एमसीसी राष्ट्रघाती हुँदै होइन, पास हुन्छ - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

एमसीसी राष्ट्रघाती हुँदै होइन, पास हुन्छ


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) राष्ट्रघाती नभएकाले पास गर्ने बताएका छन् ।प्रधानमन्त्री देउवाले आइतबार नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन कार्यक्रमा सम्बोधन गर्दै एमसीसी राष्ट्रघाती नभएको बताएका हुन् ।

उनले एमसीसीका बारेमा विरोध गर्नुभन्दा पहिले राम्रोसँग अध्ययन गर्ने बताए । प्रधानमन्त्री देउवाले आफुले एमसीसीको बारेमा अध्ययन गर्दा कतै राष्ट्रघात सम्बन्धी विषय नभेटेको बरु नेपालको हितका बारेमा रहेको बताए ।

प्रधानमन्त्री देउवाले ‘म पनि राष्ट्रका लागि लडेको मान्छे प्रधानमन्त्री हुँ । म राष्ट्रघातको पक्षमा जान्छु होला,’ भने । ‘म अरू कुरा गर्न आको थिएँ, यहाँ एमसीसी राष्ट्रघाती छ भन्दियो, राष्ट्रघाती भनेर पढ्या छ कि छैन, त्यो पनि थाहा छैन मलाई त, पहिले पढ्नुपर्यो एमसीसी काँ छ राष्ट्रघाती, मैले हेरे काहीँ राष्ट्रघाती देख्या छैन’, उनले भने ।

आफू देशको प्रधानमन्त्री रहेको भन्दै उनले किन राष्ट्रघाती काम गरौँला भनेर प्रश्नसमेत गरे । देउवाले सबै नेताहरूसँग छलफल र सहमतिपछि एमसीसी पास हुने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले गठबन्धनको सरकार पूरा समयसम्म चल्ने दाबी गरे । उनले गठबन्धन कसैको बिरुद्धमा नबनाइएको भन्दै संसद र संविधान बचाउने भनेकै गठबन्धन भएको बताए । प्रधानमन्त्री देउवाले आफूले निर्वाचन भन्दा अघिसम्म पनि गठबन्धन जानुपर्नेमा जोड दिए ।