नेपालमा ओमिक्रोन भेरियन्टको त्रास - रुपान्तरण
 २०८० चैत्र १५, बिहीबार    

नेपालमा ओमिक्रोन भेरियन्टको त्रास


काठमाडौं । स्वास्थ्य सेवा विभागले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीव्र फैलिन सक्ने भन्दै सचेत हुन आग्रह गरेको छ । विभाग अन्तर्गतको इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्थानीय र प्रदेश सरकारलाई सात बुँदे निर्देशन नै दिएको छ ।

महाशाखाले आइतबार पत्र लेख्दै सबै स्थानीय तह, जिल्ला स्वास्थ्य कार्यालय र सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई सतर्कता अपनाउन निर्देशन दिएको हो ।

कोभिड महामारीको जोखिम नयाँ भेरियन्टका कारण उत्तिकै रहेकाले थप सतर्कता अपनाउन र आवश्यक पूर्व तयारी गर्न महाशाखाले भनेको छ । पछिल्लो समय ओमीक्रोन भेरियन्ट फैलिन थालेपछि महाशाखाले थप सतर्कता अपनाउन निर्देशन दिएको हो ।

केही दिनअघि मात्र ओमिक्रोन र डेल्टा भेरियन्टका कारण संक्रमितको सुनामी ल्याउने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिइसकेको छ । युरोप र अमेरिकामा कोभिड संक्रमितहरुको संख्या आश्चर्यजनक ढंगले बढिरहेका बेला डब्लूएचओका प्रमुख डा टेड्रोस एड्हानोम गेहब्रेयससले सो चेतावनी दिएका हुन् ।

‘स्वास्थ्य प्रणालीहरू काम गर्न नसक्ने अवस्था पुगेका छन् भने स्वास्थ्यकर्मीमा चाप थपेको छ । कोभिडका नयाँ संक्रमणल संक्रमितको सुनामी ल्याउनेछ,’ डा.गेहब्रेयससले भने । डब्लूएचओका अनुसार विश्वभर दैनिक नौ लाखभन्दा बढी संक्रमित थपिएका छन् । संक्रमण फैलिएपछि विभिन्न देशहरुले बुस्टर डोज दिन शुरु गरेका छन् । युरोपका विभिन्न देशहरुमा भने लकडाउन र नयाँ प्रतिबन्धहरु घोषणा गरिएका छन् ।