भद्रगोल कांग्रेस महाधिवेशन - रुपान्तरण
 २०८१ जेठ ५, शनिबार    

भद्रगोल कांग्रेस महाधिवेशन


काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन त्यति व्यवस्थित नभएको गुनासो आएको छ । मतदान प्रक्रिया र संचारकर्मीमाथिको दुव्र्यवहारले महाधिवेशन व्यवस्थित नभएको बुझिएको छ । सोमबार विहान ८ बजे मतदान सुरु हुने समय निर्धारण गरिएको मतदान तीन घन्टापछि मात्र शुरु भयो ।

निर्धारित समयभन्दा मतदान झण्डै तीन घण्टा ढिलो हुँदा ७ बजेदेखि लामवद्ध मतदाता घण्टौ लाइनमा बस्न बाध्य भए । मतदान सुरु भएपछि पनि मत दिन थप तीन घण्टा लाइनमा गुजार्नुपर्‍यो।

निर्वाचन समितिले एकजना मतदातालाई मतदान गर्न झण्डै आधा घण्टा समय लाग्ने जनाएको थियो । तर, मतदाताहरूले मतदान गर्न कम्तिमा ४५ मिनेटदेखि ७५ मिनेटसम्म समय लागेको जानकारी दिए ।

एक मतदाताले २९ मतपत्रमा मतदान गर्नुपर्छ । मतपत्र मध्ये खुल्ला केन्द्रीय सदस्यको मतपत्रमा मत दिन झन्झट भएको मतदाता बताउँछन् । झन्झटिलो मतदान प्रक्रियाका कारण बदर मतको संख्या उल्लेख्य हुनसक्ने आशंका गरिएको छ ।

मतदान गर्ने गोप्य स्थान व्यवस्थित भए पनि मतपत्र लिनुअघिसम्मको प्रक्रिया अव्यवस्थित रहेको मतदाताको गुनासो छ । मतदाताहरू कांग्रेसले विद्युतीय मतदानको प्रयोग गनुपर्नेमा जोड दिइरहेका छन् । आफूहरूबाट भइरहेको व्यस्थापनबाट स्वयं केन्द्रीय निर्वाचन समितिसमेत सन्तुष्ट छैनन् ।

मतदानका लागि भृकुटीमण्डपमा दुई र राष्ट्रिय सभागृहमा एक गरी तीन मतदान केन्द्रको व्यवस्था गरिएको छ । कांग्रेसको पाँच वर्षको लागि नयाँ नेतृत्व चयनका लागि ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि मतदानमा सहभागी छन् । उनीहरुले सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्य चयन गर्दैछन् ।

सभापतिका कुनैपनि उम्मेद्वारले ५० प्रतिशत मत कटाउन नसके शीर्ष दुई उम्मेद्वारबीच फेरि प्रतिष्पर्धा हुनेछ । मतदाताले सभापति चयन गर्न पुनः मतदान गर्नुपर्नेछ । कांग्रेसको विधान अनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १ सय ३४ पदमा निर्वाचनबाट र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिले मनोनित गर्ने व्यवस्था छ । केन्द्रीय समितिका पदाधिकारी र सदस्य गरी १ सय ३४ पदका लागि ४ सय ८० जना बढी उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यतिमात्र होइन उम्मेदवारहरुको तडकभडकले कांग्रेसप्रति प्रश्न उठेको छ । करौडौ खर्च गरेर जुटाइएका प्रचार–प्रसारका यी सामग्रीले भृकुटी मण्डप परिसर कुरुप बनेको छ ।