कांग्रेस महाधिवेशन : धर्ना र नाराबाजीसँगै विवाद झांगियो - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

कांग्रेस महाधिवेशन : धर्ना र नाराबाजीसँगै विवाद झांगियो


काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया चलिरहँदा क्रियाशील सदस्यता विवादले उग्र रुप लिंदै गएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा धर्ना र नाराबाजी जारी छ । केही जिल्लामा पनि धर्ना शुरु भएको छ ।

विवाद समाधान समितिले ९ बुँदे समझदारी गरी १३ जिल्लाको क्रियाशील सदस्यता समाधान भएको दावी गरे पनि सानेपाको धर्ना टुंगिएको छैन् । सानेपामा धर्नामा बसेका कार्यकर्ताहरुले विहीबार नाराबाजी नै गरेका छन् । उनीहरुले नेतृत्वको चर्को आलोचना गरे ।

क्रियाशील सदस्यता विवादका कारण धर्नामा रहेका सर्लाहीका नेता कार्यकर्ताहरुले नाराबाजी गरेका हुन् । उनीहरुले केन्द्रीय नेतृत्वको विरुद्धमा नारा लगाएका हुन् । सर्लाहीका प्रदेश सांसद तथा मन्त्री वीरेन्द्र सिंहले धर्नामा बसेकाहरुमाथि दुर्व्यवहार गरेको भन्दै आक्रोश पनि पोखेका छन् । धर्नामा ऐक्यवद्धता जनाउन कांग्रेस नेताहरु डा.शेखर कोइराला, प्रकाशमान सिंह, अमरेशकुमार सिंहलगायतका नेताहरु सानेपा पुगेका थिए ।

धर्नामा ऐक्यवद्धता जनाउँदै नेता डा।कोइरालाले पार्टी सभापति पक्षले पार्टी कब्जा गर्न लागेको आरोप लगाए । जिल्लामा नेताहरुले गुन्डागर्दी देखाएको उनको आरोप छ । ७५ वर्षे लामो इतिहासमा अहिलेसम्म कांग्रेसमा कहिल्यै यस्तो नभएको उनको दाबी छ। पार्टी कब्जा गर्ने हिसाबले जिल्ला जिल्लामा नेताहरुले गुण्डागर्दी देखाइरहनु भएको छ, यस्तो कांग्रेसका लागि कदापि स्वीकार्य हुँदैनन्’ उनले भने ।

गुण्डागर्दी तत्वलाई जिल्ला जिल्लामा परास्त गरिने उनले बताए । यस्ता गतिवधिलाई शान्तिपूर्ण आन्दोलनबाट पराजित गरिने डा।कोइरालाको दाबी थियो । त्यस्तै उनले सभापति शेरबहादुर देउवाको जिल्ला डडेलधुरामा प्रहरी प्रशासन लगाएर पार्टी कब्जा गर्न खोजिएको आरोप लगाए । नेता अमरेशकुमार सिंहले धाकधम्की र आक्रमण भए पनि आफूहरुले पार्टी कब्जा गर्न नदिने बताए । उनले भने, ‘पार्टी कब्जा गर्न दिँदैनौं नेपाली कांग्रेस दारूवाला, भट्टीवाला, ठेकेदारले बनाएको पार्टी हैन ।’

सानेपामा मात्र होइन सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका गृह जिल्ला डडेलधुराका कांग्रेस नेता तथा कार्यकर्ताहरू रिले अनशनमा बसेका छन् । धाँधलीपूर्ण तरिकाले क्रियाशील सदस्यता वितरण गरेर जबरजस्ती वडा अधिवेशन गराइएको भन्दै नेपाली काँग्रेस डडेलधुराको संस्थापन पक्षका नेता कार्यकर्ताहरू बिहीबारदेखि रिले अनशनमा बसेका हुन् ।

क्रियाशील सदस्यता विवादकै कारण प्रदेश नम्बर २ का ८ जिल्लासहित कैलाली, सुर्खेत, बाँके, रसुवा र डोल्पामा पछिल्लो पटक संशोधित कार्यतालिका अनुसार वडा अधिवेशन हुनसकेको छैन । कांग्रेसले विभिन्न चरणमा गरी ६४ जिल्लाममा वडाअधिवेशन सम्पन्न गरिसकेको छ । अन्य पार्टीबाट कांग्रेसमा समायोजन भएकाहरूलाई दिइएको क्रियाशील सदस्य र केन्द्रबाट सिधै क्रियाशील सदस्यता दिएपछि लामो समयदेखि विवाद छ ।

यता, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित क्रियाशील सदस्यता विवाद समाधान समितिले विवाद भएका क्षेत्रमा १३औं महाधिवेशनकै बेलाको क्रियाशील सदस्यबाट वडा अधिवेशन गर्ने सहमति गरिसकेको छ ।

सहमतिअनुसार बाँकी रहेका क्षेत्रको विवाद, केन्द्रीय सदस्यहरू आनन्द ढुंगाना, जीवन परियार र योगेन्द्र चौधरीको सहयोग लिएर केन्द्रीय कार्यालयबाट गर्ने सहमति पत्रमा उल्लेख छ । ९ बुँदे सहमति र निर्देशन अनुसार विवाद मिलाउन केन्द्रीय सदस्य त्रयको पटक–पटकको प्रयास सफल हुन सकेको छैन ।

कांग्रेसले यसअघि महाधिवेशनअन्तर्गत गाउँ–नगरपालिका अधिवेशन ९ असोज, प्रदेशसभा क्षेत्रीय अधिवेशन १२ असोज र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन–एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १५ असोजका लागि तय गरेको छ । त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १८ असोज, प्रदेश अधिवेशन १० देखि १२ कात्तिक र केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मंसिरसम्म तय गरेको छ ।

"