चालु हालतमा देश - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

चालु हालतमा देश


किशोर नेपाल

झण्डै दुइ महिनादेखि एकजना प्रधानमन्त्री, चारजना मन्त्री र एकजना राज्यमन्त्रीलेनिर्वाध देश चलाइ रहेका छन । देशको गति अबिचलित छ । कतै रोकिएको छैन । मन्त्री नभएको कारणले देश बिकासको यो महत्वपूर्ण काम रोकियो भन्न परेको पनि छैन । यसअघि, त्यत्रा मन्त्रीहरु सरकारमा हुँदा कोरोना महामारीको हूँकार टडकारो सुनिन्थ्यो । सरकार आफै नीरिह थियो । लकडाउन हटाउने होइन, थप्ने कुरामा छलफल भइ रहन्थ्यो । अहिले महामारीको हूँकार छैन । भएपनि, गाउँ, मधेश, देहात, पाखा–पखेरातिर होला ।जम्मा छ जना मानिसले चलाएको सानो सरकारले काठमाडौंबाट सफलतापूर्वक लकडाउन हटाएकोछ । सिनेमाघर, नाइट– क्लब, रोदीघर र भट्टीपसल सुचारु भै सकेकाछन । भोलि कोरोना महामारीले टाउको उठाएछ भने उठाएछ । देखा जाला । अहिले ठमेलदेखि झमेलसम्म, चारैतिर, मानिस रमाएका छन । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशंशामा निरन्तर पुष्पबृष्टि भइ रहेकोछ । हुनेलाई ओइरो लागेको लागेकै छ । नहुनेको हालत सारै खराब छ ।

खल्तीमा पैसा नभएका र हातमा रोजगार नभएका खाते मानिस अलपत्र परेका छन । यो समस्याको समाधान सरकारले गर्न नखोजेको होइन । चारवटा राष्ट्रिय पार्टीका नेताहरुले चलाएको बर्तमान सरकार त आखिर समाजवादी नै हो । समाजवादको बुट्टे खादा ओढेका प्रधानमन्त्री, नेता र मन्त्रीहरु समाजवाद कसरी जोगाउने भन्नेमा ब्यस्त देखिन्छन ।यस्तो वातावरणमा देशमा दुःख छ, गरिबी छ भन्नु त नहुने नै हो । समस्या के पर्यो भने देशमा दुःख र गरिबी छैन भनेपनि एकजनाले पत्याउँदैन । कसैले नपत्याएपछि के गर्नु ? आपूmले टन्न खाएर भरिएको पेटलाई खाली भनेर देखाउने कुरा आएन । अनि गर्ने के ? त्यही हो कि अब देशमा सानो आकारको मन्त्री मण्डल बनेकोछ । मन्त्री मण्डलको आकार ठूलो भएको भए मन्त्रीहुने आशामा जमजमाएर बसेका कतिजना मन्त्री बन्थे । त्यसपछि ती मन्त्रीका आफन्त र समर्थकहरुको गरिबी निवारण हुन्थ्यो । अहिले सानो मन्त्री मण्डल छ । त्यसो भएकोले कतै यो सानो मन्त्री मण्डल नै गरिबीको एउटा अर्को बहाना नबनोस ।

अहिलेको मन्त्री मण्डल संचालनगर्न चाहीं प्रधानमन्त्रीलाई निकै सजिलो भएको होला । जति भाँडो त्यति चुपुर्को भने झैं उनले दर्जनौं मन्त्रीका कचकच र गनगन सुन्नु परेको छैन । सरकार संचालनका लागि धेरै नेतासंग छलफलगर्नु परेको पनि छैन । माओवादी पार्टीका अध्यक्ष छन, उनले हो अलि अलि चासो लिने । साथीहरुले शासन संचालनमा चासो लिएन भन्लान भन्ने डरले अध्यक्ष कामरेड प्रायः बालुवाटार गै रहेका हुन्छन । त्यहाँबाट चिया पिएर फर्किन्छन । उनी आफनो पार्टीभित्र मन्त्री बन्न जमजमाएका आकांक्षीहरुको भीड देखेर तर्सिएका छन । एउटा अनार छ, सयजना बिमार छन ।उता, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष आफनै जोड–घटाउमा ब्यस्त छन । भ्यागुताको धार्नी पुर्याए जस्तो अवस्था त होइन । तै पनि सावधानी त अपेक्षित नै छ । सरकारमा कान्छो पार्टनर छन उपेन्द्र यादब । उनी सरकारका कामप्रति उत्सुक र जागरुक त छन । तर, उनी पनि भ्यागुताहरु पोखरीबाट उफ्रिएर कुवामा फाल हाल्लान कि भन्ने आशंकामा नै छन । जे भए पनि, अहिलेको सरकार छोटो, मीठो, चटक्क परेको छ । त्यसैमा सबै पार्टनर खुशी देखिएका छन । यो सरकारमा अघिल्लो सरकारमा जस्तो हल्लागुल्ला छैन । सरकार शान्त छ, दत्तचित्त भएर आफनो काममा लागेकोछ ।

