प्रदेश प्रमुखमा भागवण्डा : ३ प्रदेश प्रमुख नियुक्त - रुपान्तरण
 २०८१ बैशाख २३, आईतबार    

प्रदेश प्रमुखमा भागवण्डा : ३ प्रदेश प्रमुख नियुक्त


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा ३ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । १ नम्बर प्रदेशको प्रमुखमा परशुराम खापुङ्ग, कर्णाली प्रदेश प्रमुखमा तिलक परियार र सुदूरपश्चिम प्रदेश प्रमुखमा देवराज जोशीलाई नियुक्त गरिएको छ ।

मंगलवार राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८।७।२२ गतेको बैठकको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम देहायका व्यक्तिहरूलाई देहायको प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ ।’

प्रदेश १ मा अघिल्लो सरकारले नियुक्त गरेका सोमनाथ अधिकारी प्यासी प्रदेश प्रमुख थिए । यसैगरी कर्णाली प्रदेशमा प्रदेश प्रमुख रहेका गोविन्दप्रसाद कलौनीलाई २०७६ कात्तिकमा ओली सरकारले नियुक्त गरेको थियो ।

२०७४ माघ ३ तत्कालीन देउवा सरकारले दुर्गाकेशर खनाललाई कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी दिएको थियो । तर ओली सरकारले खनाललाई हटाएर कलौनीलाई नियुक्त गरेको थियो ।

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख रहेका गंगाप्रसाद यादवलाई ओली सरकारले ०७८ वैशाखमा प्रदेश प्रमुखका रुपमा पठाएकोमा तत्कालीन देउवा सरकारले सुदूरपश्चिम प्रदेश प्रमुखमा मोहनराज मल्ललाई नियुक्त गरेको थियो । तर २०७६ कात्तिकमा तत्कालीन ओली सरकारले मल्ललाई पदमुक्त गरी शर्मिला त्रिपाठीलाई नियुक्त गरेको थियो ।