संगठनलाई बिचार र भावनाले तान्न सक्नुपर्दछ - रुपान्तरण
 २०७८ कार्तिक ४, बिहीबार    

संगठनलाई बिचार र भावनाले तान्न सक्नुपर्दछ

बीपी, कांग्रेस र समाजवादबारे प्रदीप गिरिसंग किशोर नेपालको वार्ता


जनताले नेपाली कांग्रेसलाई बीपी कोइरालाको पार्टी भनेर चिन्ने गरेका छन । यो पार्टीमाअहिले सांगठनिक शक्ति, मूल्य-मान्यता र संचालन पध्दतिका सम्बन्धमा चर्को विवाद रहेकोछ । सन्दर्भमा, बीपीको सांगठनिक नेतृत्वको स्मरण कसरी गर्न चाहनु हुन्छ ?

नेपालमा वीपी कोइरालाको देवत्वकरण हुन थालेकोछ । उहाँलाई महानायकको स्थानमा राख्न थालिएकोछ ।त्यसो त, उहाँको जीवनकालमा नै उहाँलाई महामानवको विभूषणले विभूषित गरिएको थियो । त्यसैले, उहाँको प्रशंसा गर्दा कतै अतिशयोक्ति त हुँदैन ? भन्ने सन्दर्भ आउँछ । हामी त्यसका प्रति सजग रहनुपर्छ । यसमा कुनै शंका छैन–बीपी बीशौं शताब्दीको सबैभन्दा अग्लो व्यक्तित्व, टावरिङ पर्सोन्यालिटी, हुनुहुन्थ्यो । अग्लो यस अर्थमा कि, राजा महेन्द्रको व्यक्तित्वको उचाई पनि कम थिएन । तर उहाँ जनाभिमुख भएकोले र उहाँले अत्यन्त विपरित परिस्थितिमा नेपालमा राजनीतिक संगठन जोगाउन सफलता प्राप्त गरेको हुनाले उहाँका धेरै गुणहरुलाई सम्झनु पर्छ । सबैभन्दा ठूलो कुरो त उहाँको व्यक्तित्व नै हो । संघर्षशील र कहिल्यै नझुक्ने व्यक्तित्व । उहाँले वैचारिक क्षेत्रमा सधैँ हस्तक्षेप गर्नुभयो । आफ्नो गतिशील व्यक्तित्व र वैचारिक उर्वरताले उहाँको संगठन क्षमतालाई प्रभावित गर्‍यो । संगठन भनेको यसो दुईचारजना मानिस जम्मा गर्ने मात्रै होइन । संगठनलाई तान्न सक्नुपर्छ विचारले, भावनाले ।

बीपी कदाचित पहिलो राजनेता हुनुहुन्थ्यो जसले मेचीदेखि महाकाली सम्म घुमेर, आफ्नो सन्देश जनताको घरदैलोमा पुर्‍याउनु भयो । उहाँको देखासिकी नै भनौं, वा के भनौं, राजा महेन्द्रले पनि त्यो काम गरे । राजा महेन्द्रले त्यसको ठूलो प्रतिफल पाए । एक्लो बीपी नेपाली काँग्रेसको प्रमुख विचारक, भावप्रणेता र कल्पनाशील नेता हुनुहुन्थ्यो । त्यसैले उहाँ आज देवत्वकरणको ठाउँमा पुग्नु भएको छ । यस्तो देवत्वकरण, यद्यपि, राम्रो चाहीं होइन ।

पार्टीभित्र अहिलेको गूटबन्दीलाई हेरेर नेपाली काँग्रेसप्रति जनताको आशा र भरोसा क्षीण हुन थालेकोछ । तपाई आफनो पार्टीको यो अवस्थाको मूल्यांकन वा बिश्लेषण कसरी गर्न चाहनुहुन्छ ?

हो, नेपाली काँग्रेसमा अहिलो थुप्रै कमजोरी देखिएका छन । प्रतिनिधि सभाका लागि भएको गत आमनिर्वाचनमा मुस्किलले २५ सिटमा सीमित हुनुबाट नै हाम्रो पार्टीको कमजोरी थाह भै हाल्दछ । यसका स्पष्टिकरण धेरै होलान : यता, एमाले र माओवादी मिले । निर्वाचनमा मधेसवादी दलहरुसँग एकता हुन सकेन । भन्नका लागि जे भने पनि भयो । सत्य यही हो कि कांग्रेसको नराम्रोसंग हार भयो । कुनै पनि स्पष्टिकरणले निर्वाचनमा काँग्रेस नराम्ररी हारेको कुराको खण्डन गर्न सक्दैन। काँग्रेसलाई काँग्रेसले हरायो भन्ने आवाज बडो जोडदार छ । काँग्रेसलाई काँग्रेसले हरायो । गोविन्दराज जोशी र पुष्करनाथ ओझालाई वलीको बोका बनाए नेता द्वयले । उनीहरुले यसैमा चित्त बुझाएका छन ।

