गगन र विश्वप्रकाश कांग्रेस महामन्त्रीमा विजयी, डा.मिनेन्द्रको ‘बोल्ड’निर्णय - रुपान्तरण
 २०८१ जेठ ५, शनिबार    

गगन र विश्वप्रकाश कांग्रेस महामन्त्रीमा विजयी, डा.मिनेन्द्रको ‘बोल्ड’निर्णय


काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी भएका छन् । विहीबार सम्पन्न मत गणनाले थापा र शर्मालाई महामन्त्रीमा निर्वाचित गरेको हो ।

थापाले लोकप्रिय मत ३०२३ ल्याएर विजयी भए भने शर्माले १९८४मत पाएर विजयी भएका हुन । थापा डा.शेखर कोइरालाको समूहबाट उम्मेदवार बनेका हुन भने शर्मा प्रकाशमान सिंहको समूहबाट उम्मेदवार बनेका थिए ।

यसैगरी सभापति शेरबहादुर देउवाको पक्षबाट उम्मेदवार बनेका डा. प्रकाशशरण महतले १५५० मत प्राप्त गरे भने प्रदीप पौडेलले १४०९ मत ल्याएर चौथो बनेका छन् । कोइराला पक्षबाटै उम्मेदवारी दिएका डा.मीनेन्द्र रिजालले ८०९ मत र विमलेन्द्र निधि समूहबाट उम्मेदवार बनेका राजाराम कार्कीले १०७ मत ल्याए ।

सभापति र उपसभापतिको भने मतगणना भइसकेको छ । सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् । गत सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो । कांग्रेसमा यसपटक सभापतिसहित १३४ पदमा निर्वाचन भएको हो ।

कांग्रेस विधानमा महाधिवेशनबाट २ जना महामन्त्री निर्वाचित हुने प्रावधान छ । सभापति उपसभापति र महामन्त्रीको नतिजा आएसँगै अब सहमहामन्त्री र केन्द्रीय सदस्यहरुको मतगणन हुनेछ । मतगणना ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा भइरहेको हो । सभापतिको मतगणना भने राष्ट्रिय सभागृहमा भएको थियो ।

यता सरकारमा रक्षामन्त्री समेत रहेका डा.मिनेन्द्र रिजाल महामन्त्रीमा पराजित भएपछि मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘म केही दिनपछि मेरो राजनीतिक यात्राबारे निर्णय लिनेछु । सक्रिय राजनीतिमा रहन पनि सक्छु, नरहन पनि सक्छु ।’

उनले प्रधानमन्त्री कार्यालय सिंहदरवार पुगेर बिहीबार अपराह्नप्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाइसकेका छन् । कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री पदमा हारेपछि उनले नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् ।