तो लाग्दैन् । त्यही भएर भनेको रहेछन उनले त्यो बेलामा पनि । ब्यक्ति स्वयम परिवर्तन हुने कुरा ठूलो होइन उसको आचरण ब्यवहार उसले गर्ने नेतृत्वदायी भूमिका हरेका कुरामा महत्वपूर्ण हुन जान्छ । अहिलेको सन्दर्भमा नुवाकोटमा खडकिएको विषय पनि यही हो ।

याङफेदी, शिखरबेसी, राउतवेसी, वेतिनी कार्यक्षेत्र थियो त्यो बेला हाम्रो । संंकटकाल भएपनि चेलीबेटी बेचविखन प्रकृया रोकिएको थिएन यो इलाकाहरुमा । एक पटक बेतिनीमा सिन्धुपाल्चोकबाट किशोरी लिनको लागि दलाल आएका रहेछन् त्यो कुरा हामीले थाहा पाएपछि बेतिनीमा गयौं । उनले त्यो दलाललाई यस्तो तरिकाले सम्झाई वुझाई गरे बम्बई लान छोरी लिन आएको दलाल आफूले गल्ती गरेको र अब उपरान्त चेलीबेटी बेचबिखन जस्तो जघन्य अपराध नगर्ने कसम खाएर फर्कियो ।

त्यो बेला भनेको एउटा शब्द अहिलेसम्म पनि याद छ । जबसम्म धनी र गरिव बीचको खाडल रहिरहन्छ तवसम्म नेपाली दिदी वहिनीहरु भारतको कोठीमा र अन्य ठाउँमा आफ्नो शरीर बेच्न बाध्य पारिने छ । बर्गविहिन समाजको परिकल्पान पनि त्यहीबेलामा थियो उनमा । वर्ग रहुन्जेल सवै कुरा जाहेज हुन्छ बाँच्नको लागि । जब समाजमा यस्ता विभेदहरु अन्त्य हुदैनन् तब मान्छेले मान्छे भएर बाँच्न पाउने अधिकारबाटै बन्चित भएको हुन्छ । विगत नियाल्छु एक झमट सोच्छु गणतन्त्र आएपछि पनि यही नियती भोगिरहेका छन् । नेपाली जनताहरुले त्यही भएर पनि भनेकी हँ । उनीमा विचारमा दुरदर्शिता थियो भनेर ।

अहिलेको परिस्थितमा पार्टी धुजा धुजा मात्रै भएन हिजोको मूल्य, मान्यता पनि लिलाम भयो । भनौ कुनै रद्दीको टोकरीमा गएर थन्किएका छन् उनी जस्तै हजारौं शहिदहरुको आर्दश र विचारहरु । पार्टी एकीकरणपछि त हिजोको बलिदानको गाथा च्यातिएका छन् । अलि अघिसम्म शहिदहरुको भागवण्डा गर्नेहरु अब त्यो ब्यापरबाट पनि टाढा भागेका छन् । अहिले उनीहरुलाई विगतको रगतसंग कुनै पनि सम्बन्ध छैन् । हिजोका लाल क्रान्तिकारीहरु आज सत्तामा पुगेपछि स्वतः लालस्वयत भएका छन्। आर्दशको नाममा शहादतको संवेदनालाई पनि बजारीकरण गर्छन कहिलेकाही उनीहरु । कहिले पोष्ट बहादुर बोगटीको नाममा त कहिले गजेन्द्र वाइबाको त कहिले भरत ढुगानको ।

आज त्यही दिन हो उनको शहादत स्मरण भएको दिन २०६१।३।३१ गते पार्टीको कामको शिलशिलामा जाँदै गर्दा धादिङ जिल्लाको गुम्दीमा मारिएको दिन । उनी किन र कसरी मारिए त्यो अहिलेसम्म पनि आधिकारीक छैन् । बस उनी सेनाको घेरामा परेर मारिए, सकियो । अहिले हिजोको क्रान्तिकारी भन्नेहरुलाई सोध्यो भने पाउँने उत्तर हो यो । बस उनी मारिए नुवाकोटे जनताको आस्थाको धरोहर विकासप्रेमी नेता हजारौं कार्यकर्ताको असल अभिभावक भरत ढुंगानाको हत्या भएको दिन ।

शहिदको नाममा विलाप गर्नेहरु पनि देखेको छु । उनीहरुले बोल्ने शब्दमा न म आजकाल नयाँपन देख्छु न त उत्साह नै । विलापका नारा लगाईरहेका छन् । विलापमा कुनै नयाँ मार्गचित्र छैन् । नयाँ संवेदना छैन, मानवीयता पनि छैन् । अहिलेको राजनीतिक वृत्तलाई नियाल्ने हो भने पनि उनको बलिदानीले प्राप्त भएको सत्ताका सरोकारवालाहरुमा उपदेश पाखण्ड, निर्दयी समाजमा मृत्युलाई साक्षी राखेर पालना गर्नपर्ने नैतिकताको लयसम्म पनि बिर्सिएको पाउँछु । जहाँ विचार लिलामी हुन्छ, त्यहाँ सपनाहरु देख्दैनदेखी सकिन्छन् ।

एउटा आन्दोलनले पैदा गरेको आर्दश नैतिक सपनाको मार्गचित्र हुन उनी मेरो नजरमा । यतिखेर मैंले न उनको आर्दशको मार्ग चित्रलाई विर्सेकोछु नत यो वा त्यो वहानामा उनको सपनामाथि कुठाराघात नै । क्रान्तीको नाममा जनतालाई धोका भएको छ वा शहीदको रगतको अवमूल्यन भएको छ । यो सँधै भनिरहने छु जबसम्म मूल्य मान्यता एकतिर स्वार्थ अर्कोतिर हुन्छ । जव पार्टीमा गुट मौलाउँछ आफ्नो योग्यता, क्षमता र दक्षताको अभ्यास गर्न कुनै गुट वाह्य ब्यक्तिलाई समातेर बैतर्णी तर्नुको अर्थ पनि हुँदैन सायद ।

सबै परिवर्तनलाई मूर्त र व्यवहारिक रुप दिने भनेको राजनीति र नेताहरुले नै हो । उनीहरुको सामाजिक चरित्रले पनि । आवश्यकता अनुसार नैतिक अपेक्षा पक्कै पनि गरेको हुन्छन जनताले । जब एक इमान्दार नेताको शहादतले वर्तमान अवस्थाको आवश्यकतालाई पक्कै पनि अनुभव गराउँछ वर्तमानका सपनाहरु सम्झंदा भविश्य गम्दा तब हृदयका भावहरु कुर्लन थाल्छन् । आक्रोशको ज्वालामूखी उभिन्छ मन भित्र ।हाम्रो इतिहास लास गनेकाहरुको कथा हो । उर्दीमा नहाँकिएका ज्वारभाटा विरुद्ध शक्तिसामू आफ्नो नैतिकता धितो नराखेका भरत ढुंगाना, बैकुण्ठ पोखरेलप्रति हार्दिक श्रद्धासुमन । तपाईहरुको भौतिक शरीर गुमेको हो । र आस्था र वर्ग प्रेमको नाता युगौं युगसम्म बाँचिरहनेछ ।

"