निधिको पहलमा डडेल्धुरा कांग्रेसको अनशन तोडियो - रुपान्तरण
 २०८० चैत्र १५, बिहीबार    

निधिको पहलमा डडेल्धुरा कांग्रेसको अनशन तोडियो


काठमाडौं । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा जारी डडेल्धुरा जिल्लाका नेता कार्यकर्ताले जारी राखेको अनसन कांग्रेस उपसभापति विमलेन्द्र निधिको आग्रहपछि तोडिएको छ । एकलौटी ढंगबाट क्रियाशील सदस्यता वितरण गरी गराइएको जिल्ला अधिवेशन बदरको माग गर्दै गराएको अनसनमा बसेका नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्ण मल्ल सहितका नेताहरुले अनसन स्थगित गरेका हुन् ।

डडेल्धुराको मागप्रति आफू सकारात्मक भएको भन्दै उपसभापति निधिले यस बिषयमा आफूले सभापति शेरबहादुर देउवासँग मौखिक र लिखित रुपमै पुनः वडा अधिवेशन गर्न आग्रह गरेको स्मरण गराए। यसबारे शुरुमा सभापति देउवा सकारात्मक भए पनि कार्यान्वयन नभएको उल्लेख गरे।

जिल्लाबाट सिफारिस भएर आएका क्रियाशील सदस्यको नाम काटेर केन्द्रबाट सिधैं नाम थपेपछि विवाद उत्पन्न भएको हो। नेता निधिले सदस्यता छानवीन नगरी निर्वाचन प्रकृया अघि बढाउनु बिडम्बनापूर्ण भएको बताए।

निर्वाचन समितिका सदस्यहरुबीच सहमतिका आधारमा निर्णय गर्नुपर्नेमा अल्पमत र बहुमतका आधारमा निर्णय हुनु दुःखद भएको निधिको भनाई थियो। आफ्ना मुद्धाहरुलाई पार्टीका बिभिन्न फोरममा राख्दै १४ औं महाधिवेशन सफलतापूर्बक सम्पन्न गराउनका लागि अनशन स्थगित गर्न निधिले आग्रह गरेका थिए। उनले डडेल्धुरा कांग्रेसको मागप्रति ऐक्यवद्धता जनाए। क्रियाशील सदस्यता विवादपछि डडेल्धुरामा जारी ११ दिनको अनशनपछि सभापति मल्लसहितका नेताहरु काठमाडौं आएर अनशन बसेका हुन्।