ओली पक्षको एकपछि अर्को निर्णय: नेपाल पक्षलाई ‘देशद्रोही’ भन्दै बाइपास - रुपान्तरण
 २०८१ जेठ ४, शुक्रबार    

ओली पक्षको एकपछि अर्को निर्णय: नेपाल पक्षलाई ‘देशद्रोही’ भन्दै बाइपास


काठमाडौं । विभाजनको अवस्थामा रहेको नेकपा एमालेलाई एकताको प्रयास भइरहेका बेला अध्यक्ष केपी शर्मा ओल पक्षले बरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई बाइपास गर्दै नयाँ नयाँ निर्णय गरिरहेको छ । शनिबार र आइतबार चलेको स्थायी कमिटी बैठकले साउन २४ गतेका लागि केन्द्रीय कमिटीको बैठक र भदौ २७ र २८ गते पार्टीको विधान महाधिवेशन गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै सोमबार पनि पार्टीलाई नयाँ गतिसाथ अगाडि बढाउन नौं वटा विभाग बनाउने निर्णय गरेको छ । वरिष्ठ नेता नेपाल पक्ष अनुपस्थित बैठकमा अध्यक्ष ओलीले विभिन्न विभाग गठन गरेका हुन् । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सोमबार सम्पन्न स्थायी कमिटी बैठकले पार्टीलाई नयाँ गति साथ अगाडि बढाउने अभिप्रायका साथ विभागहरु गठन भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

जसअनुसार स्कूल विभागको प्रमुखमा अध्यक्ष केपी शर्मा ओली छन् । जसमा ११ जना सदस्य चयन गरिएको छ । १४ सदस्यीय संगठन विभागको प्रमुखको जिम्मेवारी उपमहासचिव विष्णु पौडेलले पाएका छन् । त्यस्तैगरी १४ जना सदस्य रहेको संसदीय विभागको प्रमुख सुवासचन्द्र नेम्वाङलाई चयन भएका छन् । आर्थिक विभाग प्रमुखको जिम्मेवारी विष्णु रिमाललाई दिइएको छ । आर्थिक विभागमा हाललाई २ सदस्य चयन गरिएको छ ।

पर्यटन विभाग प्रमुखमा भानुभक्त ढकाल, निर्वाचन विभाग प्रमुखमा अग्नी खरेललाई जिम्मेवारी तोकिएको छ । विदेश विभागको प्रमुखमा राजन भट्टराई चयन भएका छन् । अन्य चार विभाग प्रमुखको जिम्मेवारी प्रदीप ज्ञवालीको पाएका छन् । पार्टी नियमावली अनुसार २५ सदस्यीय विभाग गठन गर्न सकिने भएकाले अहिले केही सदस्य समेटेर विभागहरु गठन गरिएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

बाँकी रहेका विभाग र विभागका सदस्य थप्ने काम क्रमश जारी राखिने र नेपाल समूहका नेताहरु पार्टीमा फर्किए उनीहरुलाई समेट्न पर्याप्त ठाउँ सुरक्षित गरिएको पनि उनले बताए । उनले भने, ‘पार्टीमा फर्किनेका लागि ठाउँ सुरक्षित छ, विभागमा थोरै सदस्य राखेको कारण पनि यही हो ।’

विधान कस्तो बनाउने भन्नेबारे २२ गते अनौपचारिक छलफल राखिएको ज्ञवालीले बताए । तीन दिनसम्म बसेको स्थायी कमिटी बैठक सोमबार सकिएको छ। विधान महाधिवेशन भदौ २७ र २८ गते गर्ने निर्णय बैठकले गरेको छ।

यता नेपाल पक्षले ओलीले एकलौटी रुपमा गरिरहेको निर्णयहरुप्रति आपत्ति जनाउँदै आएको छ । एकताको प्रयास चलिरहेका बेला ओलीले गरेका निर्णयहरुबारे नेपाल पक्षले असन्तुष्टी जनाउँदै आएको छ । यसअघि ओलीले एमालेमा नेपाललाई कुनै पनि स्थान नभएको र नेपाल देशद्रोही भएको समेत आरोप लगाइसकेका छन् ।

शनिवार ओलीले काठमाडौँ जिल्ला कमिटीको बैठकमा बोल्ने क्रममा नेपालमाथि दक्षिणपन्थीको आरोप पनि लगाए । दोस्रो तहका नेताहरूले नेपालसहितको एकताका पक्षमा मत सिर्जना गरिरहेका बेला अध्यक्ष ओलीले भने नेता नेपाललाई देशदोह्रीको आरोप लगाएपछि स्थिति विग्रिएको कार्यकर्ताहरुले बताएका छन् । यता नेपालले ओलीलाई राजा महाराजाको संज्ञा दिंदै ओलीसँग संवाद गर्नुको औचित्य नभएको बताइसकेका छन् ।

आममाफीको घोषणाबाट बिच्किएका नेपालमाथि ओलीले शनिवार देशद्रोहीको आरोप लगाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ओलीले एमालेमा अब ‘वार कि पार’को अवस्थामा पुगिसकेको बताएका छन् । नेपालले भने निरंकुश र स्वेच्छाचारी प्रवृत्तिको विरोध गर्दै मनपरी, बेलगाम, अराजक भएर नेतृत्व नचलोस् भनेर होसियार बनाउन कार्यकर्ताले भूमिका खेल्नुपर्ने बताउने गरेका छन् ।