कुरा त्यति सजिलो छैन । कुनै पनि राजनीतिक पार्टीको निर्माण एउटा खास सामाजिक प्रक्रियाबाट हुन्छ । समाजभित्र सत्ता संघर्ष हुन्छ । हामीले पार्टी बनायौं, कम्युनिस्टसँग संघर्ष भयो, राजासँग संघर्ष भयो । त्यही प्रकृयाबाट पार्टीभित्र पनि संघर्ष हुन्छ । पार्टी भित्र पनि सत्ता चाहियो नि त, साधन र सम्पदा चाहियो । नेपाली काँग्रेसको संसदीय दलको नेता हुनुभनेको उसले मनोनीत गरेका कतिपय मान्छेले साधन स्रोत र सुविधा पाउनु हो । मुख्य सचेतकले गाडी पाउँछ,सुविधा सम्पन्न कार्यालय पाउँछ । उसले दुईचार जना कर्मचारी नियुक्तिगर्न पनि पाउँछ ।

अन्य कतिपय पदमा भागवण्डा पाइन्छ । पार्टीका विभिन्न मानिसका बीच मैले वा मेरापक्षकाले कुन पद पाउने भन्ने कुरा भैरहन्छ । पार्टीमा गुटहुनु नयाँ कुरा हुँदै होइन । संसारमा कुनै पनि राजनीतिक पार्टीमा गूट नभएको कल्पना नै हुँदैन । चाहे बेलायतको, अमेरिकाको अथवा भारतकै पार्टीको कुरा गर्नुहोस । नेपाली काँग्रेस पार्टीको स्थापनाकाल देखिको आजसम्मको इतिहास हेर्नुहोस् । वीपी कोइराला स्वयमले आफ्नो राजनीतिक जीवनमा अनेकौ गुट बनाउँदै, गुट तोड्दै, गुट फोड्दै अगाडि बढ्नु भएको ऐतिहासिक यथार्थ छ । त्यसैले गुट भएर मात्र पार्टी हारेको होइन। मुख्य कुरो यो बुझ्नु पर्छ ।

गुट नभनेर तपाईं यसलाई गिरोह भन्नुहुन्छ । अघि, कुनै अर्कै प्रसंगमा, म संग त्यसै भन्नु भएको थियो । काँग्रेस पार्टीमा अहिले गिरोह हावी छ । होइन ?

हो । यो बुनियादी प्रश्न हो । राजनीतिक पार्टीलाई माया गर्ने प्रत्येक व्यक्तिले र पार्टीको भविष्यका बारेमा चिन्तित प्रत्येक कार्यकर्ताले सोच्नुपर्ने कुरो हो । गुट भनेको के हो र गिरोह भनेको के हो ? यो बडो महत्वपूर्ण कुरा छ । पहिले हामी गुटको सकारात्मक पक्षमा जाऔं ।

राजनीतिक पार्टीमा संघर्षका समयमा र सत्ताका समयमा एकनासले गुट चल्दैनन । संघर्षका समयमा जोडदार गुट बन्छ । राजा महेन्द्रले पौष १ गते २०१७ सालमा जसरी काण्ड गराए, त्यसको सामना कसरीगर्ने भन्ने कुरा शुरु भयो । सूर्यप्रसाद उपाध्यायले, बिल्कुलै प्रारम्भमै, जेल गएर पनि साध्य छैन, हिन्दुस्तान गएर पनि साध्य छैन भन्नु भएको थियो । सूर्यबाबुलाई तपाईंले पनि चिन्नु हुन्थ्यो र मैंले पनि चिन्थे । सुवर्णजीले हिन्दुस्तान गएर सशस्त्र क्रान्ति गर्न खोज्नुभो । वीपी जेलमै हुनुहुन्थ्यो । सुवर्णजी बाहिर बसेर देशभित्र संघर्ष कसरी गर्ने भनेर बोधप्रसाद उपाध्याय, महेन्द्रनारायण निधि जस्ता नेताले हिन्दुस्तानमा नबसौं बरु देशभित्रै गएर जेल बसौं भने । नेपाली कांग्रेसको पटना अधिवेशनमा सामेल भएर महेन्द्रनारायण निधिले आफनो मतभेद राख्नुभयो । उहाँ नेपाल आएर जेल पर्नुभो ।

