माधव नेपाल अलग भएपछि ओलीको ‘हल्का’ प्रतिक्रिया - रुपान्तरण
 २०८३ बैशाख १७, बिहीबार    

माधव नेपाल अलग भएपछि ओलीको ‘हल्का’ प्रतिक्रिया


काठमाडौं । एमालेबाट माधवकुमार नेपाल पक्ष अलग भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्रको एउटा पक्ष बाहिरिएर पार्टीलाई अपूरणीय क्षति नभएको प्रतिक्रिया दिएका छन् । पार्टी विभाजनले एमालेमा एकछिन ग्रहण लागे जस्तो मात्र भएको उनको भनाइ थियो ।

बिहीबार विभिन्न कार्यक्रममा बोल्दै ओलीले दलबाट कोही बाहिरिँदा पार्टीलाई अपूरणीय क्षति नभएको र त्यो ठाउँमा इँटा थप्न सकिने बताएका हुन् । उनले केही बाहिरिँदैमा पार्टीको तागत नघटेको र एमाले अझै पनि देशभर सशक्त दलकै रूपमा रहेको जिकिर गरे । ओलीले पार्टी विभाजन सूर्यमा बादल लागे जस्तो, ग्रहण लागे जस्तो मात्र भएको बताएका हुन् ।

नेपाललाई लक्षित गर्दै अध्यक्ष ओलीले भने, ‘हिजो कोही समातेर घिसाउँदै र घिसारिँदै हिँडे, संसारमा कुनै पात नझर्ने रुख हुँदैन । हामीमा त्यस्तै भयो ।’ एमाले कमजोर पार्न सरकारले जति चाहियो त्यति संख्या हुने गरी अध्यादेश ल्याए पनि त्यसको कुनै अर्थ नहुने पनि बताए ।

नेपाल समूहसँग नाम जोडिएका नेताहरुलाई फर्कन आग्रह गर्दै ओलीले भने,‘त्यो लिस्टमा भएका साथीहरु आउनुहोस् काम गरौं। देशको भविष्य बनाउँ’ उनले अगाडि भने,¦म आग्रह गर्न चाहन्छु। माधवकुमार नेपालको लिस्टमा नाम लेखेर निर्वाचन आयोगमा पेश गरेका साथीहरु त्यो लिस्टबाट नाम हटाउनुस्। यो तपाइँ हामीले बनाएको पार्टी हो आउनुस् ।’ नेता माधव नेपालले अहिलेसम्म समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा कहिल्यै बोलेको नसुनेको भन्दै व्यङ्ग्य गरे ।