कांग्रेस पदाधिकारीमा देउवा पक्षको बहुमत - रुपान्तरण
 २०८१ जेठ ५, शनिबार    

कांग्रेस पदाधिकारीमा देउवा पक्षको बहुमत


काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पदाधिकारीको मतगणना सकिएको छ । जसमा संस्थापन पक्षले बढी सिट जितेको छ । उपसभापतिमा देउवाबाट पूर्णबहादुर खड्का र डा.शेखर कोइराला पक्षका धनराज गुरुङ आएका छन् । त्यस्तै महामन्त्रीमा डा.कोइराला पक्षका गगनकुमार थापा र प्रकाशमान सिंह पक्षका विश्वप्रकाश शर्मा विजयी भए ।

सहमहामन्त्री पदमा भने देउवा पक्षले वर्चश्व कायम गरेको छ । विभिन्न क्लस्टरबाट आठ जना सहमहामन्त्री बनेका छन् । जसमा देउवा पक्षका ६ जना विजयी भएका छन् । डा.शेखर कोइराला पक्षबाट दुई जनामात्र निर्वाचित भएका छन् ।

महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’, आदिवासी जनजातिबाट भीष्मराज आङदेम्बे, मधेसीबाट महेन्द्र यादव, मुश्लिमबाट फरमुल्ला मन्सुर, खस–आर्यबाट किशोर राठौर, थारुबाट उमाकान्त चौधरी, दलितबाट जीवन परियार र पिछडिएकोबाट बद्री पाण्डे निर्वाचित भए ।

परियार र पाण्डे संस्थापन इतरका हुन् भने बाँकी सबै संस्थापन पक्षबाट लडेका थिए । चौधरी कृष्णप्रसाद सिटौला पक्षका भए पनि सिटौला र देउवाबीच चुनावी तालमेल भएको थियो । महामन्त्रीमा सिटौला पक्षबाट संस्थापनको उम्मेदवार बनेका प्रदीप पौडेल भने पराजित भए ।

पदाधिकारीमा विजयीको अवस्था हेर्दा केन्द्रीय समितिमा देउवा पक्षक हाबी हुने रुझान देखिएको छ । १ सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री निर्वाचित हुने कांग्रेसको विधान रहेको छ । १३ जना पदाधिकारी मध्ये ८ जना देउवा प्यानलबाट विजयी भएका छन् । जसमध्ये १ सभापति, १ उपसभापति र ६ महामन्त्रीमा देउवापक्षले जितेको छ ।

एक उपसभापति र एक महामन्त्रीका साथ २ सहमहामन्त्री सभापतिमा पराजित शेखर कोइराला पक्षले जितेको छ । अर्का पराजित सभापतिका उम्मेदवार प्रकाशमान सिंह पक्षले एक महामन्त्री जितेको हो ।