समय नै सबैभन्दा ठूलो पुँजीः अर्थमन्त्री - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

समय नै सबैभन्दा ठूलो पुँजीः अर्थमन्त्री


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लगानीकर्तालाई समयमै समस्याको जानकारी गराउन आग्रह गरेका छन् । लगानी बोर्डको कार्यालयमा भएको लगानीकर्ताहरूसँगको कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो आग्रह गरेका हुन् ।

उनले आयोजनाको निर्माण अवधि लम्बिनु भनेको लगानी बढ्ने र घाटा हुने भन्दै आयोजनामा भएका समस्या समयमै जानकारी गराउन आग्रह गरे । एउटा आयोजनाको फाइल डेढ महिनादेखि रोकिएको भनेर भर्खर जानकारी गराएको बताउँदै मन्त्री शर्माले भने, ‘यस्तो जानकारी समयमै हामीलाई गराउनुहोला । यसले सरकारलाई सहजीकरण गर्न र समस्याको समाधान गर्न छिटो र सहज हुन्छ ।’

यसैगरी, उनले फाइल नै अड्किँदा आयोजनाको समयावधि लम्बिने र घाटा हुने भन्दै समय नै सबैभन्दा ठूलो पुँजी भएको बताए । ‘प्रोजेक्टको समय बित्ने भनेको हाम्रो लगानी बढ्ने हो । अर्को ढंगले भन्ने हो भने हामीलाई घाटा हुने हो । व्यावसायिक रूपले हेर्ने हो भने पनि समय बिलकुलै लम्ब्याउनुहुँदैन,’ उनले भने, ‘मुख्य पुँजी भनेकै समय हो ।’

नेपाललाई वैदेशिक लगानी आवश्यक रहेको बताउँदै मन्त्री शर्माले त्यसका लागि सरकारले पुराना लगानीकर्तालाई थप लगानी गर्न उत्प्ररेणा जगाउने तथा नयाँ लगानीकर्तालाई समेत लगानीका लागि वातावरण तयार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको र त्यस्ता लगानीले मुलुकको विकासमा महत्वपूर्ण योगदान हुने भन्दै उनले सरकारले उचित सेवा सुविधाको व्यवस्था गर्ने आश्वासनसमेत दिए ।

लगानी बोर्डको उपाध्यक्षसमेत रहेका मन्त्री शर्माले लगानी र आयोजनामा रहेका समस्या, अहिलेको अवस्था र समाधानका उपायसहितको टिपोट बनाएर दिन बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई निर्देशन दिए ।