लिङ्देनको उदघोष: राप्रपा पहिलो शक्तिका रुपमा उदाउँछ - रुपान्तरण
 २०८१ जेठ ५, शनिबार    

लिङ्देनको उदघोष: राप्रपा पहिलो शक्तिका रुपमा उदाउँछ


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको परिर्वतन र विकासका लागि राप्रपा पहिलो शक्तिका रुपमा उदय हुने दावी गरेका छन् ।

लिङ्देनले राजसंस्था र हिन्दूराज्य चाहिन्छ भन्ने समुदायलाई समेटेर आगामी छ महिनाभित्र पार्टीलाई शक्तिशाली बनाउने दाबी गरेका हुन् । झापाको विर्तामोडमा पार्टीको जिल्ला कार्य समितिले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष लिङ्देनले परिवर्तन र विकास चाहने ठूलो पङ्क्तिको अपेक्षा राप्रपासँग भएको बताउँदै पार्टीलाई आगामी आमनिर्वाचनबाट मुलुककै अग्रणी शक्तिको रुपमा स्थापित गरेर देखाउने दाबी गरे।

देशको परिर्वतन र विकासका लागि कसैले न कसैले आट गर्नु पर्छ भन्ने लागेर नै गरिएको आँटका कारण आफू अध्यक्षमा निर्वाचित भएको अध्यक्ष लिङ्देनले बताए । आफू कांग्रेस र कम्युनिष्टलाई मिलाएर हिड्न सक्ने मान्छे भएका कारण राप्रपाका कार्यकर्ताले चिन्तै लिनु नपर्ने बताउँदै राप्रपालाई एक ढिक्का बनाएर लाने समेत उनको भनाई छ ।

आफू सानो चित्त र फिस्टे छाती लिएर राजनीतिमा नआएको बताउँदै अध्यक्ष लिङ्देनले भने,पार्टीको आन्तरिक चुनावमा मलाई कस्ले मत दियो दिएन त्यो कहाँ हेरेर बस्छु म ? त्यसकारण कसैले चिन्ता लिनु पर्दैन पार्टीलाई एक ढिक्का र बलियो बनाएर लान्छु ।’

लिङ्देन राप्रपाको अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक झापा आएका कारण कार्यक्रममा हजारौं पार्टीका कार्यकर्ताहरु सहभागी बनेका थिए । सोही समारोहमा विभिन्न पार्टी परित्याग गरी राप्रपामा सयौंको संख्यामा प्रवेश गरेका थिए । कार्यक्रममा प्रदेश १ का अध्यक्ष राम थापा सहित केन्द्रीय सदस्यहरुले समेत शुभकामना मन्तव्य राखेका थिए ।