कुनै समयमा, एउटा बिल्कुलै अर्कै खालको परिस्थितिमा, यही नेपालमा, एकजना अमेरिकी कुटनीतिज्ञजेम्स मोरियार्टीेले भनेका थिए–घर जलिरहेको छ, भत्किरहेको छ, ढल्दै गरेकाछे । घरका मालिकहरुआफूले मास्टर बेडरुम पाउनु पर्छभनेर कराइ रहेका छन । यिनीहरु कोठाका लागि झगडा गर्दैछन । मोरियार्टीले त्यतिबेलाको नेपालको अवस्थाका बारेमा यस्तो टिप्पणी गरेका थिए । अहिले काँग्रेस पार्टीको बारेमा यो सटिक टिप्पणी ठहरिनेछ । काँग्रेसको भवितव्य नहेरिआफ्नो कोठाको रक्षागर्न खोज्नेलाई गुट होइन, गिरोह भनिन्छ । त्यही गिरोहले आज पार्टी चलाएको छ ।

भनेपछि, आज देखिएका सबै नेताहरु गिरोहपतिहरु हुन त?

करिव करिव सबै । देखिएका नेताहरु मध्ये केही अपवाद होलान । मुख्यतः हाम्रा प्रमुख नेताहरुको यहाँ नाम लिनु उचित हुँदैन । त्यो शिष्टाचार पनि होइन । उनीहरु गुटपतिभन्दा पनि गिरोहपति छन् । यो भन्दा म आफैं लज्जित छु ।

वीपी कोइरालाको आचार्य नरेन्द्रदेव, जयप्रकाश नारायण, लोहियाजस्ता नेताहरुसँग संगत थियो । जवाहरलाल नेहरुजस्ता नेतासम्म पहुँच थियो । फेरि, कुन अभिप्रेरणाले उहाँ नेपाल फर्किएर राजनीति गर्न थाल्नुभो ?

यो तपाईंले बडो सही प्रश्न उठाउनुभो । अहिले नेपाल र भारतका बीचमा जस्तो मनस्थितिछ, मानौं कि, भारत र हाम्रा बीचमा अभेद्य पर्खाल लागि सकेको छ जस्तो । त्यस्तो पर्खाल नै त लागेको छैन नि । काव्यात्मक अभिव्यक्तिमा यसको अनुवाद गर्ने हो भनेसीमा विवादको नाममा दुइ देश बीचको जमिनको धाँजा नै फाटेकोआभाश दिइएकोछ । एउटा जमाना यस्तो पनि थियो भारतका कविहरुले नेपाली विद्यार्थीलाई सम्बोधन गरेर लेख्थे-सीमा के नाम मे अगर जमिन फट गइ है, आओ आपने नसे उधेड के उसे सी देना है । त्यस्तो प्रेमपूर्ण वातावरण थियो । त्यतिबेला वीपी कोइरालाधेरै जसो पटनामा बस्नु हुन्थ्यो । घर विराटनगरमा थियो । बाल्यकालमा पढाई–लेखाई बनारसमा भएको थियो । बनारसभन्दा पहिले भागलपुरकोटेडीमा हुनुहुन्थ्यो । उहाँले ‘आफ्नो कथा’मा बाल्यकालीन जीवनको वर्णन गर्नुभएको छ । नरेन्द्र दाइ उपन्यासको कथा सत्य घटनामा आधारित छ । कथाकारले कुनै घटनाको बारेमा लेख्दा कल्पना त थप्छ नै । नरेन्द्रदाइ गाउँको एउटी सेविकासंग प्रेम गरेर हिडेका थिए । त्यो सत्य घटनालाई उहाँले कथाको रुप दिनु भएको छ । बनारसको जन्म, टेडीमा बितेको बाल्यकाल, बनारसको पढाई, दार्जिलिङ्ग र पटनामा वकालता पटनामा प्रवास र पटनामै जेल ।

त्यतिबेला वीपी भारतमा बिल्कुलै समादृत र स्वीकृत हुनुहुन्थ्यो । तपाईंलाई सोचेर बडो आश्चर्य लाग्ला, गणेशमानजीले मेरो काका रुद्रप्रसाद गिरिलाई लेखेको एउटा पत्रमा लेख्नु भएकोछ-गिरिजी, यो डिल्लीरमण रेग्मीले वीपीलाई धेरै दुःख दियो भने, उहाँलाई भारतका ठूलठूला नेताहरुले राजदूत बन्न भनिरहेका छन । उहाँ राजदूत बनेर लण्डन गैदिन बेर छैन । त्यसैले वीपीलाई हामीले फकाई फुल्याई हाम्रो नेता बनाई राख्नु पर्छ । यो प्रसंग गृष्मबहादुर देवकोटाको नेपालको राजनीतिक दर्पणमा छ ।

