मनाङमा राष्ट्रपतिः स्याउ फार्मको अवलोकनपछि जलवायु परिवर्तनबारे चिन्ता - रुपान्तरण
 २०८१ बैशाख ११, मंगलबार    

मनाङमा राष्ट्रपतिः स्याउ फार्मको अवलोकनपछि जलवायु परिवर्तनबारे चिन्ता


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनमा नेपालको कुनै भूमिका नभए पनि नेपाल त्यसको मारमा परेको बताएकी छन् ।

सोमबार मनाङ पुग्नुभएकी राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङले एग्रो मनाङ प्रालिमार्फत् सञ्चालन गरेको नेपालकै सबैभन्दा ठूलो स्याउ फार्मको अवलोकनपश्चात् बोल्दै जलवायु परिवर्तन सामान्य परिवर्तन मात्रै नभएर संकटतर्फ गइराखेको बताइन ।
जलवायुलाई प्रतिकुल बनाउन नेपालको कुनै पनि भूमिका नरहेको उल्लेख गर्दै उनले विश्वका अन्य देशहरूले प्रकृतिको दोहन गरेका कारण भएको जलवायु परिवर्तनको असर भने नेपालले भोग्नुपरेको बताइन ।

उनले हालै बेलायतमा कोप २६ मा भाग लिन प्रधानमन्त्री देउवा पुग्नुभएको भन्दै देउवाले जलवायु परिवर्तनको सम्बन्धमा नेपालको विषयवस्तु उठाउने विश्वास व्यक्त गरिन । नेपालले विश्वका विभिन्न मञ्चहरुमा जलवायु अनुकुलन कार्यान्वयन गर्नका लागि आवाज उठाइरहेको पनि राष्ट्रपति भण्डारीले स्मरण गरिन् । उनले जलवायु अनुकुलनका लागि विश्व समुदायको ध्यान जानुपर्ने बताइन ।

विशेषगरी शक्ति राष्ट्रहरूको ध्यान जानु जरुरी रहे पनि नेपालले पनि वातावरण र पर्यावरणलाई अनुकूल पारिराख्नुपर्ने बताइन । कृषि प्रणालीमार्फत् हरियाली प्रवर्द्धन गर्नुपर्नेमा उनको जोड छ । राष्ट्रपति भण्डारीले कृषिप्रधान देश भएर पनि किनेर खानुपर्ने अवस्था लज्जाको विषय भएको भन्दै कृषिमा आत्मनिर्भर हुनुपर्ने बताइन । उनले जलवायु परिवर्तनको मारमा मनाङ जिल्ला परेको उल्लेख गर्दै बाढी, पहिरोका कारणले मनाङमा अपूरणीय क्षति भएको बताइन ।

भण्डारी हेलिकप्टरमार्फत सोमबार बिहान सवा ९ बजेतिर स्याउ बगैंचाको भ्रमण गर्न मनाङ पुगेकी हुन् । प्रतिनिधि सभामा मनाङबाट निर्वाचित एमाले सांसद पोल्देन छोपाङ गुरुङले स्थापना गर्नुभएको उक्त स्याउ बगैंचा दक्षिण एसियाकै सवैभन्दा ठूलो मानिएको छ ।

पोल्देन छोपाङका परिवार, संविधान सभा सदस्य डा.भीष्मनाथ अधिकारी, पोल्देनका भाइ त्रिपल पी गुरुङ, जनप्रतिनिधि, स्थानीयलगायतले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए ।

Photo Courtesy: Bikram Neupane