लकडाउन नगर्ने पक्षमा सरकार - रुपान्तरण
 २०७८ माघ १४, शुक्रबार    

लकडाउन नगर्ने पक्षमा सरकार


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् । कीर्तिपुर अस्पतालमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री खतिवडाले आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताएका हुन् ।

उनले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने बताए । मन्त्री खतिवडाले सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकोले लकडाउन हुन्छ भनेर आत्तिनु नपर्ने बताए ।

मन्त्री खतिवडाले कोरोनाको तेस्रो भेरियन्टबाट बच्न होशियार रहनुपर्ने भन्दै मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गरे । उनले कोरोनाको पहिलो र दोस्रो डोज लगाएर सुरक्षित बस्न पनि आग्रह गरे ।

मन्त्री खतिवडाले विज्ञहरुले बुस्टर डोज लगाएपछि तेस्रो भेरियन्टबाट बच्न सहज हुने बताएकाले आउँदो माघ पहिलो हप्ताबाट अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई बुस्टर डोजको व्यवस्था गरिएको जानकारी दिए । उनले माघको दोस्रो हप्तामा ६० वर्ष माथिको उमेरसमूहका नागरिक र तेस्रो वा चौथो हप्ताबाट आम नागरिकहरुलाई कोरोना बिरुद्धको बुस्टर डोज उपलब्ध गराउने बताए ।