ओलीको आक्रोश: सत्तारुढ गठबन्ध लोकतन्त्रका भक्षक - रुपान्तरण
 २०८१ बैशाख २३, आईतबार    

ओलीको आक्रोश: सत्तारुढ गठबन्ध लोकतन्त्रका भक्षक


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालत आफूविरुद्ध प्रयोग भएको जिकिर गरेका छन् । उनले सेना र प्रहरी प्रयोग गर्न नसकिएपछि अदालत प्रयोग भएको दाबी गरे ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आफू सरकारमा हुँदा पनि अदालत आफ्नै विरुद्ध प्रयोग भयो भन्दै अदालतमार्फत प्रधानमन्त्री चयन गरिएको टिप्पणी गरे । उनले सत्तारुढ गठबन्धनलाई लोकतन्त्रका भक्षकको संज्ञा दिँदै उनीहरुलाई देश नभइ सत्ता चाहिएको जिकिर गरे ।

अध्यक्ष ओलीले ‘सोसल मिडिया वार’ मा सामेल हुनसमेत नेता कार्यकर्तालाई आग्रह गरे । उनले आफ्ना अभिव्यक्तिको गलत प्रयोग गरेको भन्दै टेलिभिजनको आलोचना गरे । आफूहरु नभएको भए २०१७ साल आइसक्थ्यो भन्दै अध्यक्ष ओलीले कसैले गलत कुरा लेख्यो भने त्यसको तल भरमार कमेन्टले धुलो झर्ने गरी सातो लिन कार्यकर्तालाई निर्देशन दिए ।

बाबुराम भट्टराई भूमिगत हुँदा पनि उनका छोराछोरी बेलायत कसरी पढेका थिए ? भन्दै उनले प्रश्न गरे । माओवादी नेताहरू भूमिगत हुँदा युरोप घुमेको अध्यक्ष ओलीको दाबी थियो । उनले आफूहरूको प्रहरी रेकर्ड खराब भएको भनेर पासपोर्ट नपाएको बेला विद्रोही नेता भने युरोप घुमेको जिकिर गरे । हाम्रो पुलिस रेकर्ड खराब, प्रचण्ड–बाबुरामको पुलिस रेकर्ड खराब थिएन ? अध्यक्ष ओलीको प्रश्न थियो ।