सरकारी ढुकुटीमा चौधरी ग्रुपको १४ अर्ब २८ करोड रुपैयाँ योगदान ! - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

सरकारी ढुकुटीमा चौधरी ग्रुपको १४ अर्ब २८ करोड रुपैयाँ योगदान !


काठमाडौं । ठूला व्यापारिक घरानाहरुले कर छली गरेको चर्चा चलिरहेका बेला चौधरी ग्रुपले आर्थिक वर्ष २०७७(०७८ मा नेपाल सरकारको राजश्वमा १४ अर्ब २८ करोड रुपैयाँ योगदान गरेको तथ्याकं सार्वजनिक भएको छ । तर सरकारले चौधरी ग्रुपले कति राजश्व बुझाएको हो भन्ने बारेमा आधिकारिक तथ्यांक भने सार्वजनिक गरेको छैन् ।

कांग्रेस नेता एवम चर्चित उद्यमी विनोद चौधरी नेतृत्वमा सञ्चालित उद्यम व्यवसायबाट एक वर्षमा सरकारी ढुकुटीमा उक्त रकम योगदान भएको हो। पछिल्लो वर्ष नेपाल सरकारको कुल राजश्वमा चौधरी ग्रुपको योगदान १ दशमलव ७३ प्रतिशत रहेको छ। एउटा व्यापारिक समूहबाट सरकारको राजश्वमा भएको सम्भवतः यो सबैभन्दा ठुलो योगदान हो।

कोभिडका कारण विश्वव्यापी अर्थतन्त्र ओह्रालो लागेको, नेपालको समग्र अर्थतन्त्र शिथिल बनेको, निजी क्षेत्रद्वारा सञ्चालित उद्यम व्यवसायमा प्रत्यक्ष नकारात्मक असर परेको र आपूर्ति श्रृखंला अवरुद्ध भई व्यापारिक कारोबारमा व्यापक गिरावट आएको समयमा ग्रुपले सरकारी ढुकुटीमा उक्त रकम योगदान गरेको दाबी गरेको छ ।

कोभिडका कारण राष्ट्रिय अर्थतन्त्र नै सङ्कुचित भएको समयमा चौधरी ग्रुपले राजश्वमा गर्न सकेको उल्लेख्य योगदानको तथ्यले आफूलाई उत्साहित बनाएको विनोध चौधरीले प्रतिक्रिया दिएका छन् । विगत चार आर्थिक वर्षमा चौधरी ग्रुपले नेपाल सरकारको राजश्वमा ४५ अर्ब ५० करोड रुपैयाँ योगदान गरेको छ। चौधरी ग्रुप मातहत सञ्चालित कम्पनीहरूले उक्त योगदान गरेका हुन्। चौधरी ग्रुपले खाद्य पदार्थदेखि जलविद्युत् र वित्तीय क्षेत्रसम्म लगानी गरेको छ। यस ग्रुपका अध्यक्ष विनोद चौधरी नेपालमा एक मात्र डलर अर्ब पतिको सूचिमा रहेका छन्।

यसैबीच नेकपा )एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार एमाले केन्द्रीय कमिटी बैठकमा विश्वका अर्बपतिको सूचिमा रहेका तर नेपाल सरकारलाई कर बुझाउनेमा भने नाम नआउने भनी विनोद चौधरीलाई लक्षित गर्दै टिप्पणी गरेको भन्ने विषयमा ध्यानाकर्षण गराउँदा चौधरी ग्रुपका प्रवक्ता मधुसूदन पौडेलले यदि प्रधानमन्त्री भइसकेको व्यक्तिलाई यस विषयमा जानकारी नभएको हो भने त्योभन्दा दुःखद कुरा अरू के हुनसक्छ भनी प्रतिक्रिया दिए।

‘चौधरी ग्रुपले प्रत्येक वर्ष सरकारलाई बुझाएको करका बारेमा सार्वजनिक विज्ञप्तिमार्फत जानकारी गराउँदै आएको छ। र, नेपालमा सम्भवतः हामीले मात्रै पारदर्शी रूपमा करको विवरण सार्वजनिक गर्दै आएका छौँ’ प्रवक्ता पौडेलले भने, ‘हामी गर्वका साथ भन्न सक्छौँ कि नेपालमा सबैभन्दा धेरै लगानी विस्तार गर्ने र कर तिर्नेमा चौधरी ग्रुप रहेको छ।

कोभिड सङ्कटका बाबजुद पनि चौधरी ग्रुपको अब्बल व्यवस्थापनका कारण राष्ट्रिय ढुकुटीमा गर्व गर्न लायक योगदान गर्न सम्भव भएको छ।’ लगानी विस्तार, रोजगारी सृजना र विकास परियोजना कार्यान्वयन जस्ता राष्ट्रिय विकास एजेन्डाका बारेमा राजनीतिक पूर्वाग्रह त्याग्नु नै देशका लागि हितकर हुने सुझाव पनि पौडेलको छ। Photo:http://bwhotelier.businessworld.in

"