कांग्रेस रुपान्तरण गर्न पौडेलको १० सूत्र - रुपान्तरण
 २०८१ बैशाख ११, मंगलबार    

कांग्रेस रुपान्तरण गर्न पौडेलको १० सूत्र


काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिदै गर्दा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसमा सुधार ल्याउन १० वटा सूत्र अघि सारेका छन् । पार्टी लोकतन्त्रमा चुनौती पैदा भएको भन्दै पौडेलले रूपान्तरणका लागि १० सूत्र अघि सारेका छन् ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले ‘कांग्रेसको अबको बाटो’ भन्दै १० सूत्र सार्वजनिक गरेका हुन् । पौडेलले आफूले लोकतन्त्र र समाजवादको पक्षमा जीवनभर वकालत गरेको, तर अहिले भने पार्टीभित्रै लोकतन्त्रमाथि चुनौती पैदा भएको उल्लेख गरेका छन् ।
पत्रकार सम्मेलनमा महामन्त्री डा। शशांक कोइराला नेताहरु रामशरण महत, कमला पन्त, अर्जुनरसिंह केसी, जीवन परियारलगायतको उपस्थिति रहेको थियो ।

महाधिवेशनमा नीति र कार्यक्रम बारे छलफल नहुने अवस्था आएकाले छलफलका लागि आफूले १० बुँदै प्रस्ताव अघि सारेको पौडेलको भनाई छ । कांग्रेसले महाधिवेशनबाट नेतृत्व मात्रै चयन गर्ने र पछि विधान महाधिवेशन गर्ने जनाएको छ । कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

१. वर्तमान संविधानलाई निष्ठापूर्वक कार्यान्वयनमा ल्याऔं। समावेशी नेपाल साकार पारौं ।

२. काँग्रेसजनले पार्टी विधानको मर्यादामा रहेर न्याय, निष्पक्षता र पारदर्शी मूल्यांनसहित आन्तरिक लोकतन्त्र र पार्टी एकता मजबुत पारौं ।

३. विकृति, विसंगति र भ्रष्टाचारलाई तह लगाउँदै देशमा समृद्धि र सुशासन कायम गरौं ।

४.राजनीतिलाई सम्मानित क्षेत्र बनाउन सिद्धान्त र विचारको बहसलाई अघि बढाउँ। राजनीतिमा निष्ठा र नैतिकता स्थापित गर्न संघर्ष गरौं ।

५. आर्थिक सामाजिक, साँस्कृतिक र राजनीतिक रुपले पछि पारिएका महिला, दलित, जनजाति र मधेसी तथा विपन्न जनता केन्द्रित नीति र कार्यक्रम अघि सार्दै कांग्रेसलाई ‘र्याडिकल सेन्टर’ बाटोमा हिँडाउने ।

६. निमुखालाई न्याय, विपन्नलाई आय हाम्रो मूल ध्येय हो। राज्यको सम्पति र स्रोतमाथि एउटै वर्ग र तप्काको मात्रै हालिमुहाली भएमा त्यो लोकतन्त्र हुन सक्दैन। स्रोत र अवसरको असमान वितरणले अन्ततः लोकतन्त्रलाई नै धरापमा पार्छ। मानिसलाई विशुद्ध मानिसको रुपमा हेर्ने सहानुभूतिशील दृष्टिकोण हाम्रो समाजवाद हो, स्वच्छन्दतावादी पुँजीवाद र एकमार्गी साम्यवाद दुवैबाट पृथक छ लोकतान्त्रिक समाजवाद। पहिले सबै बाँचौ अनि प्रतिस्पर्धा गरौं। राज्य जनताप्रतिको जिम्मेवारीबाट पन्छिन सक्दैन। तर, जतासुकै हस्तक्षेप पनि गर्दैन।

७.विधिको शासन, समयबद्ध कार्यसम्पादन, चिन्तन र कर्मको संयोजन कर्मशील काँग्रेसको नारा हो। सैद्धान्तिक स्पष्टता र उर्जाशील प्रस्तुति तन्नेरी काँग्रेसको निश्चल चरित्र हुनुपर्छ। कसैका एजेन्डा बोक्न पर्दैन, आफ्ना एजेन्डा छोड्न पर्दैन। सात सालदेखि समान्तविरोधी एजेन्डा बोकेको काँग्रेस जसले २०१५ सालमा दुईतिहाइ जनसमर्थन प्राप्त गयो, त्यही लोकतान्त्रिक समाजवादको सैद्धान्तिक आलोकमा काँग्रेसलाई उजिल्याउन अथक प्रयास गरौं ।

८.सबै जनतालाई खान लाउन पुग्ने कृषि क्रान्ति र पर्यटनको विस्तार गरौं। देशलाई समृद्ध पार्न उर्जा क्रान्ति र आफनै विशेषता र सम्भाव्यतासहितको औद्योगिक क्रान्ति गरौं ।

९. नेपाली विशेषता पहिचान गर्दै देशभक्तिको मर्म छुने, असंलग्नतामा आधारित हाम्रो राष्ट्रवादको विचारलाई अघि बढाऔं।

१०. कम्युनिष्टले छरेका भ्रम र झूटा आश्वासनबाट नेपाली जनतालाई मुक्त गर्दै नेपाली कांग्रेस विचार शून्य र दिशाहीन छैन भन्ने प्रमाणित गर्दै यसलाई नेपाली जनताको भरोसाको केन्द्र बनाऔं।