कांग्रेस महाधिवेशन पछि धकेल्ने गरी जिल्ला अधिवेशनको तालिका ! - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

कांग्रेस महाधिवेशन पछि धकेल्ने गरी जिल्ला अधिवेशनको तालिका !


काठमाडौं । नेपाली कांग्रेसले १४औं महाधिवेशनअन्तर्गत जिल्लाहरुको अधिवेशन मिति केही हेरफेर गरेको छ । विहीबार साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले हिमाली जिल्लाहरुमा दसैं अघि र दसैंपछि अन्य जिल्लामा अधिवेशन गर्ने निर्णय गरेको हो।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार कार्तिकमा हिउँ पर्ने र जाडो शुरु हुने भएकाले हिमाली जिल्लाहरुमा दशैं अगावै अधिवेशन सम्पन्न गर्ने निर्णय भएको हो । तर क्रियाशील सदस्यता नटुंगिएका हिमाली जिल्लामा भने दशैंपछि मात्र जिल्ला अधिवेशन हुनेछ ।

क्रियाशील विवाद रहेका १३ जिल्लाको हकमा छिट्टै क्रियाशीलको नामावली सार्बजनिक गरेर दशैं अगाडी नै वडा अधिवेशन सक्ने गरी कार्य अगाडी वढाईएको संयोजक यादबले जानकारी दिए । कांग्रेसले हिमाली जिल्लाको सूचीमा ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ,डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, गोरखासहित २१ जिल्ला राखेको छ ।

यसअघि नै वडा अधिवेशन सम्पन्न भएका जिल्लामा भने तोकिएकै मितिमा पालिका अधिवेशन गर्ने निर्णय भएको छ । क्षेत्रीय र जिल्ला अधिवेशनको हकमा निर्वाचन समितिले नयाँ तालिका सार्बजनिक गर्नेछ ।

तर जिल्लाको अधिवेशन सकिएपछि प्रदेशको अधिवेशन गर्नुपर्ने भएकाले महाधिवेशनको मिति केही पछि धकेलिने हो कि भन्ने आशंका पनि पैदा भएको छ । केन्द्रीय महाधिवेशनको मिति प्रभावित हुन्छ कि ? भन्ने प्रश्नमा संयोजक यादवले त्यहाँसम्म अहिले नै सोचिनसकेको जवाफ दिए । उनले भने,‘केन्द्रीय महाधिवेशन प्रभावित नहोस भन्ने हाम्रो लक्ष्य हो । बीचमा अरु कुनै डिस्टर्ब हुँदैन भन्ने लागेको छ ।’

हाल प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरिएको छ । तर निर्वाचन समितिका सदस्यहरुले प्रदेश अधिवेशन र महाधिवेशनको कार्यतालिका हेरफेर हुनसक्ने संकेत गरेका छन् ।

कांग्रेसमा ६४ जिल्लाको वडा अधिवेशन सम्पन्न भइसकेको छ । यसअघि कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार ९ असोजमा स्थानीय तहको अधिवेशन, १२ असोजमा प्रदेश सभा निर्वाचन क्षेत्र, १५ असोजमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र १८ असोजमा जिल्ला अधिवेशन गर्ने गरी तालिका सार्वजनिक गरेको थियो ।