१६ वर्षपछि ‘डाँडाको वरपीपल’मा भुवन र शिव - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

१६ वर्षपछि ‘डाँडाको वरपीपल’मा भुवन र शिव


काठमाडौ । निर्देशक शोभित बस्नेतको ३१ औं फिल्म ‘डाँडाको बरपीपल’मा अभिनेता भुवन केसी अनुबन्धित भएका छन् । निर्माण पक्षले भुवनलाई अनुबन्धित गर्दै फिल्म छायांकनको सेड्युल तय गरेको छ । दोस्रो लकडाउनका कारण फिल्मको छायांकन अगाडि बढ्न सकेको थिएन ।

आगामी भदौ ५ बाट छायांकन सुरु हुने फिल्मको छायांकन अवधि ६० दिनको रहनेछ । फिल्म काठमाडौं र चित्लाङ आसपासमा खिचिनेछ । फिल्ममा यसअघि नै शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, अस्मि थापा, ज्ञानकुमार कटेल फाइनल भइसकेका छन् ।

करिब १६ वर्षपछि भुवन र शिवले सहकार्य गर्न लागेका हुन् । यी दुई अभिनेताले वि.सं.२०६२ सालको फिल्म ‘राजु राजा राम’मा सँगै अभिनय गरेका थिए ।

बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण हुने फिल्ममा नवराज गिरीको लगानी रहनेछ । रामकाजी घिमिरेको लेखन रहने फिल्ममा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया/एलिश कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, राम्जी लामिछानेको कोरियोग्राफी, नवराज गिरीको गीत, राम्जी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन रहनेछ ।