देउवासँग ‘पदको लेनदेन’बारे प्रकाशमानको प्रष्टीकरण - रुपान्तरण
 २०८१ जेठ ५, शनिबार    

देउवासँग ‘पदको लेनदेन’बारे प्रकाशमानको प्रष्टीकरण


काठमाडौं । पदको लेनदेन गरी कांग्रेस सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गरेको भन्ने समाचारप्रति नेता प्रकाशमान सिंहले खण्डन गरेका छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सोमबार भएको मतदानबाट ५० प्रतिशत मत कसैले पनि नकटाए पछि दोस्रो चरणको निर्वाचनमा देउवालाई निशर्त सघाएको सिंहको भनाइ छ ।

दोस्रो चरणको मतदानमा देउवाविरुद्ध मोर्चाबन्दी गर्ने कांग्रेसमा नयाँ नेतृत्व स्थापित गर्ने प्रतिबद्धता जनाएका सिंह र विमलेन्द्र निधी एकाएक देउवाको पक्षमा उभिएपछि उनीहरुको चर्को आलोचना भएको थियो ।

सिंहलाई तत्कालै उपप्रधानमन्त्री वा आगामी दिनमा प्रधानमन्त्री बनाउने र सुजाता कोइरालालाई विधान संशोधन गरेर महिला उपसभापतिको व्यवस्था गर्ने र सो पदमा कोइरालालाई स्थापित गर्ने देउवासँग सहमति भएको भनी आएका समाचारहरुप्रति सिंहले असहमति प्रकट गरेका हुन् ।
उनले मंगलबार साँझ एक सूचना जारी गर्दै आफूले निःशर्त समर्थन गरेको प्रस्टीकरण दिएका हुन्। ‘नेपाली कांग्रेसको केन्द्रीय सभापति पदको दोस्रो चरणको निर्वाचनमा मैले श्री शेरबहादुर देउवालाई निःशर्त समर्थन गरेको हुँ। निश्चित कुनै पद लिने भन्ने सम्झौता भएको भन्ने ढंगले केही अनलाइनमा आएका भ्रमपूर्ण समाचारहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले लेखेका छन्।

‘प्रथम चरणको निर्वाचनमा सबैले भन्दा बढि मत प्राप्त गर्नुभएको तथा आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हुँदा मैले मेरो स्ट्रेट फरवार्ड स्वभाव अनुरुप उहाँलाई समर्थन गरेको हुँ । कुनै अन्य खाले अनर्गल भ्रममा नपर्न म सबै आदरणीय पत्रकार मित्रहरू र समस्त नेपाली दिदीबहिनी दाजुभाइलाई अपील गर्दछु’ सिंहले लेखेका छन् ।

कांग्रेस निर्वाचनको पहिलो चरणबाट बाहिरिएका सिंह, निधी र कल्याण गुरुङले देउवालाई समर्थन जनाइसकेका छन् । पहिलो चरणमा पहिलो र दोस्रो स्थान ओगटेका देउवा र डा शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भइरहेको छ।