पूर्व गोर्खाहरुको आन्दोलनको पक्षमा कुल आचार्य - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

पूर्व गोर्खाहरुको आन्दोलनको पक्षमा कुल आचार्य


लण्डन । गैरआवासीय नेपाली संघका केन्द्रिय सल्लाहकार कुल आचार्यले ब्रिटिश सैनिक सरह सेवा सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलनरत पूर्व गोर्खाहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।

बिहीबार गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले लण्डनको प्रधानमन्त्री कार्यालय नजिकै सन्चालन गरिरहेको आमरण अनसनस्थल पुगेर आचार्यले आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् ।

आचार्यले बेलायत र नेपालबीचको दुई सय वर्ष पुरानो सम्बन्धलाई थप बलियो बनाउन पनि गोर्खा समस्याको समाधान हुनुपर्ने बताए । उनले त्यसका लागि पहल गरिरहेको पनि स्पष्ट पारे ।

आमरण अनसनमा रहेका प्रतिनिधिहरुसँग कुरा गर्दै आचार्यले कुटनीतिक माध्यमबाट नै यस समस्याको समाधान खोज्न जरुरी रहेको र त्यसका लागि आफूले पहल गरिरहेको जानकारी दिए । ‘मैले बेलायतस्थित नेपाली राजदूत, लोक दर्शन रेग्मीज्यू, सँग यसबारेमा कुरा गरिसकेको छु, नेपाल सरकारसँग पनि यो विषय तत्काल वार्ताको माध्यमबाट सम्बोधन हुनुपर्ने बताइसकेको छु’ आचार्यले भने । आचार्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि समस्याबारे जानकारी गराएको र समाधानको उपायका बारेमा सुझाएको जानकारी दिए ।

आमरण अनशन

“ब्रिटेनको रक्षाका लागि हजारौ गोर्खा सैनिकहरुले आफ्नो ज्यान अर्पण गर्नु भएको छ। अहिले आएर भूतपूर्व गोर्खा सैनिकहरुले हामी माथि अन्याय र भेदभाव भयो भनेर आमरण अनशन गर्नुपर्ने स्थिति आउनु दुखको कुरा हो,’ आचार्यले भने ।

गोर्खा सैनिकहरु दुई देशबीचको सम्बन्धको महत्वपूर्ण पाटो रहेको उल्लेख गर्दै आचार्यले उनीहरुको योगदानको ब्रिटिश सरकारले अवमूल्यन गर्न नसक्ने स्पष्ट पारे । आफूले लामो समयदेखि भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुको समस्या समाधानका लागि पहल गरिरहेको दोहोर्याउँदै अब कुनै पनि हालतमा ढिला नगर्न उनले नेपाल सरकार र बेलायत सरकारलाई आग्रह गरे ।

गैर आवासीय नेपाली संघको नेतृत्व लिने तयारीमा लागेका आचार्यले गोर्खा सैनिकहरुले आन्दोलन गरि रहेको स्थान मा आएर आफुले चुनावी कुरा गर्न नचाहेको स्पष्ट पारे । 'चुनावी कुराले यसलाई प्रभावित गर्दैन,' उनले भने, 'मुख्य कुरा पूर्व गोर्खाहरुले पटक पटक आन्दोलन गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्दछ ।'

आचार्यले भोक हड्तालमा रहेका सत्याग्रहका निर्देशक ज्ञानराज राई, धन गुरुङ तथा पुष्पा राना घलेको स्वास्थ्य अवस्थाका बारेमा चासो राखेका थिए । आचार्यले आन्दोलनमा ऐक्यबद्धता जनाएपछि गोर्खा सत्याग्रह समितिका निर्देशक राईले यो आन्दोलन अन्तिम आन्दोलन भएको भन्दै माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताएका थिए ।

यस अघि एनआरएनए युकेका नवनिर्वाचित अध्यक्ष प्रेम गाहा मगर सहित अन्य पदाधिकारीहरु पनि अनशन स्थल पुगेर सत्याग्रह आन्दोलनप्रति ऐक्यबद्धता जनाएका थिए।-जिएनएन