एनआरएनएका उम्मेदवारले डेलिगेट्स छनौट गर्न पाउँदैनन् - रुपान्तरण
 २०८१ बैशाख १५, शनिबार    

एनआरएनएका उम्मेदवारले डेलिगेट्स छनौट गर्न पाउँदैनन्


काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन)को आगामी चुनावमा अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले उम्मेदवार उठेका व्यक्तिले भोटर छान्न नमिल्ने बताएका छन् । सहमति भयो भनेर झुठा प्रचार भैरहेको भन्दै उनले नव निर्वाचित राष्ट्रिय समन्वय परिषद (एनसीसी)ले चयन गरेर पठाउने डेलिगेट्सलाई मानेर महाधिवेशन एवं चुनाव गर्नुपर्ने बताए ।

हालै ‘फ्रन्ट लाइन शो’ मा कुराकानी गर्दै संघका केन्द्रीय सल्लाहकार समेत रहेका आचार्यले भने, ‘जो उम्मेदवार चुनाव लड्छु भन्छ उसैले भोटर चयन गर्ने हो र ? यस्ता बेतुकको काम नगर्नुस्’ उनले भने । संस्थालाई बलियो बनाएर लैजान सके जुनसुकै पार्टी वा सरकारले पनि सघाउने र कुनै पनि पार्टीलाई दोष लगाउन नहुने उनले बताए । नेतृत्वको कमजोरीका कारण समयमा एनआरएनको महाधिवेशन हुन नसकेको उनले खुलासा गरे। ।

एनआरएनका ६५ देशमा रहेका एनसीसीहरुले प्रतिनिधि छानेर केन्द्रमा पठाउने बताए । त्यसकै आधारमा महाधिवेशन, चुनाव गरेर केन्द्रमा नेतृत्व छान्ने व्यवस्था रहेको स्मरण गराए । ‘माथि आएर हामीले डेलिगेट्स छानौं । हामी सहमति गरौं भन्ने कुरा कस्तो हो ? हामी मिलौं भन्ने कस्तो कुरा हो ? हामीले डेलिगेट्स छानौं भन्ने कुरा कति व्यवहारिक हो ?’ अध्यक्षका प्रत्यासी आचार्यले भने, ‘समस्याको समाधान खोज्नुपर्छ । हामी प्रयास गरिरहेका छौं । कहाँ समस्या छ ? त्यस विषयमा हामी लागि परेका छौं ।’

अहिले चुनावबाट जितेको नयाँ कार्यसमितिले प्रतिनिधि छनौट गर्ने भन्दा विधान तोडमोड गरेर पुरानै कार्यसमितिले प्रतिनिधि छान्ने प्रयत्न गरिएकोप्रति आचार्यले दुःख व्यक्त गरे । कुनै पूरानो कार्यसमितिले भोटर लिस्ट तयार गर्ने ? उनले प्रश्न गरे ।

‘एनआरएनमा नेतृत्व हत्याउन पुरानै कार्यसमितिले नै भोटर छनौट गर्ने बेइमानी गर्नुभयो । अहिलेका कार्यसमितिलाई अन्याय भयो,’ आचार्यले भने, ‘पुरानाले होइन, अधिवेशनबाट आएका नयाँ समितिले डेलिगेट्स छान्ने हो । परराष्ट्र मन्त्रालयले पनि यही भनेको हो । तर, कार्यान्वयन हुन सकेको छैन ।’

उनले नेपाल सरकारले गैर आवासीय नेपालीका धेरै कुरा सम्बोधन गरिरहेको बताए । कुनै जायज कुरा लिएर जाँदा जुनसुकै पार्टीको सरकारले पनि सहयोग गरेको उनले सुनाए । भर्खरै सरकारले गरेको निर्णय एन आर एन हरुका लागि डलरमा खाता खोल्न सहजीकरण गर्ने विषयमा पनि अर्थमन्त्री, गर्भनर, अर्थ सचिव सहित हालै बृहत कार्यक्रम गरिएको उनले बताए । आचार्यले आफू एनआरएन युकेको अध्यक्ष हुँदादेखि नै यस विषयमा लविङ गरिरहेको जानकारी गराए । नेपालमै डलरमा खाता खोल्दा विदेशमा कमाएको पूँजी चलायमान हुने बताए । पहिले सीमित रुपमा राख्न पाउने व्यवस्था थियो । तर, अहिले सजिलोसँग डलर खाता खोलेर नेपालमा रकम राखेर आफूलाई चाहिएको बेला लैजान पाउनेगरी व्यवस्था भएको उनले बताए ।

‘भोलिका भावी सन्ततिलाई नेपालसँग जोड्ने एउटा माध्यम यो डलर अकाउन्ट खोल्न मिल्ने अवसर हो’ उनले भने, ‘नेपालीहरुको पूँजी पलायन भै रहेको छ । अब बाहिर बस्ने नेपालीको सम्पत्ति सुरक्षा छ भनेर सरकारले ग्यारेन्टी गर्नुपर्ने अवस्था छ।’ गैर आवासीय नेपाली नागरिकताको छिटोभन्दा छिटो कानुनमा व्यवस्था गर्न सके पूँजी पलायन हुनबाट जोगिने आचार्यको सुझाव छ । संविधानमा भएको सामाजिक, साँस्कृतिक, आर्थिक अधिकारसहितको गैर आवासीय नेपाली नागरिकतालाई सुनिश्चित गर्नुपर्ने पनि उनले बताए ।

सकेसम्म नेपालमै रोजगारी दिनुपर्ने नसके विभिन्न देशमा काम गर्न जाने श्रमिकका लागि दोहोरो स्वीकृति, तालिम प्राप्त, दक्ष जनशक्ति पठाउन सकेमा सहज हुने आचार्यको भनाई छ । कतिपय देशबाट फर्केर नेपालमै राम्रो काम गरिरहेकाले पनि बाहिर सिकेको सिपलाई नेपालमा प्रयोग गर्ने बाटोमा गैरहेको उनले बताए । कुनै पनि दक्ष व्यक्ति नेपाल आएर काम गर्न चाहेमा दिनुपर्ने बताए ।

आफूले संसारभरका नेपालीका समस्यामा समाधानमा लागि परेको र लागि रहने उनले बताए । ‘अझै नेपालीले सिकेका ज्ञान, सिपलाई नेपालसँग जोड्नुछ । संसारभरका नेपालीले मलाई सहयोग गर्नुहुन्छ भन्ने मलाई विश्वास छ,’ उनले भने ।