त्यतिबेला भारत र नेपालका बीचमा कता लाग्ने भन्ने इस्सू नै थिएन । बीपी बिहारमा पनि स्वीकृत हुनुहुन्थ्यो र भारतमा पनि । बिहारको सोशलिस्ट काँग्रेस पार्टीमा आफूले केही दिन काम गरेको कुरा उहाँले यत्रतत्र लेख्नु भएको छ ।आज नेपाल र भारत सम्बन्धलाई विशाल वितण्डा बनाइएको छ । त्यतिबेला यस्तो कसैले सोच्नै सक्दैनथे । वीपी ३० अक्टोबर १९६८ का दिन सुन्दरीजल कारागारबाट, राजा महेन्द्रको निगाहमा, रिहा हुनुभयो । त्यसबेला प्रधानमन्त्री भएका सूर्यबहादुर थापाले आफनो डायरीमा लेखेका छन् : राजा महेन्द्र धरमरमा थिए बीपीका बारेमा । कहिले छोड्ने, कहिले नछोड्ने। सूर्यप्रसादले बीपीको जिम्मा लिएपछि वीपीलाई छोडेको भन्ने किटेर लेखेका छन् सूर्यबहादुरले । वीपीको आत्मकथामा यसको वास्तविक प्रस्तुति छैन ।

वीपी छुटेर भारत पुग्नुभएपछि दुई–तीन महिना यताउता जानुभयो । सुवर्णजीसँग लगातार सम्पर्कमा हुनुहुन्थ्यो । सुवर्णजी राजा महेन्द्रप्रतिविलकुलै विश्वस्त हुनुहुन्नथ्यो । सुवर्णजी राजासँग विश्वस्त नभएर पनि केगर्ने ? भारतले उथलपुथल गर्न दिदैन भन्ने कुरा उहाँले गणेशमानजीलाई पनि भन्नुभएको थियो । भारतले २०१८ सालको विद्रोहमा बल्लबल्ल २६ थान राइफल दिएको थियो । त्यो पनि कत्रो प्रयासपछि । बीपी हिन्दुस्तानमा बस्ता निकै अप्ठयारो अवस्थामा हुनुहुन्थ्यो । खास गरिकन सुवर्ण शमशेरसँग सम्बन्ध सिद्धिएपछि उहाँ झन अप्ठयारो अवस्थामा पर्नुभयो । त्यही बेला पुग्नुभयो गिरिजाप्रसाद कोइराला र सरोज कोइराला । यसमा अध्ययन भएको छैन । गणेशमानजीको थुप्रो टिप्पणी छ । स्वयं वीपीका बयान छन् । आत्म–वृत्तान्त छ । धेरै टाढा जानै पर्दैन । यहाँसम्म कि बंगलादेशको परिघटना पनि वीपीको आत्म–वृत्तान्तमा छ ।

कुनै पनि एउटा परिश्रमी र विवेकशीलअध्येताले वीपीको आत्मवृत्तान्त दोहोर्‍याएर पढ्यो भने, गणेशमानजीका टिप्पणी र अन्तर्वार्ता पढ्यो भने सामान्य अध्ययन गर्‍यो भने र टिम्बुरबोटे काण्डका बारेमा पढ्यो भने बीपीको अवस्था कस्तो खतरनाक र अप्ठयारो थियो थाहहुन्छ । आफ्ना कतिपय मान्यतालाई स्थापित गराउने, पार्टीभित्र र पार्टी बाहिर आफ्नो व्यक्तित्वलाई पुनस्र्थापित गराउनुपर्ने, पार्टी पुनस्र्थापित गराउनुपर्ने । त्यो पनि अत्यन्त प्रतिकूल परिस्थितिमा ।