कहिलेकहीं प्रधानमन्त्री देउवा सरकारका पार्टनरहरुलाई मन नपर्ने काम गर्दछन । उनले एकदिन बिहानै आफना कानून तथा न्यायमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रमुख प्रतिपक्षी दलका नेता खड्गप्रसाद शर्मा ओलीको घरमा पठाए । भोजपुरका झर्रा क्षेत्री ज्ञानेन्द्रजी एक अत्यन्त सज्जन पुरुषहुन । छक्का–पन्जा नजान्ने । यो मैले होइन, स्वर्गवासी सन्त नेता कृष्णप्रसाद भट्टराईले भन्नु भएको हो ज्ञानेन्द्रजीका बारेमा ।प्रधानमन्त्री देउवासंग त एकसेएक ‘त्रूmक’ र ‘मशहूर’ मानिस छन प्रमुख प्रतिपक्षी नेता कामरेड ओलीलाई चिन्ने । तिनलाई नपठाएर किन पठाए यी सोझा ज्ञानेन्द्रजीलाई बालकोट ?भन्न त भने, संसदबाट यो ‘एमसीसी’ पारित गराउन समर्थन मांग्न पठाएको हो । तर, पार्टनरहरुले पत्याउने भन्दा पनि पार्टनरहरुलाई झुक्याउने खालको कुरा थियो यो । यो एमसीसीका बारेमा सरकारका पार्टनरहरुको मनमा अनेकन संशय छ । उनीहरु अमेरिकालाई पहिलेकै अमेरिका ठान्दछन – सन साठीतिरको अमेरिका । पार्टनर पक्षका समाचारपत्रहरुले अमेरिकी शक्तिलाई ओल्टाइ कोल्टाइ गर्छन । अनि, एमसीसी गर्नै हुन्न भन्दछन ।

त्यो बाहेक अरु पनि कुरा छन । सरकारका पार्टनरहरुलाई आच्छु आच्छु परेको मुख्य बिषय भनेको सरकारको बिस्तार नै हो । यसमा प्रचण्डजी अप्ठेरोमा छन, माधवजी अप्ठेरोमा छन, उपेन्द्रजी अप्ठेरोमा छन र स्वयं प्रधानमन्त्री अप्ठेरोमा छन । नेताहरुले मन्त्री बन्ने भाग्यमानीको लिष्ट बनाएर उहिल्यै कोटको भित्री खल्तीमा राखेका हुन । तर, त्यो लिष्ट भदौ २२ गते न भै सक्रिय तुल्याउन नमिल्ने भएकोले समस्या देखिएको हो । माधवजी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेताहरु बिश्वस्त छन कि २२ गते मन्त्री बनाउने यो महालण्ठोको टुंगो लाग्नेछ । को को लाई मन्त्री बनाउने हो -नेताहरुलाई तिनको नाम जुवानीकण्ठै छ । सबै माधवजीको भदौ २२ गतेको म्याद पर्खी रहेका छन ।

त्यसपछि, आउँछ उपेन्द्र यादवको समाजवादी पार्टी । यादवजीका लागि पहिलो चिन्ता त यादवजीहरु नै बनेका छन । चुनावमा जितेर आउने यादव नै छन भने उनीहरुलाई किनारा लगाएर अरु कसलाई बनाउने मन्त्री ? त्यो त न्यायोचित पनि भएन । त्यसो भनेर, गैर यादबलाई पन्छाउन पनि मिलेन । उपेन्द्र यादवले बाबुराम भट्टराइ र अशोक राईबाट अधिकार लिएकै होलान । नत्र, त्यताबाट पनि हस्तक्षेप भै हाल्थ्यो ।

यो त भयो सरकार र उसको अन्तरंग पार्टनरका कुरा । अब आयो महन्थ ठाकुरजीको पार्टीको कुरा । महन्थजीलाई पूरा बिश्वास छ – प्रधानमन्त्रीजीले उनको पार्टीलाई पनि मन्त्री खान आमन्त्रण गर्नेछन । महन्थजीको यो बिश्वासको ठोस कारण देखिदैन । यत्ति हो कि, अहिलेका पार्टनरहरुसंग प्रधानमन्त्रीज्यूको मन मरेको अवस्थामा महन्थजी र ओलीजीको पार्टी मिलाएर बहुमत पुग्दछ कि पुग्दैन – हिसाबगर्न काम लाग्छ । पुग्ने त लक्षण छैन । ओलीजीको पार्टीमा आउनेभन्दा पार्टीबाट निस्किने लक्षण धेरै देखिएकोछ । माओवादीका अध्यक्षलाई रास्तैमा छाडेर एमालेका अध्यक्ष ओलीका दौराको फेर समात्दैएमालेमा झुण्डिएका रामबहादुरदेखि रायमाझीसम्मका पूर्व माओवादी पात्रहरुको पनि बिजोग नै होला जस्तोछ ।

जे छ, सरकार छ । सरकार गतिशील छ । सरकार चलायमान छ । देशको संघीय राजधानीबाट लकडाउन हटेकोछ । सिनेमाघर, नाइट क्लब, बार र भट्टी खुलेका छन । मानिस हतारमा यताउता दौडिदैछन । कहाँ जाने ? पत्तो छैन ।काठमाडौं शहरमा कोरोना फर्कियो भने ? थाह छैन । जनतालाई कुनै कुराको पनि थाह र पत्तो छैन ।