महाधिवेशनमा होमियो कांग्रेस, तोकियो जिम्मेवारी - रुपान्तरण
 २०८१ बैशाख २२, शनिबार    

महाधिवेशनमा होमियो कांग्रेस, तोकियो जिम्मेवारी


काठमाडौं । कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशनका लागि नेपाली कांग्रेसले सातै प्रदेशमा संयोजक तोकेको छ । पार्टी सभापति शेरवहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको केन्द्रीय समिति बैठकले प्रदेश अधिवेशनका लागि संयोजक तोकेको हो ।

केन्द्रीय समितिको निर्णय अनुसार प्रदेश १ कृष्णप्रसाद सिटौला, प्रदेश २ रमेश रिजाल, बागमती प्रदेश प्रकाशमान सिंह, गण्डकी प्रदेश गोपालमान श्रेष्ठ, लुम्बिनी प्रदेश बालकृष्ण खाँण, कर्णाली प्रदेश जीवनबहादुर शाही र सुदरपश्चिममा दिलेन्द्रप्रसाद बडुलाई संयोजकको जिम्मेवारी दिइएको छ ।

बैठकले प्रदेश अधिवेशनको स्थान पनि तोकेको छ । जसअनुसार प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, बाग्मतीको हेटौडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदुरपश्चिमको धनगढीमा प्रदेश अधिवेशन हुनेछ । अधिवेशन गर्न बनाइएको समितिमा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, सांसद, प्रदेश संसदीय दलका नेता र स्थानीय तहका प्रमुख तथा उपप्रमुख प्रदेश सदस्य रहनेछन् ।

यस्तै, सभापति शेरबहादुर देउवाको संयोजकत्वमा केन्द्रीय महाधिवेशन मुल तयारी समिति गठन गरिएको छ । समितिमा केन्द्रीय सदस्य, सांसद, प्रदेश संसदीय दलका नेता लगायत सदस्य रहने कांग्रेसले जनाएको छ । महाधिवेशनका लागि अर्थ संकलन संयोजकको जिम्मेवारी ज्ञानेन्द्रबहादुर कार्कीलाई दिइएको छ ।

आवास तथा भोजन व्यवस्थापन समिति संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेलाई दिइएको छ । यस्तै विदेशी पाहुना स्वागतका लागि सहमहामन्त्री डा। प्रकाशशरण महतलाई जिम्मेवारी दिइएको छ । प्रचार संयोजकको जिम्मेवारी प्रवक्ता विश्वप्रकाश शर्मालाई दिइएको छ । मञ्च व्यवस्थापनको जिम्मेवारी काठमाडौ जिल्ला सभापतिको संयोजकत्वमा भक्तपुर र ललितपुरका जिल्ला सभापतिलाई दिएको छ ।

स्वास्थ्य संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलाई दिइएको छ । कांग्रेसको १४ औं महाधिवेशनमा नेतृत्व मात्र चयन हुनेभएको छ । यसअघिका महाधिवेशनमा विधान संशोधन प्रस्तावमा छलफल हुने गरेको भएपनि यो पटकको महाधिवेशनमा विधान संशोधन एजेण्डा नहुने कांग्रेसले जनाएको छ । महाधिवेशनपछि निर्वाचित कार्यसमितिले विधान अधिवेशन बोलाउने पदाधिकारी र पूर्वपदाधिकारीबीचको सहमतिको प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश भएको छ ।