गाईजात्रा पर्व र तेस्रोलिङ्गी अधिकारका कुरा - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

गाईजात्रा पर्व र तेस्रोलिङ्गी अधिकारका कुरा


काठमाडौं । गाईजात्रा पर्वले परम्परागत, धार्मिक र सांस्कृतिक विशेषता बोकेको छ। नेवार समुदायले मनाउने यो पर्व पुत्रवियोगमा रहेकी आफ्नी रानीलाई त्यसबाट पार पाउन प्रेरित गर्न राजा प्रताप मल्लले सुरु गरेको ठानिन्छ। तर एक संस्कृतिविद्ले प्रताप मल्लको शासनकालभन्दा ३०० वर्षअघिबाटै उक्त पर्व मनाउन थालिएको बताए। यो पर्व मनाउने क्रममा गाईजात्रालाई कृषि र प्रकृतिसँग पनि जोड्ने गरिएको जानकारहरू बताउँछन् ।

एकथरी जानकारहरु गाईजात्रा प्रताप मल्लले चलाएको होइन भन्ने दाबी गर्छन । बरु उनले रानीलाई देखाउन लायकू दरबार हुँदै परिक्रमा गर्नुपर्ने लगायतको उर्दी जारी गरेर जात्रालाई व्यवस्थित बनाएका थिए । गाईजात्रा अर्थात सापारु प्रताप मल्ल भन्दा नि करिव तीन सय वर्ष अघिका राजा जयस्थिति मल्लको पालामै मनाएको गोपालराज वंशावलीमा उल्लेख रहेको संस्कृतिविद् डा.पुरुषोत्तम लोचन श्रेष्ठको दाबी छ ।

गाईजात्रामा सरकारलाई व्यंग्य हान्ने र प्रहसन देखाउने चलन ३० को दशकमा रामशेखर नकर्मी, हाँस्य सम्राट मदनकृष्ण श्रेष्ठ लगायतको समूहले बनाएको मुनासः नामक संस्थाले नेपालभाषामा सुरु गरेका थिए । पछि सोही समूहसँग समन्वय गरी वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको पहलमा नेपाली राष्ट्रिय भाषामा सुरुआत भएको थियो । अहिले सोही हास्यव्यंग्य तथा प्रहसनलाई हास्य कलाकारहरुले देखाउँदै आएका छन् ।

यो पर्वलाई वैयक्तिक स्वतन्त्रता र विकृति विरुद्ध तिखो प्रहार गर्न पाइने अवसरका रुपमा पनि लिने गरिन्छ । गाईजात्रालाई आफ्नो अधिकार खुलेर आवाज उठाउन पाइँने भएकाले सामूदायिक स्तरबाट विगत दुई दशकदेखि यौनिक तथा लैङ्गिक अल्पसंख्यक (तेस्रोलिङ्गी/समलिङ्गी)हरुले मनाइरहेका छन् । उनीहरुले यसबर्ष मनाएको यो १८ औं गाईजात्रा पर्व हो । सोमबार पनि आफ्ना अधिकारको माग राख्दै गाईजात्रा पर्व मनाएका छन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यकका क्षेत्रमा कार्यरत संस्था नील हिरा समाज(व्लू डाइमन्ड सोसाइटी)ले सोमबार १८ औं गाईजात्रा मनाएको हो । कोभिड संक्रमणलाई मध्यनजर राख्दै देशका विभिन्न जिल्लाहरुमा सामाजिक दूरी कायम गरी उनीहरुले गाईजात्रा मनाएका हुन् । काठमाडौं उपत्यका भित्र काठमाडौंको स्वयम्भू, बसन्तपुर, पशुपतिनाथ साथै भक्तपुरमा प्लेकार्ड र ब्यानरसहित प्रदर्शन गर्दै गाईजात्रा मनाएका हुन् ।

‘हाम्रो संस्कृति हाम्रो पहिचान’, ‘मेरो पर्व मेरो पहिचान’, ‘वैवाहिक सम्बन्धलाई कानुनी मान्यता देउ’लगायतका प्लेकार्ड बोकेर उनीहरुले आफ्नो हक अधिकारको माग गरेका छन् । निलहिरा समाजकी अध्यक्ष पिंकी गुरुङले संविधानमा भएकै व्यवस्थालाई कार्यान्वयन नभइरहेको अवस्थामा राज्यलाई दबाब स्वरुप गाईजात्रा मार्फत आफ्ना अधिकारको खोजी गरिएको जानकारी दिइन ।

उनले भनिन्,‘सामाजिक सुरक्षा, बैवाहिक समानतादेखि कोरोना भाइरसबाट प्रभावित भएका हाम्रा समूदायका व्यक्तिहरुलाई राज्यले कुनै व्यवस्था गरेको छैन् । खोपको र स्वास्थ्य सुरक्षाको व्यवस्था छैन् । हामी यी सबैखाले मागहरुका लागि राज्यलाई झकझक्याइरहेका छौं ।’

यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायलाई सरकारको नीति तथा कार्यक्रम र बजेटमा नसमेटिएको, प्रदेश तहमा पनि कार्यक्रमहरु नछुटाइएको र कोभिड नियन्त्रणका लागि कुनै योजना नबनाएको अध्यक्ष गुरुङले जानकारी दिइन । यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका क्षेत्रमा क्रियाशील अभियन्ता भक्ति साहले आफू दुई दशकदेखि समूदायको अधिकारकै लागि लडिरहेको र गाईजात्राका अवसरमा संस्कृतिको जगेर्ना गर्दै अधिकारका कुरा उठाउँदै पर्व मनाइएको जानकारी दिए ।

त्यस्तै अर्का अभियन्ता सुदिप गौतमले पूर्ण आत्मसम्मान सहित हिंसारहित समाज निर्माण, वैवाहिक समानता साथै राज्यका सबै तहमा सम्मानजनक सहभागिताका लागि हामीले पटक पटक आवाज उठाउँदै आएको र गाईजात्राका अवसरमा सडकमा उभिएर अधिकार तथा पहिचानका लागि दबाब दिनुपरेको बताए ।

सोमबार भएका कार्यक्रमहरुमा उनीहरुले दिंवगत भएका आफ्ना समूदायका व्यक्ति तथा कोरोना संक्रमणका ज्यान गुमाएका समुदायका व्यक्तिहरुको नाममा दिप प्रज्वलन गरी शान्तिको कामना गरे । बर्षेनी देशभरका यौनिक अल्पसंख्यक समुदायले आआफ्ना क्षेत्रमा सांस्कृतिक झलकसहित झाँकीहरु प्रदर्शन गर्दै सन्देशमुलक कार्यक्रम आयोजना गर्ने गरेका छन् । विभिन्न जिल्लामा पनि गाईजात्राका अवसरमा कार्यक्रमहरु आयोजना गरिएको छ ।

"