फेरि बर्षा र हिमपातको सम्भावना - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

फेरि बर्षा र हिमपातको सम्भावना


काठमाडौं । नेपालमा मंगलबारदेखि फेरि नयाँ मौसमी प्रणाली भित्रिएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव शनिबारसम्मै रहने र बर्षा तथा हिमपात हुने मौसमविदको अनुमान छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै यो प्रणालीका कारण चिसो बढ्ने र हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर गर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

सुदूरपश्चिम क्षेत्रमा अहिले यसको सामान्य प्रभाव देखिइसकेको छ । अहिले सो क्षेत्रमा बादल लागेको छ । सुदूरपश्चिममा बुधबारदेखि पानी पर्न सुरु गर्ने छ । आइतबारदेखि भने यो प्रणाली कमजोर हुने र मौसममा क्रमिक सुधार हुने महाशाखाले जनाएको छ ।

यो प्रणालीको प्रभाव देशभर पर्ने छ । विशेष गरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा बढी प्रभाव देखिने छ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

साथै बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरूमा पनि हल्का हिमपातको सम्भावना छ । काठमाडौं उपत्यकामा मंगलबार र बुधबार कम तथा बिहीबार, शुक्रबार र शनिबार बढी प्रभाव पर्ने मौसमविद्ले जनाएका छन् । अन्य प्रदेशहरुको तुलनामा यसको प्रभाव प्रदेश १ र २ मा कम पर्ने अनुमान छ ।