डा.शशांक र प्रकाशमानबीच घोचपेच - रुपान्तरण
 २०८१ बैशाख २२, शनिबार    

डा.शशांक र प्रकाशमानबीच घोचपेच


काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंहले आफ्नाबारे महामन्त्री डा.शशांक कोइरालाले गरेको टिप्पणी गलत भएको बताएका छन् ।

बुधबार सर्लाहीमा आयोजित एक कार्यक्रममा महामन्त्री कोइरालाले प्रकाशमान सिंहलाई काठमाडौं बाहिर कसैले नचिन्ने बताएका थिए ।जवाफमा सिंहले दुष्प्रचार गर्नेहरूले हद नाघेको भन्दै आफू ग्रास रुटबाट पार्टीमा काम गर्दै आएको बताए ।
बुधबार मोरङको विराटनगरमा गणेशमान सिंह स्मृति फाउण्डेसनले गरेको कार्यक्रममा नेता सिंहले पार्टीमा सभ्यताको बहस हुने गरे पनि आफूविरुद्ध कतिपय असभ्य भएर प्रस्तुत भएको आरोप लगाए ।

कांग्रेसको १२ औँ महाधिवेशनमा तत्कालीन सभापति सुशील कोइरालाले भन्दा धेरै मत ल्याएर महामन्त्री भएको उनले स्मरण गराए । कसैले चिन्दैन भन्नेले इतिहास हेर्न पनि उनले आग्रह गरे । नेता सिंहले आफू पार्टी उपसभापति महामन्त्री र उपप्रधानमन्त्री समेत भइसकेको भन्दै पार्टी र देश संकटमा पर्दा ज्यानको बाजी राखेर आन्दोलनमा होमिएको दाबी गरे ।

केही महिना अघिदेखि विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहबीच निरन्तर भेटवार्ता हुने गरेको थियो । भेटमा नेतात्रयबीच महाधिवेशनको रणनीति र सहमतिमा नेतृत्व चयन गर्ने विषमा छलफल हुँदै आएको थियो ।