कोप-२६ सम्मेलन : देउवा भेटघाटमा व्यस्त - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

कोप-२६ सम्मेलन : देउवा भेटघाटमा व्यस्त


काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिच द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–२६)को लागि स्कटल्यान्डको ग्लासगो सहरमा रहेका दुवै राष्ट्र प्रमुख बिच मङ्गलवार भेटवार्ता भएको हो।

त्यस्तै देउवाले अन्य देशका नेताहरुसँग पनि भेट गरेका छन् । भेटमा प्रधानमन्त्री देउवाले नेपाललाई रासायनिक मलको आपूर्तिमा भारतले गरेको सहयोगको निरन्तरताका लागि आग्रह गरेका थिए । त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले आफ्नो देशको आवश्यकता ठानेर नेपाललाई सहयोग गर्छौ भनेका थिए ।

यसैगरी प्रधानमन्त्री देउवाले दक्षिणी पश्चिमी सिमाना नेपालगन्ज र महेन्द्रनगरबाट विमान प्रवेश बिन्दुको लागि स्वीकृति दिन भारतलाई आग्रह गरेका थिए । देउवाले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण, भूकम्पपछिको पुनः निर्माण, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा भारतले गरेको सहयोगलाई निरन्तरता दिन पनि आग्रह गरेका थिए । 

देउवासँग श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपाक्षेले भेटवार्ताको तयारी छ । यसैगरी संयुक्त अधिराज्यका रक्षामन्त्री, विश्व बैंक र आइएमओका पदाधिकारीले पनि प्रधानमन्त्री देउवासँग साइडलाइन बैठक गर्नेछन् । यसअघि सोमबार पनि प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदी बिच कोप–२६ सम्मेलनका बिच भेट भएको थियो ।

भेटका क्रममा बहुपक्षीय हितलगायतका विविध विषयमा कुराकानी भएको छ। सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी शुक्रबार राति संयुक्त अधिराज्य आएका थिए ।

अक्टोबर ३१ देखि संयुक्त अधिराज्यको ग्लास्गोमा सुरु भएको कोप–२६ नोभेम्बर १२ तारिखसम्म चल्नेछ । नेपाली प्रतिनिधिमण्डलमा वन तथा वातावारणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन सचिव डा पेमनारायण कँडेल, गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, अर्थ सचिव मधुकुमार मरासिनी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्की, शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदीलगायत अन्य उच्च अधिकारी, निजी सुरक्षा अधिकृत र सञ्चारकर्मीसहित २१ जना छन् ।

"

"