वीपीको जीवनको एकदम ठूलो घटना ओखलढुंगा काण्ड हो । ओखलढुंगा काण्ड भयो डिसेम्बर १९७४ मा । त्यही समयमा राजा बीरेन्द्रको राज्याभिषेक भयो । युरोप, अमेरिका, भारत, पाकिस्तानका ठूला नेताहरु आए राज्याभिषेकमा सरीक हुन । कसैले हाम्रो देशको बारेमा कुरा उठायो ?हाम्रा इतिहासकारहरु यस्ताकुरामा ध्यान दिँदैनन् । विश्लेषणका लागि तथ्य त चाहियो नि । भारत सरकारले बीपीको मान्यताका आधारमा नीति बनाएको देखिंदैन । यथार्थ बुझ्नुपर्‍यो नि हामीले । उल्टै भारत सरकारले नीति बनायो,‘अब वीपी यहाँ बस्नु उचित छैन । यिनी जयप्रकाशतिर ढल्केका छन् । यिनलाई नेपाल नै पठाउनुपर्छ ।’ भारतका तत्कालीन राजदूत महाराजकृष्ण रस गोत्राको आत्मकथालाई आधार बनाएर मैले कान्तिपुरमा लामो लेख लेखेको छु-वीपीको प्रत्यागमनको अर्को कथा । उहाँका ती आठ वर्ष भन्नुहुन्छ भने, एक प्रकारले, राजनीतिक दृष्टिकोणले व्यर्थजस्ता भएका थिए । उहाँ नेपाल फर्किदा आठ वर्ष बितिसकेको थियो । उहाँ आउँदा हलचल भएको थियो । त्यसमा कुनै शंका छैन । तर त्यो हलचल र हिन्दुस्तानमा बस्दाखेरिका उहाँको गतिविधिलाई बुझ्दा राम्रो स्थिति थिएन । यहाँ मुख्यकुरो पञ्चायत व्यवस्थाको अन्तरविरोध नै थियो । यो हाम्रो इतिहाससँग जोडिएको छ ।

मैंले यो प्रश्न किन सोधेको हो भने उहाँ बनारसमा बस्दा यहाँबाट मान्छेहरु उहाँलाई भेट्न जान्थे । नेपालमा आन्दोलन भयो भने कि मामुरगञ्ज कि सारनाथ नै पुग्थे । त्यहाँ पुगेर सल्लाह लिन्थे, आशीर्वाद लिन्थे, अनि आउँथे । तपाईं बनारसमै बस्नुभयो । ती सबै नेताहरु यहाँ आउँथे र आन्दोलन पनि अघि बढदथ्यो ।

वीपी कोइराला त्यहाँ बसेर तपाईंलाई के भन्नुभयो, अथवा शेरबहादुरलाई के भन्नुभयो अथवा मलाई के भन्नुभयो त्यसले कुनै अर्थ राख्दैन । त्यहाँ सुवर्ण शमशेरजीले नेपाली कांग्रेसको कार्यालय चलाउनु भएको थियो । जहाँ अच्युतराज थिए, काशीनाथ थिए, परशुनारायण थिए । तपाईं ती दस्तावेजहरु पढ्नुहोस् । परशुनारायणले लगातार चिठीपत्र लेखिराख्नुहुन्थ्यो सुवर्णजीलाई । विधिवत रुपमा पार्टी चलिराखेको थियो । पछि काशीनाथ बखानसिंहहरुले छोडे । तपाईं पत्रकारिता गरिनै राख्नुभएको थियो । जेल जानैपर्ने स्थिति थियो । तपाईं प्रजातन्त्र चाहनुहुन्थ्यो । अकाट्य रुपमा चाहनुहुन्थ्यो । आफ्नो जीवन हत्केलामा लिएर हिंड्नुभएको थियो । तर वीपीको त्यो आह्वानले मात्रै तपाईंको राजनीति चलेको थिएन । यहाँ एउटा बडो जाग्रत समूह प्रजातन्त्रको लागि लडिरहेको थियो । रामराजासिंहले चुनाव लडेर तहल्का मचाउनुभयो । उहाँ वीपीको आशीर्वादले लड्नुभएको थिएन । मैले के भन्न खोजेको हो भने, वीपी निश्चय नै नेपालको सर्वाधिक अग्लो व्यक्तित्व (टावरिङपर्सोनालिटी) हुनुहुन्थ्यो । तर, नेपालभित्र जुन किसिमको घटनाक्रम थियो त्यो वीपीको प्रभावमा मात्रै चलिरहेको थिएन ।

