देउवाकै गृह जिल्लामा कांग्रेसमा चरम विवाद, सानेपामा अनसन - रुपान्तरण
 २०८१ बैशाख २१, शुक्रबार    

देउवाकै गृह जिल्लामा कांग्रेसमा चरम विवाद, सानेपामा अनसन


काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम प्रधानमन्त्री शेर बहादुर देउवाको गृहजिल्ला डडेल्धुरा कांग्रेसका नेता तथा कार्यकर्ताले बुधबारदेखि काठमाडौं सानेपा स्थित पार्टी कार्यालयमा अनशन शुरु गरेका छन् ।

डडेलधुरा कांग्रेसका सभापति कणर्बहादुर मल्लसहितको टोली अवैध रुपमा वडा र पालिका अधिवेशन गरिएको र क्रियाशील सदस्यतामा मनोमानी गरिएको भन्दै बुधबारबाट कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अनसनमा बसेको हो।

उनीहरुले डडेल्धुराको वडा र पालिका तहका अधिवेशन निष्पक्ष रुपमा पुनः गर्नुपर्ने माग राखेका छन्। यो समूहले यसअघि डडेलधुरामा गरिएको अधिवेशन बहिष्कार गरेको थियो। उनीहरुले जिल्लाबाट सिफारिस गरि पठाइएका बाहेकका सदस्यता केन्द्रबाट थप गरी संख्या मनोमानी रुपमा बढाइएको भनेका छन्।

जिल्लाले पठाएका क्रियाशील सदस्यहरू ५८०४ मध्ये ४६० विना कारण हटाइएको र समायोजन भएका १०० सहित ४१२ एकपक्षीय रूपमा नयाँ थप गरिए पछि भाद्र २५ गते गरिएको एकलौटी वडा अधिवेशन प्रति असहमति राख्दै प्रक्रियाको प्रमाण सहित ९२ पानाको अवैधानिक अधिवेशन कागजातहरू जिल्ला कार्य समितिको बहुमत निणर्यबाट जिल्ला कार्य समितिले केन्द्रीय कार्य समितिलाई भाद्र ३१ नै बुझाएको थियो।

डडेलधुरा सभापति मल्लले ११ दिन जिल्ला पार्टी कार्यालयमा अनसन बस्दा पनि सुनुवाइ नभएकाले केन्द्रीय कार्यालयमा आएर धर्ना बसेको जानकारी दिए। अनसनमा जिल्ला उपसभापति करुणाकर भट्ट, नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष केशव सिंह, महाधिवेशन प्रतिनिधि हरि भट्टसहितका नेताहरु सहभागी छन्।