नेपालमा कोरोनाविरुद्धको खोप प्रभावकारीः ६८ प्रतिशतमा एन्टिबडी तयार - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

नेपालमा कोरोनाविरुद्धको खोप प्रभावकारीः ६८ प्रतिशतमा एन्टिबडी तयार


काठमाडौं । नेपालमा पछिल्लो समयमा नियमित रूपमा लगाइएको कोरोना विरुद्धको खोपको प्रभावकारिता देखिएको छ । भेरोसेल, जोन्सन एण्ड जोन्सन, कोभिसिल्डलगायत खोप नेपालमा प्रयोग भइरहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशका विभिन्न स्थानबाट खोप लगाएका १३ हजार १६१ जनाको नमूना परीक्षण गर्दा ९० प्रतिशतसम्म एन्टिबडी देखिएको हो ।

मन्त्रालयले गत असार २१ गतेदेखि ३० साउनसम्म खोप लगाएका मानिसको नमूना परीक्षण गरेको थियो । सर्वेक्षणमा प्राप्त नतिजाअनुसार देशभर कूल ६८.६ प्रतिशत नमूनामा कोभिड १९ एन्टिबडी देखिएको छ । एक मात्रा खोप लगाएका व्यक्तिमा ८० प्रतिशत र पूर्ण मात्रा खोप लगाएकामा ९० प्रतिशत एन्टिबडी देखिएको छ । मन्त्रालयका अनुसार हालसम्म पहिलो मात्रा खोप लगाउनेको सङ्ख्या ५० लाख ६३ हजार ५२२ रहेका छन् । यस्तै पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ४० लाख ५२ हजार ७६५ रहेको छ ।

कोरोना भाइरसले आफ्नो रूप परिवर्तन गरिरहने जोखिम कायमै रहेकाले सङ्क्रमणको रोकथाम, नियन्त्रण गर्नु नै एक मात्र प्रभावकारी उपाय हो । जुन हालको अवस्थामा निकै सान्दर्भिक रहेको मन्त्रालयको भनाइ छ । भौतिक दूरी कामय गर्ने, गराउने, भीडभाड नगर्ने, नगराउने, घर बाहिर ननिस्कनै पर्ने भएमा अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने गराउने, सरसफाइमा विशेष ध्यान दिने र कोरोना विरुद्धको खोप लगाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

कोरोनासँग मिल्दो जुल्दो सङ्क्रमण भएको तथा कुनै पनि लक्षण भएमा आफ्नो स्थानीय तहसँग सम्पर्क गरी निःशुल्क रूपमा परीक्षण गराउन वा नजिकको सरकारी संस्था, प्रयोगशालामा निःशुल्क परीक्षण गरिने मन्त्रालयले जनाएको छ । त्यस्तै नेपालमा ६८ प्रतिशतमा भन्दा धेरै मानिसमा कोरोना भाइरसको एन्टिबढी विकास भएको पाइएको छ । मन्त्रालयले जनाएअनुसार देशभरका छ महिनाभन्दा बढी उमेर समुहका १३ हजार एक सय ६१ जनामा गरेको परीक्षण उक्त नतिजा देखिएको हो । पहिलो मात्रा खोप लगाएका ८० प्रतिशत र पूर्ण मात्रा खोप लगाएका ९० प्रतिशतमा एन्टिबढी तयार भएको देखिएको मन्त्रालयले जनाएको छ ।