राजा महेन्द्र गद्दीमा आए । बीपीलाई बिस्थापित गरे । नेपालको आधुनिकीकरण शुरु भएको थियो बीपीको पालामा । रोड बन्दैथियो । विद्यालय बन्दै थियो । भूमिसुधार हुँदैथियो । सबैकुरा वीपीकै पालामा शुरु भइसकेको थियो । प्रजातन्त्रको पक्षमा नेपालमा एउटा नयाँवर्गको उदय भएको थियो । मनुष्य मनुष्य बीचको सम्बन्ध बदलिइरहेको थियो । यसले गर्दा प्रजातन्त्रको पक्षमा वीपीको नीति झन् बलियो भएको थियो । यो बुझ्नु महत्वपूर्ण छ । प्रजातन्त्रको त्यो पक्षले रामराजा सिंहलाई चुनाव लडाएर जिताइदिन्थ्यो । रामराजाप्रसादको विजय सानो कुरो थिएन । नानीमैयालाई चुनाव जिताइदिन्थ्यो । पञ्चायती व्यवस्थाप्रति वितृष्णा पैदा भइरहेको थियो । वितृष्णाका पिता को थिए ? स्वयं राजा महेन्द्र । स्वयं राजा वीरेन्द्र । त्यसबेला आधुनिकीकरण भइरहेको थियो । स्कुल खुलिरहेको थियो कारखाना संचालन भइरहेको थियो । सञ्चार क्रान्ति भइरहेको थियो ।

किशुनजी सुन्दरीजलबाट छुट्नु भयो । उहाँ हिन्दुस्तान नगएर छिडीमा बस्नु भयो । त्यस्तो अवस्थामा किशुनजीले कसरी आपूmलाई नियन्त्रण गर्नुभयो । किशुनजीले दुःख पाएको । परशुनारायण चौधरीलगायतले दुःख पाएको । विभिन्न मान्छेले दुःख पाएको । वीरबहादुरदेखि लिएर बद्रीराम भण्डारीसम्मले दुःख पाएको बिर्सन सकिन्छ ? यी सबैका प्रतीकका रुपमा रहेका छन आज वीपी कोइराला, किशुनजी, गणेशमानजी । नेपालको समाजले संघर्ष गरेको छ । संघर्षको जगलाई कसैले देख्दैन । गजुरलाई मात्र देख्छन् सबैले । वीपी अथवा सुवर्ण अथवा गणेशमान अथवा किशुनजीको इतिहासलाई हेर्ने, त्यो हाम्रो व्यक्तिवादी नजरिया हो ।

त्यसोभए, काँग्रेसमा बीपी कोईरालाको हस्तक्षेपकारी भूमिका अब समाप्त हुँदै गएको हो ?

पटक्कै होइन । अचम्मको बिडम्बना हुन्छ इतिहासको। कार्ल माक्र्सको देहान्त हुँदा औंलामा गन्न सकिने दश वा बाह्र जना मान्छेले मात्र थाहा पाए – माक्र्स भन्ने एकजना ठूला मान्छे मरे । चिहानमातेह्र जना जम्मा थिए भन्ने रेकर्ड छ । भोलीपल्ट अखवारमा एउटा स्यानो खबर छापियोः कार्ल माक्र्सको अन्त्येष्टिमा बाह्र/तेह्र जना जम्मा भएका थिए । जिसस मर्दा त्यस्तै थियो । उनका साथीहरुको भागाभाग थियो । अन्तमा उनको लाश निकाल्दाखेरी त दुईजना महिलामात्रै थिए । उनको सबभन्दा नजीकको साथी पनि भाग्यो । भागेको मात्रै होइन, अलि टाढा पुगेपछि एकजनाले उसलाई तँ जिसस कहाँबाट आएको होस ? भनेर सोध्दा ओहो, हैन हैैन भनेर उम्कियो पनि । यो कथा आउँछ, बाईबिलमा । त्यसपछि समय बित्दै गयो । जिसस झन झन महत्वपूर्ण हुँदै गए। कार्ल माक्र्स पनि झन झन महत्वपूर्ण हुँदै गए । बीपी एउटा त्यस्तो मनुष्य हुनुहुन्थ्यो, जसलेआफनो समयमा धेरै कामगर्ने मौका पाउनु भएन । किन पाउनु् भएन ? आफ्नो मान्यताले पाउनु भएन वा तत्कालीन परिस्थितिले पाउनु भएन । अब जति सयम बित्दै जान्छ, नेपाली समाजमा होईन कि विश्वमा बीपीको महत्व बढदै जान्छ यसमा बिलकुल ढुक्क छु म ।

उहाँको महत्व बढनु पर्ने कारण चाहिं के होला ?

