राष्ट्रिय जनगणना–२०७८ को संशोधित कार्यतालिका स्वीकृत - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

राष्ट्रिय जनगणना–२०७८ को संशोधित कार्यतालिका स्वीकृत


काठमाडौं । सरकारले राष्ट्रिय जनगणना–२०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनगणना २०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

यसअघि कोरोना महामारीका कारण जनगणनासम्बन्धी कार्यतालिका प्रभावित भएको थियो । मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय संस्थाहरूबाट प्राप्त विद्यालय क्षेत्र विकास कार्यक्रम संचालन गर्न सहुलियतपूर्ण ऋण सहायता स्वरूप प्राप्त हुने ५० मिलियन अमेरिकी डलरको ऋण सहायता स्वीकार गरेको छ ।

यस्तै, सरकारले अन्तर्राष्ट्रिय संस्थाहरूमार्फत नै प्राप्त नेपाल स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधार कार्यक्रमका लागि प्राप्त हुने ५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण पनि स्वीकार गरेको छ । मन्त्रिपरिषद् बैठकले जलवायु परिवर्तन सम्बन्धी अनुकुल कार्य गठबन्धन तथा सोको निर्देशक समितिमा नेपालका तर्फबाट सहभागिता जनाउन पनि अनुमति दिएको छ ।

यसैगरी दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ छाङरुमा स्थापना भएका नेपाल प्रहरी चौकी र सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका ब्यारेक भवन निर्माणका लागि आवश्यक काठ संकलन गरी प्रयोग गर्न अनुमति प्रदान गरेको छ ।