हो, यो सबैभन्दा ठूलो कुरा हो । समाजवादको एउटै परम्परा छैन । समाजवादको एउटा परम्परा यूरोपबाट शुरु भयो । बेलायत, जर्मनी र फ्रान्सबाट । उनीहरुले के देखे भने बेलायत, जर्मनी र फ्रान्स तीनवटै अत्यन्त उच्चकोटीको औद्योगिक उचाईमा पुगेका देश थिए । उच्च औद्योगिक उचाईमा पुगेको नाताले ती देशले के भने भने ल ल गरिबले धेरै दुःख पाए, यिनीहरुलाई राहतको उपाय गरिदिनु पर्‍यो । माक्र्सले भने, होईन यसरी कसरी हु्न्छ ? राहत बाँडेर साध्य लाग्छ कहिँ ? माक्र्सले भने बर्ग संघर्ष हुनुपर्छ । मजदुरबर्गको हातमा सारा सत्ता आउनु पर्छ र उसैको तानाशाही हुनुपर्छ । कार्ल माक्र्सको हृदयमा मजदुरबर्गप्रति सहानुभूति र ऐक्यबद्धता थियो ।

त्यो समाजवाद यहाँ लागू हुँदैन, एसियामा । नेपालमा लागू हुँदैन । भारतमा पनि लागू हुँदैन । किनभने हामीकहाँ उत्पादकत्व नै छैन । तपाईँ बाँच्न चाहने नर्वे, स्वीडेन, स्वीटजरल्याण्ड, सिँगापुर जस्तै । त्यसका लागि साधन कति छ तपाईंसँग ?स्रोत कति छ तपाईँसँग ? अनि ठूलठूला धनराशि लगानीहुने ठूलठूला एयरपोर्ट बनाएर, बोईङ किनेर कमिशन खाने? ठूलठूला हाईड्रोईलेक्ट्रिक प्रोजेक्ट ल्याएर करोडौं कुम्ल्याउने? कटुसत्य छ कि छैन यो? अनि कोरोनाका सामान किन्दा पनि भ्रष्टाचार गर्ने, नोट छाप्दा पनि कमिशन खाने ?

आज नेपालको समाजवाद केमा आधारित हु्न्छ ? आजको नेपालको समाजवाद गान्धीले सिकाएको जीवन मूल्य जयप्रकाश नारायणले देखाएको बाटो र लोहियाको सैद्धान्तिक प्रस्तुतिमा आधारित हुन्छ । त्यो भनेको के हो ? बीपी प्रकारान्तरले भन्नुहुन्थ्यो – म चाहन्छु, राजाले मलाई सोधे भने कि, तिमीले के चाहेको हो ? बीपीले भन्नु भएको थियो: पन्ध्र वर्षमा मेरो जस्तै जीवन स्तरमा प्रत्येक नेपालीलाई पुरयाउन सकुँ । राजा महेन्द्रले के भनेका छन आफ्नो भाषणमा ? उनले भनेका छन:अरुले सयवर्षमा गरेको काम हामीले दशै वर्षमा गर्नु परेको छ । यो हो राजा महेन्द्रको भनाई । ती ‘अरु’ भनेका को हुन् ? जर्मनी, फ्रान्स, स्वीटजरल्याण्ड आदि । सौभाग्यबस बीपीले आफ्नो जीवनको आखिरी वर्षमा अरुले सयवर्ष लगाएर हिंडेको बाटोमा हिँडने बिचार गर्नु भएको छैन । बीचमा वहाँलाई पनि त्यो भ्रम थियो ।

बीपीले एउटा यस्तो समाजको सपना देख्नु भएको छ, जसलाई समाज मात्र भनेर सीमित दायरामा बाँध्न सकिँदैन । त्यो एउटा सभ्यता कै स्वरुपमा हो, नयाँ सभ्यता । जुन सभ्यता मितब्ययिता, सादगी, समानतामा आधारित छ । जुन सभ्यतामा सबैलाई आरामले सवारीको साधन त प्राप्त होस्, तर सबैले क्याडलकगाडी र ईम्पाला वा बिएमडब्लु वा मर्सिडिज राख्नुपर्छ भन्ने छैन । त्यसैले हामीसबैले यो मन्दामान्दै पनि कि ठीक छ, तपाईंको साथीले गाडी किन्यो, घोडा किन्यो, साततल्ले घर बनायो भन्दा मन चर्किन्छ । नेपाल यस्तो गरिब देश छ । मैले यो भौतिक पदार्थहरु ज्यादा प्रयोग गर्नु हुँदैन भन्ने कुरा सबैको मनमा उठनु पर्छ। किसुनजीमा त्यो सादगी थियो, गणेशमानजीमा त्यो सादगी थियो । आज जो भोगविलासमा आकण्ठ डुबेर घुस खाँदा पनि लाख र करोड हैन, अरबौं खाने सपना देख्दछन, यो बीपीको परिकल्पना भन्दा विपरीतको कुरा हो ।

हामी अहिले प्राकृतिक संसाधनको दोहन गर्दै छौं । हामी अन्धाधुन्ध जंगल फाडदैछौं । बीपीले भन्नु भयो, एयरपोर्टको के काम नेपालमा ? हेर्नुस् त, अहिले निजगढ एयरपोर्ट अरे । यसमा काँग्रेस पनि लागेको छ । अहिले यो निजगढको कुरा हाम्रो शेरबहादुरलाई भन्नुभयो भने वहाँले उल्टै भन्नुहोला ए, ओलीहरुले निजगढ बनाउँदै छन् । म त्यो भन्दा ठूला अरु दुईवटा बनाईदिन्छु । रामचन्द्रलाई सोध्नुभयो भने वहाँले म त पाँचवटा बनाईदिन्छु भन्नुहोला । यो प्रबृत्ति छ कि छैन ? भन्नुस् । हामी बुझ्दै नबुझीकन गलत दिशामा गईराखेका छौं । नेपालले कुनै पनि हालतमा पश्चिमी देशको जस्तो उत्पादनको प्रणाली स्वीकार गर्न सक्दैन । यो कुराको संकेत बीपीमा छ, वहाँको आखिरी वर्षमा । यो बीपीको सर्वाधिक दीर्घकालीन र चिरञ्जीवि योगदान हो समाजका लागि ।

समाजवाद भनेको नयाँ आर्थिक प्रणाली होईन । समाजवाद भनेको नयाँ किसिमबाट बाँच्ने तरिका हो । कसरी बाँच्ने त ? बीपीसँग उत्तर छ भन्दिन म । हामी हेरौं न । न गान्धीको चर्खा काम लाग्छ, न बीपीको गाई । तर, यहाँ डिजल र कोईलाको खानी खोजेर हुन्छ ?हिसाबगर्नुस त । को छ यहाँ अर्थशास्त्री ? बाबुरामसँग कुरा गर्ने कि रामशरणसँग ? के सोचेका छन् उनीहरुले नेपालका बारेमा ? नेपालमा बृद्धिदर बढाउने कामै छैन । नेपालमा सबै एकदिन सम्पन्न हुन्छ, अनि बाँडौला समृध्दि भन्ने कामै छैन । हामीले एउटा बैकल्पिक जीवन प्रणालीको प्रादुर्भाव, आत्मसात र अभ्यास गर्नु परेको छ । अहिले चितवनको दुधमा ठूलठूला कुरा नगरीकन पाउडर बनाउने हुन्छ नि, त्यस्ता उद्योग खोलेर भएपनि, हामीले त्यसदुधको सदुपयोग, सही उपयोग र अपरिहार्य उपभोगको बाटोमा जानु परेको छ, त्यसरी दूध पोखिएको हेर्न विवश हुनु हुँदैन ।

तपाईंले बीपी कोईरालाकोयो बैकल्पिक चिन्तनलाई ल्याएर अहिलेको काँग्रेससँग जोडनु भयो भने के होला ? के त्यो संभब छ ?

छैन, छैन । यसको कुनै सम्बन्ध नै छैन, काँग्रेससित । काँग्रेसमा वा काँग्रेससँग यसको सम्बन्ध छैन । काँग्रेसलाई त तै पनि, अलिकति हल्का, मिर्मिरे सपना देखेको सम्झना होला । माओवादीसंग त झन छैन । दुईवटै एउटै बाटोमा जाँदैछन। अनेकपटक मैले भनेको छु, यो बाटोमा नहिडनुस । यसैपल्ट पनि मैले संसदमा सबैले सुन्ने गरी भनेको होईन ? कि शहर बनाउने होइन, हजुर गाउँ बनाउने । मैले अर्थमन्त्रीलाई भनेको होइन ?यी अर्थमन्त्रीलाई मात्र भनेको छैन त, यस अघिका अर्थमन्त्री स्वनामधन्य रामशरण महतलाई पनि भनेको छु, बाबुराम भट्टराईलाई पनि भनेकोछु । शहर होइन, सुविधा सम्पन्न गाउँ बनाऔँ भनेकोछु । ‘प्रोभाईंडिंग अर्बन एमिनिटिज टु भिलेज’ भनेको छु । यो मैले मात्र भनेको होईन । बीपीले पनि यही कुरो हाम्रा बीच भनेर जानुभएको छ ।

 

"